काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा सुर्खेत सिम्ता गाउँपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-२९ बस्ने ३७ वर्षीय ईन्द्र बहादुर केसी र बारा करैयामाई गाउँपालिका-१ घर भई हाल काठमाडौं महानगरपालिका-१६ ढुगेधारा बस्ने ४६ वर्षीय बिशुनदयाल चौधरी रहेका छन्।
पक्राउ मध्ये ईन्द्र बहादुरले ग्रीस पठाइदिन्छु भन्दै ३ जनाबाट २४ लाख रूपैयाँ लिएको अनुसन्धानका क्रममा देखिएको छ। यस्तै, बिशुनदयालले स्वीडेन पठाइदिन्छु भन्दै १ जनाबाट ४ लाख ४० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको खुलेको छ
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई उपत्यकाको विभिन्न स्थानबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ।