BIZMANDU
www.bizmandu.com

विमानस्थलमा पाइलैपिच्छे सुरक्षा जाँच, तर शरीरमा लुकाएको सुन कर्मचारीले किन देख्दैनन्?

२०८१ फागुन २१

विमानस्थलमा पाइलैपिच्छे सुरक्षा जाँच, तर शरीरमा लुकाएको सुन कर्मचारीले किन देख्दैनन्?
विमानस्थलमा पाइलैपिच्छे सुरक्षा जाँच, तर शरीरमा लुकाएको सुन कर्मचारीले किन देख्दैनन्?


काठमाडौं। गत पुस १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४३६ ग्राम सुन भन्सार प्रशासन र सुरक्षा संयन्त्रको जाँच छलेर नाटकीय तवरले बाहिरियो। ल्याउनेले चुपचाप आफ्नो गन्तव्यमा पुर्‍याएको भए घटना चर्चामा आउने थिएन।

Tata
GBIME
NLIC

तर, सुन बाटोमै लुटियो। लुटको घटना बाहिर आएपछि भन्सार कर्मचारी र ड्युटीमा खटिएका सुरक्षाकर्मी अनुसन्धानको घेरामा परेका छन्।

विदेशबाट आएका यात्रुको सामानदेखि शरीरमा ल्याएका सामानको चेकजाँच भन्सारका कर्मचारी र सशस्त्र प्रहरीले गर्छन्। त्यसदिन मध्यान्हदेखि साँझ ६ बजेसम्म त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा अधिकृतको ड्युटीमा रमेश कुँवर खटिएका थिए।

यस्तै, अन्तर्राष्ट्रिय आगमन कक्षको भन्सार जाँचपास शाखाको रेड च्यानल क्षेत्र र अध्यागमन प्रक्रिया पूरा गरिसकेपछि वाकथ्रु क्षेत्रमा ड्युटी कमान्डरका रूपमा सशस्त्र प्रहरीका रञ्जितकुमार यादव थिए।

अन्तर्राष्ट्रिय विमानमार्फत आएका यात्रु अध्यागमन प्रक्रिया पूरा गरी सकेपछि भन्सार क्षेत्रमा आउँछन्। उनीहरुको साथमा रहेका सामान स्क्यानर मेसिनबाट भन्सार कर्मचारीले जाँच गर्छन्। यात्रुहरूको शरीर वाकथ्रु मेसिन तथा मेटल डिटेक्टरबाट सशस्त्र प्रहरीले चेक गर्छ।

विमानस्थलको भन्सार जाँच क्षेत्र

कुनै कैफियत नदेखिए मात्र यात्रुलाई त्यहाँबाट अगाडि जान दिइन्छ। यात्रुको शरीरमा त्यस्ता सामान भेटिए भन्सार तिराउने र कानुनी कारबाही गर्नुपर्ने सामान भएमा भन्सार कर्मचारीलाई बुझाउने काम हुन्छ।

पुस १४ गते करिब २ बजेतिर फ्लाई दुबईको जहाज विमानस्थलमा अवतरण भयो। सबै प्रक्रिया पूरा गरेर करिब साढे २ बजेतिर काभ्रे घर भएकी सविना स्याङ्तान भन्सार क्षेत्रमा आइपुगिन्। उनले ल्याएको सामान त्यसरी नै जाँच भयो। उनको जाँचमा प्रहरीले प्रविधि प्रयोग गर्यो। कैफियत नदेखिएपछि उनी बाहिइरिन्।

+++

दुबईबाट आएकी सविना विमानस्थलबाट बा २ ज ११५५ नम्बरको ट्याक्सी चढेर भक्तपुरतिर लागिन्। यतिसम्म सबै सामान्य नै थियो। तर ठिमी नगरपालिका-३ मा पर्ने भित्री बाटोमा पुगेपछि मोटरसाइकलमा आएका युवकले ट्याक्सी रोके।

उनीहरूले सविनालाई आफूहरू प्रहरीको मान्छे भन्दै कार्ड समेत देखाए। उनीसँग अवैधरूपमा ल्याएको सुन भएको भन्दै नियन्त्रणमा लिएर साथमा भएको ४३६ ग्राम समेत सुन लगे। पछि रहस्य खुल्यो- सुन लग्ने प्रहरी थिएनन्। प्रहरीको भेषमा लुटेरा थिए।

काठमाडौं उपत्यका प्रहरी कार्यालयको टोलीले फागुन १९ गते त्यो लुटमा संलग्नमध्येका तीन जनालाई पक्राउ गर्‍यो। त्यससँग अर्को प्रश्न उठ्यो। विमानस्थलका कर्मचारी र मेसिनले सविनाले विदेशबाट ल्याएको सुन किन देखेनन्?

