काठमाडौं। नेपाल बीमा प्राधिकरण इन्स्योरेन्सको चुक्ता पुँजी वृद्धिको आफ्नै निर्णय कार्यान्वयन गराउन असफल भएको छ।प्राधिकरणले कम्पनीहरुलाई पुँजी वृद्धि गर्न २०७८ चैतमा एक वर्षको समय दिएकामा आधा दर्जन कम्पनीले अहिलेसम्म पुर्याउन सकेका छैनन्।
सरकारको लगानी रहेका दुई इन्स्योरेन्सको पुँजी वृद्धि अनिश्चित छ। कम्पनीहरुको लेखा परीक्षण नै सम्पन्न भएको छैन। सरकारले उनीहरुलाई पुँजी वृद्धिका लागि स्वीकृति दिएको छैन।
‘सरकारी कम्पनीको अहिलेसम्म लेखा परीक्षण नै सम्पन्न भएको छैन। लेखा परीक्षण नै नगरी पुँजी बढाउने कुरा सहज छैन। अर्थ मन्त्रालयले स्वीकृति पनि दिएको छैन,’ प्राधिकरण स्रोतले भन्यो।
राष्ट्रिय बीमा कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनी सरकारी लगानीका हुन्। प्राधिकरणले कम्पनीलाई लेखा परीक्षणका लागि ताकेता गर्दै आएको छ। चालु आर्थिक वर्ष दोस्रो त्रैमासम्म जीवन र निर्जीवन बीमा कम्पनीमध्ये पुँजी वृद्धिको प्रक्रियामा रहेका बाहेक थप पाँच कम्पनीले प्राधिकरणको निर्णय कार्यान्वयन गर्न सकेका छैनन्।
सात वटा कम्पनी पुँजी वृद्धिको प्रक्रियामा छन्। उनीहरु पुँजी पुर्याउन हकप्रद सेयर निष्कासनको प्रक्रियामा छन्। युनाइटेड अजोड, नेको इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, प्रभु महालक्ष्मी, सन नेपाल र एसियन लाइफ इन्स्योरेन्सले हकप्रद सेयर निष्कासनको प्रक्रिया अगाडि बढाएका हुन्।
जीवन बीमा कम्पनीको चुक्ता पुँजीको अवस्था
कम्पनी | चुक्ता पुँजी रु लाखमा |
नेपाल | ८२०७९ |
हिमालयन | ८०२०३ |
नेसनल | ५२१२१ |
सूर्यज्योति | ५०११९ |
लाइफ इन्स्योरेन्स कर्पोरेसन | ५०००० |
आइएमई | ५०००० |
सानिमा रिलायन्स | ४९५३० |
प्रभु महालक्ष्मी | ४७२५६ |
रिलायबल नेपाल | ४६४०० |
सन नेपाल | ३९६१६ |
सिटिजन | ३९३७५ |
एसियन | ३३९९८ |
राष्ट्रिय जीवन बीमा कम्पनी | १८१० |
मेट | – |
प्राधिकरणले कम्पनीहरुलाई पुँजी वृद्धिका लागि पटक पटक अवधि थप गरेर यो वर्ष पहिलो त्रैमाससम्मको समय दिएको थियो। तर, कम्पनीहरुलाई पुँजी जुटाउन धौधौ परिरहेको छ।
‘यो वर्ष पहिलो त्रैमासमै पुँजी कायम गरिसक्नुपर्ने गरी समय थप गरिएको थियो। तर, कम्पनीहरुले हामीले भने अनुसारको पुँजी कायम गर्न सकिरहेका छैनन्। हकप्रद निष्कासनको प्रक्रियामै रहेका कारण ढिलाइ भएको हो,’ प्राधिकरणका एक अधिकृतले भने, ‘मर्जरमा गएका कम्पनीहरुलाई एक वर्ष थप हुने छुट दिइएको छ। त्यसले कम्पनीहरुलाई केही सहज बनाएको छ।’
लाइफ इन्स्योरेन्सतर्फ ७ कम्पनीले ५ अर्ब रुपैयाँ पुँजी पुर्याएका छन्। ३ वटा हकप्रद निष्कासनको प्रक्रियामा छन्। निर्जीवनतर्फ ६ कम्पनीले २.५ अर्ब रुपैयाँ पुर्याएका छन्। ४ वटा हकप्रद सेयर निष्कासनको प्रक्रियामा छन्।
प्राधिकरणले २०७८ चैतमा कम्पनीहरुलाई एक महिनाभित्र क्यापिटल प्लान पेस गरेर २०७९ चैत मसान्तमा आफूले भने अनुसार चुक्ता पुँजी कायम गर्न निर्देशन दिएको थियो।
चुक्ता पुँजी अढाई गुणा वृद्धि गरेर निर्जीवनको २.५ अर्ब र जीवन बीमा कम्पनीको ५ अर्ब रुपैयाँ पुर्याइएको छ।
पुँजी वृद्धिका लागि प्राधिकरणले बोनस सेयर र हकप्रद जारी गर्न भनेको छ। प्राधिकरणले चालु वर्षको बोनस सेयर र पुँजी वृद्धिका लागि पेस गरेको प्रस्तावलाई समेत विश्लेषण गरेर सहुलियत दिएको छ।
‘कम्पनीले पुँजी वृद्धिका लागि असारअघि नै हकप्रद सेयर निष्कासन र बोनस सेयरको प्रस्ताव पेस गरेका थिए। त्यसपछि हाम्रो स्वीकृति लिएर सेबोनमा गएपछि रोकियो। सेबोनबाट स्वीकृतिमा ढिलाइ भएकाले पनि असर परेको हो,’ प्राधिकरणका निर्देशक निर्मल अधिकारीले भने, ‘सरकारी कम्पनीलाई लेखा परीक्षणका लागि ताकेता गरिरहेका छौं। लेखा परीक्षणपछि उनीहरुले पनि तोकिएको पुँजी कायम गर्ने विश्वास छ।’
निर्जीवन बीमा कम्पनी चुक्ता पुँजीको अवस्था
कम्पनी | चुक्ता पुँजी रु लाखमा |
आइजीआई प्रुडेन्सियल | ३०२९३ |
सिद्धार्थ प्रिमियर | २८०६५ |
शिखर | २६५४९ |
सगरमाथा लुम्बिनी | २६२२६ |
एनएलजी | २५०२६ |
हिमालयन एभरेष्ट | २५००१ |
युनाइटेड अजोड | २१००० |
नेको | २०१२३ |
सानिमा जीआईसी | २०००० |
नेपाल | १६४४२ |
प्रभु | १४४१४ |
राष्ट्रिय बीमा कम्पनी | २६६६ |
दि ओरियन्टल | – |
नेसनल | – |
पुँजी बढाउन नसक्ने देखिएपछि यो बीचमा मर्जर तथा प्राप्तिमा गएर ११ कम्पनीको अस्तित्व मेटिएको छ। मेटलाइफ, नेसनल इन्स्योरेन्स र ओरियण्टल इन्स्योरेन्स भने विदेशी कम्पनीका शाखा हुन्।