BIZMANDU
www.bizmandu.com

सिने जगतमा नयाँ पुस्ता ल्याउँदै ‘होस्टेल-३,’ अभिनय क्षेत्रप्रति नवोदितमा उत्साह

२०८१ फागुन २०

सिने जगतमा नयाँ पुस्ता ल्याउँदै ‘होस्टेल-३,’ अभिनय क्षेत्रप्रति नवोदितमा उत्साह
सिने जगतमा नयाँ पुस्ता ल्याउँदै ‘होस्टेल-३,’ अभिनय क्षेत्रप्रति नवोदितमा उत्साह


काठमाडौं। निर्माणको सङ्ख्यात्मक वृद्धि, बढ्दो लगानी तथा राम्रो पारिश्रमिकका कारण चलचित्रप्रति आकर्षण बढेको छ। सोही कारण बेलाबखतमा यस क्षेत्रमा नयाँ अनुहारको आवश्यकता खड्किने गर्छ। एक दशकअघि देखि नयाँ पुस्ताका रूपमा प्रदीप खड्का, अनमोल केसी, सलोन बस्नेतको आगमन भएको कारण नयाँ पुस्ता चलचित्र भवनसम्म पुगे। उनीहरूले आफ्नो पुस्तालाई मुख्य कलाकारका रुपमा मात्र पाएनन्, आफ्नो कथा, लवज र जीवनशैली पनि पाए।

Tata
GBIME
NLIC

नेपाली चलचित्रमा नयाँ अनुहार ल्याउने श्रेय ‘होस्टेल’ शृंखलालाई जान्छ। प्रदर्शन भइसकेको ‘होस्टेल’ र ‘होस्टेल रिटर्न्स’ बाट चलचित्रमा ‘डेब्यु’ गरेका अभिनेता अनमोल केसी, सलोन बस्नेत, स्वस्तिमा खड्का, नाजिर हुसेन लगायत अहिले स्थापित भइसकेका छन्।

कुनै समय नयाँ कलाकारलाई फिल्ममा ल्याउन ‘होस्टेल’ शृंखला उपयुक्त मानिन्थ्यो। तर, विविध कारणले यसको दोस्रो शृंखलापछि तेस्रो बन्न धेरै समय लाग्यो। ‘होस्टेल रिटर्न्स’ प्रदर्शन भएको एक दशकपछि यसको तेस्रो शृंखला ‘होस्टेल ३’ तयार भएर आगामी शुक्रबारदेखि प्रदर्शन हुँदैछ। यसपटक फिल्म निर्माण, निर्देशनदेखि अभिनयमा नयाँ कलाकार छन्।

विशेषतः यसलाई ‘नयाँ पुस्ता’ को चलचित्र भन्न सकिन्छ। यस चलचित्र ‘होस्टेल ३’ मार्फत अभिनय यात्रा थालेका पदम तामाङ भारतको सिक्किममा बस्छन्। आफ्नै ‘युट्युब च्यानल’मार्फत विभिन्न हास्य व्यङ्ग्यात्मक कार्यक्रम निर्माण गरिरहेका तामाङले ती सब छाडेर चलचित्रमा अभिनय रोजे।

‘मलाई बेलाबखतमा फिल्ममा अभिनय गर्ने प्रस्ताव आउँथ्यो तर केहीमा कथा र केही पात्रमा आफूलाई पाउन सकेको थिइनँ। साथै, मैले निर्माण गर्ने ‘कन्टेन्ट’लाई युट्युबमा दर्शकले रुचाउनु भएको थियो, मसँग जोडिएका सबैले बल्ल मेहनत फल पाउनुभएको थियो। अर्थात् हाम्रो राम्रो दिन सुरु भएको थियो,’ उनी भन्छन्, ‘त्यही भएर ती सब छाडेर, सिक्किम छाडेर नेपाल आएर चलचित्रमा अभिनय गर्ने आँट आएको थिएन।’

यद्यपि ‘होस्टेल ३’ बाट प्रस्ताव आएपछि उनका सहकर्मी र परिवारले नयाँ यात्रा थाल्न प्रोत्साहन गरे। सोही कारण उनले पुरानो परिचयलाई चट्ट छाडेर नयाँ सुरुआत गरेका छन्।

यस्तै, यसमा सिम्रन पन्तको पनि अभिनय छ। विद्यालयमा अभिनय गर्दा कहिले एक्लै फिल्म हेर्न समेत नपाएकी उनी अहिले अभिनेत्री बनेकी छन्। बेलाबखतमा परिवारसँग फिल्म हल पुग्दा उनलाई खुसी मिल्ने रहेछ, सोही कारण उनले उच्च शिक्षासँगै कलात्मक पाटोलाई समेत बढाउँदै लगिन्। फलतः ‘अडिसन’मार्फत उनी एक्टिङका लागि छनोट भएकी हुन्।