यो घटना नौलो भने होइन। अवैधरुपमा ल्याइएको सुन विमानस्थलको भन्सारबाट पटकपटक बाहिरिएको छ, त्यो पनि ६१ किलोसम्म। नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले एकाध घटनामा मात्र सुन बरामद् गर्दै आएका छन्। भन्सार र सुरक्षा संयन्त्रले सुन लुटिएपछि तथा तस्कर समूहको झगडा बाहिरिएपछि मात्र सूचना पाउँछ।

सविनाको हकमा पनि सुन लुटिएको समाचार आएपछि मात्र कर्मचारीले भन्सारबाट सुन बाहिरिएको पत्ता पाए। ‘गोप्य अंगमा लगाएको वस्त्रभित्र सुन लुकाइछिपाइ ल्याएको जानकारी अनलाइनहरूमा समाचार आएपछि मात्र थाहा पाएको हो। उनको साथमा सुन रहेको भनी चेकजाँच गर्ने बेला थाहा पाएको थिइन। सशस्त्र प्रहरी बलका तर्फबाट ड्युटीमा रहेका कर्मचारीले पनि कुनै जानकारी गराएनन्,’ भन्सार अधिकृत कुँवरले भने।

सविनाले भित्री वस्त्रमा सुनलाई तरल बनाएर ल्याएकी थिइन्। सुनलाई झोल बनाएर ल्याएको कारण मेसिनले पत्ता लगाउन नसेकेको बयान अधिकृत कुँवरले प्रहरीमा दिए।

सशस्त्र प्रहरीका कर्मचारीले पनि उस्तै बयान दिएकी छन्। सविनाको शरीर जवान पवित्रा अधिकारीले जाँच गरेकी थिइन्।

+++

२०७३ पुसमा नेपाल प्रहरीले पिंगलास्थानबाट ३३ किलो सुन बरामद गरेको थियो। तत्कालीन एसपी मिरा चौधरीको नेतृत्वमा गएको टोलीले कार्बन पेपरले बेरिएको अवस्थामा सुन बरामद गरेको थियो। सीआइबीको अनुसन्धान अनुसार नेपाल प्रहरीका तत्तकालीन एसएसपी श्याम खत्री र भन्सार अधिकृत श्रीनारायण यादवको मिलेमतोमा विमानस्थलबाट सुन बाहिरिएको थियो।

कार्बन पेपरले बेर्दा एक्सरेले सजिलै सुन भएको पत्ता नलगाउने दाबी गरियो।

तर, कर्मचारीको पनि सेटिङ भएको खुलेपछि प्रविधिलाई मात्र दोषी दिन मिलेन। सविना प्रकरणमा प्रहरीले गरेको अनुसन्धानमा भन्सारका कर्मचारीको मिलेमतो भएको उल्लेख छैन। अनुसन्धान लुटेरा केन्द्रित छ।

‘शरीरमा लुकाएर ल्याएको सुन मेसिनले पत्ता लगाउन सकेन भनेर भन्सारबाट कहिलेसम्म पास गरिरहने हो?,’ डेढ वर्षअघि गठन गरिएको सुन तस्करी जाँचबुझ आयोगका संयोजक पूर्वन्यायाधीश डिल्ली आचार्य प्रश्न गर्दै भन्छन्, ‘सेटिङ एउटा पाटो हो। अर्को प्रविधिमा पनि समस्या छ। यसमा राज्यको ध्यान नगएको देखिन्छ।’

एक साताअघि फागुन १४ गते फ्लाई दुबईबाट काठमाडौं आएका चार जनाले यसरी नै भन्सार क्रस गरेर सुन बाहिर ल्याए। भन्सारमा खटिएका कर्मचारी र सशस्त्र प्रहरीले सुन पत्ता लगाउन सकेनन्।

नेपाल प्रहरीको टोलीले शंका लागेर चेक गर्दा ३ किलो ७४४ ग्राम सुन भेटियो। यो प्रकरणमा चारजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएर भन्सार कार्यालयले अनुसन्धान गरिरहेको छ। हालसम्मको अनुसन्धानमा उनीहरू भरिया मात्रै भएको देखिएको छ। सुन कसको हो भन्ने खुलेको छैन।

‘शरिरभित्रको सुनमा मेसिनभन्दा पनि कर्मचारीको अनुभवले पत्ता लगाउनुपर्छ। यसमा अनुभव कम भएको देखिन्छ। तर, प्रविधिले मात्र सबै पत्ता लाग्छ भन्ने हुँदैन,’ भन्सार विभागका महानिर्देशक महेश भट्टराईले भने।

भन्सारबाट किन रोकिएको छैन सुन तस्करी? कर्मचारीको सेटिङ नभए भरपर्दो प्रविधिको व्यवस्था सरकारले किन गरिरहेको छैन?

संसद्को अर्थ समितिका सदस्य सूर्य थापा यस विषयलाई नजिकबाट हेरिरहेको र समितिमा छलफल गरिने बताउँछन्। ‘किन यस्तो भइरहेको छ भन्ने विषयमा हामी समितिमा कुरा उठाउँछौं। अझै केही भन्सारको अनुगमनमा जानै बाँकी छ,’ थापाले भने।