काठमाडौं । यतिबेला सिजनका तरकारी बजारको माग अनुसार उत्पादन भए पनि भारतबाट आयात भइरहेको छ। साग, काउली, सिमि, मुला, बन्दा, गोलभेडा, गाजर, भन्टा, बरेलाको उत्पादन यहीँ हुन्छ।
करेला, भिण्डी, काक्रो, कागती ,करेला आलु,प्याज र सुकेको लसुन लगायतका तरकारी उत्पादनको समय नभएकोले आयात भइरहेको हो।
व्यवसायीका अनुसार अहिले आयात भएका तरकारी ‘अफसिजन’का हुन्।आयातित ‘अफसिजन’ तरकारीले राम्रो बजार भाउ पाउने गरेको छ। सिजन सुरु भएपछि सोही तरकारी सस्तो भाउमा बिक्री हुन्छ।
तर, यो सहित केहि सिजनल तरकारी काउली, सिमि, रातो बन्दा र हरियो लसुन गोलभेडा मुलाको आयात पनि भइरहेको छ।
कालीमाटी तरकारी बजारमा मात्रै दैनिक ७०० देखि ७५० टन तरकारी भित्रिने गरेको छ। स्वदेशी उत्पादित हरिया तरकारी ६० देखि ६५ प्रतिशत रहेको छ भने ३५ देखि ४० प्रतिशत आयात हुने कालीमाटी फलफूल तथा तरकारी विकास समितिले जनाएको छ।
कालीमाटी फलफूल तथा तरकारी विकास समितिका प्रवक्ता विनय श्रेष्ठ आयात भएका सबै हरिया र सुकेका तरकारी अफसिजन तरकारी भएको बताउँछन्।
‘हरिया तरकारी जुन अहिले यहा उत्पादन हुँदैन् त्यो मात्र आइरहेको छ,’ उनले भने, ‘काक्रो, करेला, भिण्डिको सिजन नभएकोले आयात भएको हो’।
सिजनल तरकारी अबको एकमहिना पछि मात्र बजारमा आउन थाल्छ। सो समयसम्म ती तरकारी आयात गर्नुपर्ने उनको भनाइ छ। अहिले प्याज र आलुको उत्पादन नहुने भएकोले आयात गर्नुपरेको उनले बताए।
‘यसको आयात सदाबहार नै हुने गर्छ,’ उनले भने।
बजारमा अफसिजन तरकारीको माग हुने भएकोले व्यवसायीले आयात गर्छन्। जसले गर्दा अहिले बजारमा यस्ता तरकारीको मूल्य महंगो हुने पनि उनी बताउँछन्
अहिले स्वदेशी उत्पादित तरकारीहरुको भाउ घटेर सस्तो भएको छ। उपभोक्ताले थोक बजारमा २० देखि ७० रुपैयाँमा सिजनल तरकारी खरिद गर्न सक्छन्।
त्यस्तै, तरकारी फलफूल महासंघका निवर्तमान अध्यक्ष खेमप्रसाद घिमिरेले अफसिजन तरकारीमात्रै आयात हुने गरेको बताउँछन्।
भारतमा यतिबेला करेला, भिण्डी र काक्रोको सिजन हो।
अहिले नेपालमा सिजनल तरकारी उत्पादन व्याप्त छ। तर, काउली र बन्दा बिक्री नभएर किसानले बारीमा छाडेका छन्। र, तिनै तरकारीको भाउ उच्च छ। उपभोक्ताले एकैखालका तरकारी भन्दा फरक खोज्ने गर्छन्। जसले गर्दा व्यवसायीले अफसिजनको तरकारी आयात गरेर राम्रो कारोबार गर्ने गरेको उनको बुझाइ छ।
हिउँदमा तराईका जिल्लामा धेरै तरकारी उत्पादन हुन्छ। गर्मी ठाउँ भएकोले पहाडी भेगको भन्दा केही समयअघिनै तरकारी बजारमा आउँछ।
व्यवसायीका अनुसार भारत र चीनबाट ठूलो परिमाणमा तरकारी आयात गर्दा सस्तो पर्छ। धेरै उत्पादन हुने भएपछि कम मूल्यमा खरिद गर्न सकिने भएपछि आयात बढ्दै गएको हो। व्यापारीले बजारमा माग भएका र अहिले बजारमा नपाइने तरकारी भारतबाट आयात गर्ने गरेको पाइएको छ।