BIZMANDU
www.bizmandu.com

विमानस्थल भन्सारमा गम्भीर लापर्बाही, अवैधरुपमा ल्याइएको पौने ४ किलो सुन कसरी बाहिरियो?

२०८१ फागुन १५

विमानस्थल भन्सारमा गम्भीर लापर्बाही, अवैधरुपमा ल्याइएको पौने ४ किलो सुन कसरी बाहिरियो?
विमानस्थल भन्सारमा गम्भीर लापर्बाही, अवैधरुपमा ल्याइएको पौने ४ किलो सुन कसरी बाहिरियो?


काठमाडौं। भन्सारका कर्मचारीसँग चिनजान नहुनेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक ग्राम पनि सुन ल्याउन सक्दैनन्।

Tata
GBIME
NLIC

विदेशबाट आउने नेपालीले २५ ग्रामभन्दा बढी सुन ल्याएको अवस्थामा भन्सार शुल्क तिर्नुपर्छ। तोकिएको परिमाणभन्दा बढी ल्याउनेहरुलाई भन्सार तिराएर दिनमा करिब डेढ किलो सुन छोड्ने गरिएको छ। भन्सारका कर्मचारी र सुरक्षाकर्मीको आँखा छलेर केही पनि बाहिर ल्याउन सम्भव हुँदैन।

तर, बुधबार राति पौने ४ किलो सुन अवैधरुपमा भित्र्याइँदा विमानस्थल भन्सार प्रशासनले आँखा चिम्लियो। भन्सारका कर्मचारीलाई सशस्त्र प्रहरी बलले पनि साथ दियो।

यो घटनाले विमानस्थलबाट सुन तस्करीले निरन्तरता पाइरहेको छर्लंग भएको छ। यसअघि २०८० साउन २ मा यसैगरी भन्सार प्रशासन र सुरक्षा घेरा पारेर गरेर ६१ किलो सुन बाहिरिएको थियो। त्यतिखेर राजस्व अनुसन्धान विभागले तस्करीको सुन बरामद गरेकामा अहिले भन्सारका कर्मचारी र सशस्त्र प्रहरीबाट उम्किएको अवस्थामा नेपाल प्रहरीले समाएको हो।

विमानस्थलमा भन्सारका कर्मचारीले जाँच गर्छन्। उनीहरूसँग एक्सरे मेसिन छ। कुनै सामानमा शंका लागेमा उनीहरूले पुन: चेक गर्छन्। भन्सारका कर्मचारीबाहेक सशस्त्र प्रहरी बलले यात्रुको खानतलासी गर्छ।

तर, बुधबार राति पौने ९ बजेतिर फ्लाई दुबईबाट आएका चार यात्रुले ३ किलो ७४५ ग्राम सुनसहित भन्सारका कर्मचारी र सशस्त्र प्रहरी जाँच पार गरे। उनीहरुले कुनै अवरोध झेल्नुपरेन।

पक्राउ परेका व्यक्तिहरु

भन्सारबाट बाहिरिएका ती ४ यात्रुमाथि नेपाल प्रहरीलाई शंका लाग्यो। त्यसपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा पौने ४ किलो सुन फेला पर्‍यो। भन्सार पार गरिसकेको अवस्थामा यति ठूलो परिमाणको सुन २०८० साउन २ पछि पहिलोपटक बरामद भएको हो।

‘उनीहरूको हिँडाइ नै फरक परेको थियो। शंका गर्ने अरु आधार पनि थिए,’ विमानस्थल प्रहरी प्रमुख एसएसपी सोमचन्द्र सिंह राठौरले भने।

विमानस्थलमा अध्यागमनको निगरानीमा ‘वाक थ्रो’कै बीचमा भन्सारका कर्मचारीले लगेज स्क्रिनिङ गर्छन्। पर्याप्त सुरक्षाकर्मीको उपस्थितिमा जाँचपछि यात्रु एस्कालेटर या लिफ्टबाट झर्छन्। विमानस्थल बाहिरिने गेट अगाडि पुग्दासम्म एक्स-रे मेसिनदेखि अन्य डिटेक्टरबाट यात्रुको खानतलासी हुन्छ।

