काठमाडौं। संस्थागत लगानीकर्ताले आम्दानी बढाउन लगानीको रणनीति फेर्न थालेका छन्। बैंकको ब्याजदर एकल अंकमा आएपछि दोस्रो बजारमा लगानी सिफ्ट गरेका उनीहरु अहिले नाफा बुक गर्नतिर लागेका छन्।
संस्थागत लगानीकर्ताको यो रणनीति सेयर बजारको पछिल्लो ट्रेन्डमै देखिएको छ। फागुनमा लगातार ९ दिन उकालो लागेर २८९० विन्दुमा पुगेको नेप्से सूचक पछिल्लो तीन दिनमा ६९ अंकले घटेर बुधबार २८२१ विन्दुमा आइपुगेको छ।
मौद्रिक नीतिको समीक्षापछि ६ महिनाअघिको विन्दुमा पुगेको नेप्से फेरि ओरालो लाग्न थालेको हो। बजारमा ठूला ट्रेडर हाबी भएकाले नेप्से घटेको जानकारहरु बताउँछन्।
‘इन्ट्रा डे ट्रेड भइरहेको छ। सर्टटर्म प्रोफिट बुक गरेर फेरि खरिद गरिरहेको पनि देखिन्छ। त्यस्तै घट्ने जस्तो लागेको स्टक प्राविधिक पक्ष हेरेर बिक्री गर्ने काम भइरहेको छ,’ एनआइएमबि एस क्यापिटलका सचिन्द्र ढुंगानाले भने।
नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुनाफा र व्यापार बढ्ने गरी चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिएको छ।
‘बजार बढ्छ भन्ने भएपछि फिक्सड इन्कम सेक्युरिटीजको लगानी त्यसतिर लगाइरहेका छौं। बजार एउटा विन्दुमा पुगेपछि त्यहाँबाट फेरि निस्किन्छौं,’ अर्का एक मर्चेन्ट बैंकरले भने।
बैंकहरुको ब्याजर डेढ वर्षदेखि लगातार ओरालो लाग्न थालेपछि बजारमा लगानी बढाएका संस्थागत लगानीकर्ताले अहिले भने नाफा बुक गरिरहेको एक ब्रोकरले बताए।
‘फागुन ४ देखि बजार निरन्तर उकालो लाग्दा नेप्से २०० अंकभन्दा बढीले बढ्यो। त्यही कारण संस्थागत लगानीकर्ता अहिले मुनाफा बुकिङतिर लागे जसले गर्दा तीन दिन लगातार घटेको हो। अन्यथा अहिले नेप्से घट्नुपर्ने कारण छैन,’ ती ब्रोकरले भने, ‘संस्थागत लगानीकर्ताले घटेको बजारमा पनि सेयर उठाइरहेका छन्। त्यसैले बजार माथि नै जाने देखिन्छ।’
गत असारमा नेप्सेमा देखिएको उलटफेरले संस्थागत लगानीकर्तालाई बजारमा इन्ट्री गर्न मनोबल बढाएको उनीहरु बताउँछन्। तर, त्यतिखेर पनि नाफा बुक गरेर संस्थागत लगानीकर्ता बाहिरिएका थिए। साउन ३१ गते ३००० विन्दुमा पुगेको नेप्से त्यसपछि ओरालो लागेर असोज १४ गते २४६४ अंकमा झरेको थियो।
भदौपछि घट्न थालेको बजार फागुन लागेपछि लगातार बुलिस बनेको थियो। तर, तीन दिनयता निरन्तर घटिरहेको छ। नेप्से सोमबार १३.६२, मंगलबार ३०.३६ र बुधबार २५.१६ अंकले घटेको छ।
अहिले बैंकहरुको ब्याजदर साढे तीन वर्षयताकै तल्लो विन्दुमा छ। वाणिज्य बैंकको कर्जाकै औसत ब्याजदर ८.६९ प्रतिशत छ। फागुनमा मुद्दती निक्षेपको औसत ब्याजदर ६.५१ प्रतिशत छ।
लामो अवधिदेखि ब्याजदर घटेपछि म्युचुअल फण्ड मात्रै नभएर जीवन र निर्जीवन बीमा कम्पनी सहितका संस्थागत लगानीकर्ताको रोजाइ सेयर बजार भएको हो।
बुलिस ट्रेन्डमा बजारमा लगानी बढाएका संस्थागत लगानीकर्ताले छोटो अवधिमै नाफा बुक गरेर सेफल्याण्डिङ खोजिरहेका छन्।
न्यून अंकको ब्याजदर र तरलता बजारको लागि अनुकूल मानिन्छ। प्रणालीमा तरलता भएपनि ऋणको माग नहुँदा बैंकहरुले लगानी बढाउन सकेका छैनन्। उच्च लागतका कारण उनीहरुले ठूलो आकारको निक्षेप लिनै अस्वीकार गरिरहेका छन्।
बैंकहरुसँग लगानी भएर थुप्रिएको तरलताका कारण उनीहरुले थप व्यवसाय बढाउन सकेका छैनन्। ‘अहिले एफडीमा चार्म पनि छैन। त्यसैले दोस्रो बजारमा तरलता आइरहेको छ। संस्थागत लगानीकर्ताले अल्टरनेटिभ इन्भेष्टमेन्ट खोजिरहेका छन्,’ ढुंगानाले भने।
राष्ट्र बैंकले बजार बढ्ने गरी नीतिगत व्यवस्था गत वर्षदेखि नै खुकुलो बनाउँदै आएको छ। संस्थागत लगानीकर्तालाई सेयरधितो कर्जाको सीमा हटाएको छ। त्यही भएर पछिल्लो समय बैंकबाट ऋण लिएर बजारमा लगानी गर्ने ठूला लगानीकर्ताको संख्या बढेको छ।
सेयर धितो कर्जा बढ्दै गएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ। स्थिर प्रतिफलको दबाबमा रहेकाले संस्थागत लगानीकर्ताले सबै कुरालाई हेरेर लगानीका विभिन्न उपकरण चलाउनुपर्ने मर्चेन्ट बैंकर बताउँछन्।
‘म्युचुअल फण्ड लामो अवधिको प्रतिफलका लागि भएकाले हामीले त्यही अनुसार प्रतिफललाई हेरेर लगानी गरिरहेका छौं,’ नबिल इन्भेष्टमेन्ट बैंकिङका सीइओ मनिषनारायण जोशीले भने, ‘फिक्सड इन्कममा अहिले माग नै छैन। त्यसैले कम्पनीको प्राविधिक विश्लेषण हेरेर छोटो र लामो अवधिको योजनासहित सेयर बजारमा लगानी गरिरहेका छौं।’