काठमाडौं। हुन्डाईको क्रेटा इभी नेपाल आएको छ। हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले क्रेटा इभी पहिलो चरणमा ६ वटा ल्याएको हो। गाडी गत बिहिबार भैरहवा भन्सारबाट छुटाएको कम्पनीले जनाएको छ।
क्रेटा इभी हुन्डाईको बहुप्रतीक्षित मोडल हो। यो गाडी भारतीय बजारमा दुई महिनाअघि सार्वजनिक गरिएको थियो।
कम्पनीले मूल्य भारु १७ लाख ५२ हजार देखाएर भन्सारबाट छुटाएको छ। गाडीको एमआरपी मूल्य नेपाली बजारमा साढे ५६ लाख रुपैयाँ हाराहारी पर्ने कम्पनीले जनाएको छ। कम्पनीले बिक्री प्रयोजनका लागि नभइ डेमोका लागि भनेर छुटाएको हो।
हुन्डाई क्रेटा इभीको डिजाइन पेट्रोल इन्जिनसँग मिल्दोजुल्दो छ। यसमा नयाँ ग्रिल, नयाँ हेडलाइट र टेललाइट तथा नयाँ बम्पर राखिएको छ। गाडीमा ठूलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस चार्जिङ लगायत धेरै सुविधा समावेश छन्।
हुन्डाई क्रेटा इभीमा दुईवटा ब्याट्री विकल्प छन्। एउटा ४२ किलोवाट आवरको ब्याट्री छ जसले करिब ३९० किलोमिटरको रेन्ज दिन्छ। ५१.४ किलोवाट आवरको ब्याट्रीले करिब ४७० किलोमिटर रेन्ज प्रदान गर्छ। अहिले नेपाल आएको गाडीमा ४२ किलोवाट आवरको ब्याट्री छ।
यो गाडी अर्को सातादेखि बिक्री गर्न थाल्ने कम्पनीको तयारी छ।