‘मैले अभिनयको प्रशिक्षण पनि लिएकी थिएँ। तर, यसअगाडि केही चलचित्रमा काम गर्ने तय भए तापनि त्यो बनेनन्, त्यसकारण प्रस्ताव आउनु नयाँ थिएन। होस्टेलको तेस्रो शृंखला बन्दैछ भन्ने थाहाँ पाएपछि म खुसी भएँ,’ उनी भन्छिन्, ‘मैले अभिनय गर्दैछु भन्ने तय भएको दिनको उत्साहलाई मैले शब्दमा बयान गर्न सक्दिन।’

उनी खुसी हुनुको कारण अभिनेता तामाङ झैँ ‘होस्टेल’ शृंखलाको दर्शक भएर हो। उमेरले चालिस पुगेका कलाकारहरुको भीडमा आफ्नै पुस्तालाई फिल्ममा पाउँदा पन्त दंग परिन्। किनकि युवाको होस्टेल जीवन मात्र नभई ‘टीन एज’ मा आउने उतारचढाव समेत फिल्ममा समावेश गरिएको थियो। या भनौँ तन्नेरी पुस्ताको कथा र व्यथा चलचित्रमा थियो।

तेस्रो शृंखला अर्थात् ‘होस्टेल ३’ मा नयाँ पुस्तासँगै जोडिएको विषय भएपछि ‘कुल ब्वाई’ नामक ‘टिकटकर’का रुपमा परिचय बनाएका पारसबम ठकुरी ठूलो पर्दामा अभिनय गर्न सहमत भए। ‘प्रस्ताव गरिएको पात्र आफू झैँ लाग्नाका साथै आफ्नै जस्तोको कथा लागेपछि चलचित्रमा काम गर्ने सोच बनाएको हुँ। फेरि कुनै न कुनै समयमा आफूलाई भिन्न परिचय दिनु नै थियो,’ उनी भन्छन्, ‘म सानो क्यामेराबाट यहाँसम्म आइपुगेको छु। म परिचय फेर्न त आएको हुँ, तर धरातल नछाडेर। आफूले सपना देखियो र त्यसलाई पूरा गर्न इमान्दारिताका साथ लागियो भने निश्चय सफलता पाइन्छ भने उदाहरण बन्न सकूँ जस्तो लाग्छ।’

उनलाई फिल्ममा काम गर्न सहज लाग्नाका कारण नै आफ्नै जस्ता र उमेर समूहका कलाकार तथा प्राविधिक थिएँ। सबै नयाँ र उस्तै उमेर समूहको भएकै कारण फिल्म सजिलै बन्यो। सामाजिक सञ्जाल वा निःशुल्क दर्शकले रुचाए तापनि ठूलो पर्दामा हेर्न आउने हो कि होइनन् भन्ने डर त सबैलाई छ। तर, आफूले गरेको कामप्रति सबै ढुक्क छन्।

यही फिल्मबाट अभिनय क्षेत्रमा आएका अर्का कलाकार हुन् आशिष घिमिरे। ६ वर्षको उमेरदेखि हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘धुन्धुकारी’ को भूमिकामा लगातार पाँच वर्षसम्म अभिनय गरेका आशिष कलाकार केदार घिमिरेका छोरा हुन्। बुबा टेलिशृंखला र फिल्ममा स्थापित भए पनि आशिषले केही सांगीतिक श्रव्यदृश्यमा लेखक र निर्देशन समूहमा रहेर काम गर्नाका साथै आरोहण गुरुकुल नाटकघरमा नाट्यकर्मी सुनिल पोखरेलसँग अभिनय सिके।

केही सडक नाटक, नाट्यकर्मी पोखरेलको निर्देशनमा तयार भएको ‘गच्छामी’ नामक नाटक र रामभजन कामतको निर्देशनको ‘काल’ नाटकमा अभिनय गरेपछि आशिष फिल्ममा आइपुगेका हुन्। ‘फिल्म बन्दैछ र चाहिएको पात्र म गर्न सक्छु भन्ने लागेपछि ‘अडिसन’ दिएँ। निर्माण समूहले खोजे झैँ पात्र भए तापनि धेरै पटक अडिसन दिएपछि म छनोट भएको हुँ। म मेरो बुबाको नाम र पहिचानभन्दा पनि आफ्नै कामले चिनिन चाहन्थे,’ उनले भने, ‘सोही कारण आफूले सक्दो मेहनत गरेर फिल्मसम्म आएको हुँ।’