तस्करी रोक्नका लागि विमानस्थलमा पूर्वाधार र जनशक्ति पर्याप्त छ। त्यसैले त ६१ किलो सुन प्रकरणका बेला गठित जाँचबुझ आयोगका तत्कालीन अध्यक्ष डिल्लीराज आचार्य सेटिङविना विमानस्थलबाट सुन बाहिरिन सम्भव नै हुँदैन भन्छन्।

‘तस्करी रोक्नका लागि विमानस्थलमा पर्याप्त जनशक्ति छन्। भन्सारका कर्मचारीदेखि सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालित छन्। एक्सरेदेखि डिटेक्टर मेसिन उपलब्ध छ। त्यसैले आँखा छलेर सियो ल्याउन पनि सम्भव हुँदैन,’ आचार्यले बिजमाण्डूसँग भने, ‘पौने ४ किलो सुन भन्सारका कर्मचारी र सशस्त्रको घेराबाट उम्किनु भनेको सेटिङ हो। सेटिङविना यात्रुले अवैधरुपमा सुन बाहिर ल्याउन सम्भव नै हुँदैन। यो विमानस्थल भन्सारको गम्भीर लापर्बाही हो।’

आचार्यले ६१ किलो सुन तस्करीको अध्ययन गर्ने बेला विमानस्थल भन्सारको अवस्था पनि हेरेका थिए।

प्रतिनिधि सभाको अर्थ समितिका सांसदहरुले एक महिनाअघि त्रिभुवन विमानस्थलसहित विभिन्न भन्सार नाकाको निरीक्षण गरेका थिए। निरीक्षणपछि उनीहरुले कर्मचारी र तस्करहरुको सेटिङमा राजस्व छली भइरहेको प्रतिवेदन बुझाएका थिए।

बरामद सुन

फ्लाई दुबईबाट आएका तीन महिलाले मलद्वारमा राखेर सुन ल्याएको खुलेको छ। प्रहरीले तीन महिलाका साथै अर्का एक पुरुषलाई पक्राउ गरेको छ। उनीहरु चारैजना उज्वेकिस्तानका हुन्। तीमध्ये ४१ वर्षीय तुरसुनोभ सारदोर यसअघि पनि नेपाल आएको खुलेको छ।

प्रारम्भिक अनुसन्धानका आधारमा प्रहरीले ४९ वर्षीया फेजिभा साउदत, ४८ वर्षकी अख्मेदोभा उमेदा र ५४ वर्षिया मारिफालिभा दिलफुजा भरिया भएको बताएको छ। ‘अहिले पक्राउ परेकाहरु भरिया नै भएको देखिएको छ। एक जना पुरुष भने यसअघि पनि नेपाल आएको देखियो,’ एक अनुसन्धान अधिकृतले भने।

यो प्रकरणले भन्सार प्रशासन फेरि एकपटक विवादित बनेको छ। भन्सार प्रशासनले यसअघिका तस्करीमा आफूलाई पानीमाथिको ओभानो देखाउन एक्सरे मेसिन बिग्रिएको बताउँदै आएको थियो।

यसपटक मेसिन बिग्रिएका अवस्थामा छैनन्। त्यसैले त भन्सार विभागका महानिर्देशक महेश भटराईले कमजोरी भएको स्वीकार गरेका छन्। ‘यसमा कमजोरी भएको हो। तर कोबाट किन भयो भन्ने विषय हेर्न निर्देशन दिएको छु,’ भटराईले भने।

विमानस्थल भन्सार अहिले कार्यालय प्रमुखविहीन छ। अर्थमन्त्री विष्णु पौडेलले यसअघिका भन्सार प्रमुख महेश बराललाई सरुवा गरेपछि शान्तिराम निरौला निमित्त प्रमुखको जिम्मेवारीमा छन्।

यति ठूलो घटनामा अहिलेसम्म कुनै कर्मचारीलाई छानबिनको दायरामा तानिएको छैन। यसले तस्करी नियन्त्रणमा अर्थ मन्त्रालय कत्ति पनि गम्भीर नभएको सन्देश गएको छ।