काठमाडौं। महाशिवरात्रिको अवसर पारेर बुधबार चार वटा चलचित्रको मुहुर्त तथा छायांकन सुरु भएको छ। सिनेकर्मीले महत्त्वपूर्ण चाडपर्वको अवसर पारेर सुटिङ थाल्ने परम्परालाई निरन्तरता दिएका हुन्।
फिल्म निर्माता तथा निर्देशकहरुका अनुसार ‘कुस्ती’, ‘हर्ष’, ‘माग्ने राजा’ र ‘कोसे ढुंगा’ को छायांकन सुरु गरिएको हो। अभिनेता बुद्धि तामाङ निर्माता बनेका ‘कुस्ती’को छायांकन काठमाडौंबाट सुरु भएको छ। उक्त फिल्मको मुहुर्त गरेसँगै अभिनेता धीरज मगर, पुस्कर गुरुङ र लुनिभा तुलाधरको दृश्य खिच्दै छायांकन सुरु गरिएको तामाङले बताए।
‘हामीले फागुनदेखि छायांकन सुरु गर्ने भनेपछि शिवरात्रिकै अवसर पारेका हौं। कलाकारितामा संगालेको अनुभवलाई प्रयोग गरेर चलचित्र निर्माण सुरु गरेको छु,’ उनले भने, ‘यही पेसाले परिचय दिएकाले मैले नाटकपछि चलचित्र निर्माणमा पनि हात हालेको हुँ। राम्रो समूह र मनपर्ने कथा पाएकाले योजनाभन्दा अगाडि नै निर्माता बन्दैछु।’
आआफ्नो स्वभावले एकैसाथ रहन कठिनाइको सामना गरिरहेका छुटिन नसक्ने र सँगै रहन पनि नसक्ने जोडीको कथा ‘कुस्ती’मा देख्न पाइने चलचित्रका लेखक तथा निर्देशक अनिल योञ्जन बताउँछन्। उनका अनुसार चलचित्रमा सहरको कथा भएकाले काठमाडौं आसपासमा ४५ दिन छायांकन गरिने छ।
चलचित्रमा अभिनेता धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय रहने छ।
अनुषा सिनेमावुड पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा उमंग शाहीले छायांकन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन र कल्याण सिंहले सङ्गीत सृजना, शिशिर खातीले नृत्य निर्देशन गर्नेछन्।
यस्तै, मुहुर्त गरिएको चलचित्र ‘हर्ष’ को छायांकन आउँदो सातादेखि चितवनमा हुने निर्देशक एकता पौडेलले जानकारी दिइन। न्युयोर्क फिल्म एकेडेमीबाट चलचित्रसम्बन्धी अध्ययन गरेर चलचित्र निर्माणमा जुटेकी निर्देशक पौडेलले ३५ दिनको तालिका बनाएर छायांकन सुरु गरिने बताइन।
‘आफूले पढेको र सिकेको अनुभवलाई प्रयोग गरेर निर्देशन गर्दैछु। मैले तयार गरेको पटकथालाई पूर्ण रूपमा पर्दामा ल्याउन कोसिस गर्नेछु,’ उनले भनिन्। यस चलचित्रमा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापालगायत कलाकारको अभिनय रहने छ।
‘माग्ने बुढो’को उपनामले परिचित कलाकार केदार घिमिरेको शीर्ष भूमिका रहेको फिल्म ‘माग्ने राजा’को मुहुर्त गर्दै बुधबारदेखि नै काभ्रेबाट छायांकन सुरु गरिएको छ। काभ्रेमा १० दिन र बाँकी छायांकन काठमाडौँमा गरिने लेखक समीप्याराज तिमल्सेनाले जानकारी दिए।
उनले भने ‘एउटा निम्नस्तरको व्यक्तिको धनी बन्ने मोहलाई विषय बनाइएको चलचित्र सामाजिक विभेदसँगै विकृतिलाई व्यङ्ग्य गर्छ। यो पूर्ण रूपमा मनोरञ्जनले भरिपूर्ण चलचित्र बन्नेछ तर यसले उठान गरेको विषय गम्भीर र सोचनीय छ भन्ने हामीलाई लागेको छ।’ चलचित्रमा अभिनेता घिमिरेसँगै आर्यन सिग्देल, वर्षा शिवाकोटी, विल्सनविक्रम राई, शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहने छ।
ऋषि लामिछानेको निर्देशनमा तयार भइरहेको ‘माग्ने राजा’ चलचित्र आगामी वर्ष २०८२ को तीजमा प्रदर्शन हुने कलाकार घिमिरेले जानकारी दिए।
यस्तै किशोर अनुरागको निर्माण र ‘पूर्णबहादुरको सारङ्गी’का सरोज पौडेलको निर्देशनमा ‘कोसे ढुंगा’ को पनि बुधबारै छायांकन सुरु भएको छ। किशोर अनुराग र प्रेविल कँडेलले निर्माण गर्ने उक्त चलचित्रको कार्यकारी निर्माताको भूमिकामा दिनेश खड्का छन्। चलचित्रसँग सम्बन्धित निर्देशक, निर्माता, कलाकार र प्राविधिकको उपस्थितिमा च्यासलस्थित सेटमा मुहूर्त सटसँगै छायांकन थालिएको निर्माता अनुरागले जानकारी दिए।
करिब एक हप्ता काठमाडौंमा छायांकनपछि चलचित्रको बाँकी काम स्याङ्जामा हुने छ। निर्देशक पौडेलका अनुसार चलचित्रमा सुरक्षा पन्त, आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाइँ, सिरु विष्ट, उद्वव सापकोटा, सन्ध्या राना, सविता रेग्मी, सविन कट्टेल, विकास खनाल लगायतको अभिनय रहने छ। निर्माता अनुरागले ‘क्रिएटिभ डाइरेक्टर’को भूमिकासमेत निर्वाह गर्नुेछन्।
‘दर्शकको अपेक्षा बढेको मैले महसुस गरेको छ, सोहीअनुसार विषयवस्तु तयार गरेको छु। दर्शकको मन छुने चलचित्र तयार गर्न कुनै सम्झौता गर्ने छैन,’ निर्देशक पौडेलले भने। महिला प्रधान रहने यस चलचित्रमा सुरक्षा पन्तको मुख्य भूमिका रहने छ। नरदेवी फिल्मस्को प्रस्तुति रहेको उक्त चलचित्रमा बाबु श्रेष्ठको ‘डिओपी’ र सुरेन्द्र पौडेलको सम्पादन रहने छ।
रिदम कँडेल र आशिष अविरलको संगीत रहने चलचित्रमा ‘कास्टिङ डिरेक्टर’ को भूमिका सुवलमणि सापकोटाको हुनेछ। निर्देशक पौडेलका अनुसार ‘कोसे ढुंगा’ २०८२ सालमा रिलिज हुनेछ। रासस