अभिनेता आशिषसँगै अन्य तीन कलाकारको पनि पहिलो फिल्म भएकाले नर्भस, उत्साह र डर सबैमा थियो। एकआपसमा घुलमिल हुनाका साथै कार्यशाला (अभिनय प्रशिक्षण) गरे तापनि छायांकनको पहिलो डर सबैमा थियो। किनकि यहाँ आफ्नो कारणले चलचित्र निर्माण गर्न तयार प्राविधिकसहितको टिमको काम बिग्रिन्थ्यो।

‘हामी सबैको उस्तै उस्तै मनोभाव रहेछ। किनकि प्राविधिक सबै पोख्त हुनुहुन्थ्यो। हाम्रो कारणले उहाँको कामसमेत सफल हुन्थेन। तर, सुटिङ अगाडि हामीले होस्टेल शृंखलामा अभिनय गर्नुभएका पुराना कलाकारलाई भेटेर उहाँको अनुभव सुनेका थियौं। त्यसले हामीलाई आत्मविश्वास बढाउन मद्दत गर्‍यो,’ अभिनेता ठकुरीले भने।

‘होस्टेल’मा अभिनय गर्ने अभिनेता गौरव पहाडी र सलोन बस्नेतले सुनाएको अनुभव आफ्नो भन्दा फरक नपाएको अभिनेत्री पन्तले बताइन। नयाँमा सबै उस्तै हुने वा उही मनोविज्ञान हुने भएपछि सबै कलाकारलाई थप ऊर्जा प्राप्त भयो। त्यही ऊर्जाले उनीहरूलाई छायांकन गर्ने दृश्यमा आफ्नो पात्रलाई जीवन्त बनाउन मदत मिल्यो।

फिल्ममा अन्य ‘डेब्यु’ कलाकार रिहान गिरी, हिना नगरकोटी र समा पराजुली पनि छन्। सबै कलाकार ‘होस्टेल ३’ को सार्वजनिक प्रचार सामग्रीमा आत्मविश्वासी देखिएका छन्। पात्रलाई जीवन्त बनाएको प्रतिक्रिया दर्शकले सामाजिक सञ्जालमा दिइरहेका छन्। दर्शक प्रतिक्रियाकै कारण अभिनेता तामाङ अब अभिनयलाई निरन्तरता र युट्युबमा नयाँ ‘कन्टेन्ट’ तयार गर्ने तयारीमा छन्।

‘म आगामी दिनमा हास्य कलाकारकै रुपमा देखिन्छु भन्ने लागेको छ। किनकि यसमा पनि मेरो पात्रले गर्ने गतिविधिले चलचित्र हेर्न आउनु हुने दर्शक हाँस्न बाध्य बन्नु हुन्छ। साथै, आफ्ना रोकिएको कामको पनि सुरुआत गर्छु,’ अभिनेता तामाङले भने।

व्यावसायिक सुरक्षाका कारण प्रायः निर्देशकको रोजाइमा स्थापित अनुहार पर्ने देखिए पनि नयाँ अनुहारले नयाँ दर्शक तान्न सक्ने भएको र विषयवस्तुसँगै ‘होस्टेल’ शृंखलाको ‘लिगेसी’ लाई अगाडि बढाउन नयाँ पुस्ताको फिल्म बनाएको निर्देशक सशान कँडेलले बताउँछन्। ‘म आफैं निर्देशकका रुपमा नयाँ भएकाले मैले प्रतिभा भएका र मेहनत गर्नसक्ने नयाँ पुस्तालाई ल्याएको छु। उहाँहरू सबै आउँदो केही वर्षमा सर्वाधिक खोजिने कलाकारका रुपमा परिचित बन्नुहुनेछ भन्ने मलाई लागेको छ,’ उनले भने, ‘तर, अहिलेको जस्तै मेहनती र सरल भने रहन सक्नुपर्छ।’

यस अघिका ‘होस्टेल’ का दुई शृंखलाले नयाँ पुस्तालाई कलाकारितामा स्थापित गराउनाका साथै व्यावसायिक सफलता पनि हासिल गरेको थियो। ‘होस्टेल ३’ को व्यापार आउँदो केही सातामा थाहा हुने भए तापनि यसमार्फत चलचित्रमा भित्रिएका नयाँ पुस्ताको चर्चा भने अहिले नै बढिरहेको छ।

-भेषराज कार्की/रासस