चार वर्षपछि फेरि उही ठाउँमा उभिएको छु। २ हजार ८०० मिटर उचाइमा रहेको कालापानीमा हावाको बेग उस्तै छ, तीव्र। कच्ची सडकमा धुलोले हैरान बनाउन छाडेको भने छैन। पानी परेको छैन, न हिउँ। सुक्खा छ मौसम चार वर्षअघि जस्तै।
करिब ३ हजार १५० मिटर उचाइको शैलुङ डाँडा पुग्नेहरुका लागि यही कालापानी ‘बेस क्याप’ हो। ‘बेस क्याम्प’ भनिरहँदा चार वर्ष अघिसम्म यो भेगमा कुनै भौतिक पूर्वाधार थिएन। एक दुई साना काठका एकतले घर थिए, चिया बेच्ने। अहिले भने अवस्था फेरिएको छ। करिब आधार दर्जन पक्की घर बनिसकेका छन्। थप घर बन्ने प्रक्रियामा छन्। यी सबै घरहरुमा होटल खोलिएका छन्, कालापानी पुग्नेहरुको सहजताका लागि।
पहिला मुडेसम्ममात्रै सडक पक्की थियो। मुडेबाट ओरालो लागेपछि ‘अफ रोड’। अहिले मुडे कटिसके पछि पनि पक्की बाटोको साथ छ। कालापानीसम्मै भने पक्की सडक बनेको छैन। तर, बाटो यात्राका लागि कष्टपूर्ण छैन। सडक पक्की गर्नका लागि अन्तिम चरणका कामहरु भइरहेको छ। इभी गाडीहरुसहित मानिस कालापानीसम्म उक्लिरहेका छन् अहिले।
कालापानीमा भौतिक पूर्वाधार नहुँदा मानिसहरु मुडे, देउराली, भैसेंतिर बस्थे पहिला। अनि सबेरै कालापानी उक्लेर फेरि शैलुङको उकालो यात्रा सुरु गर्थे। अहिले कालापानीमै बस्ने,खाने सुविधा छ।
अहिले रातको समयमा कालापानी पुगेर बिहानै शैलुङ उक्लन सकिन्छ। शुक्रबार, शनिबार र अन्य सार्वजनिक बिदाका दिन यहाँका होटलहरु भरिभराउ नै हुन्छन्। काठमाडौंबाट स्कुटर र बाइकमै युवायुवती बिदा मनाउन यहाँ पुग्ने ट्रेन्ड बढ्दो छ।
‘अहिले शुक्रबार, शनिबार त मान्छे थामिनसक्नु हुन्छन्,’ एक व्यवसायीले भने। पक्की घर र होटलहरु खोल्ने क्रम बढे पनि बिदाको दिन शैलुङ पुग्नेलाई ती काफी छैनन्। त्यसैले कोठा पाउने आसमा पुग्नेहरु केही फेरि ओरालो लाग्न बाध्य हुन्छन् अहिले पनि। बनिरहेका थप संरचनाले आउने केही वर्षमा यो अवस्था नदेखिने संकेत गर्छ। तर, थप पर्यटकलाई तान्न होटल व्यवस्थापनमा भने अलि मिहिनेत आवश्यक छ।
कालापानीमा अहिले ह्वात्तै आन्तरिक पर्यटक पुग्ने पछि शैलुङको डाँडामा पुग्ने लक्ष्य त छ नै। अहिले पर्यटकको यो ‘ट्रेन्ड’लाई बढावा दिएको छ त्यहाँ बनेको ‘मिनी ग्रेटवाल’ले।
चीनको ‘ग्रेटवाल’को नक्कल गर्दै नेपालका विभिन्न डाँडामा भ्युटावरपछि ‘ग्रेटवाल’ बनाउने प्रतिस्पर्धा छ। यसले त्यहाँको मौलिकतामा पार्ने ह्रासबारे मन्थन भइरहँदा शैलुङको ‘मिनी ग्रेटवाल’ले भने त्यहाँ थप सम्भावना उजागर गरेको महसुस भयो। यद्यपि, यसको औचित्यबारे बहस भने जारी नै रहला।
कालापानीमै रहेको प्रवेशविन्दुबाट सुरु हुने मिनी ग्रेटवाल करिब ५०० मिटर लामो छ। यसले पुरानो हिँड्ने रुट बिगारेको छैन। तर, धेरै जना भने करिब १०-१५ मिनेट हिँडेरै ग्रेटवालमा घुम्न मन पराउँछन्। ग्रेटवाल सकिएपछि पुरानै रुटबाट हिँडेर उक्लिनुपर्छ।
संघीय सरकारअन्तर्गत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ३ करोड ५० लाख र शैलुङ गाउँपालिकाले १ करोड ५० लाख रुपैयाँ लगानीमा यहाँ मिनी ग्रेटवाल बनेको हो।
‘अहिले शैलुङसम्म धेरै पर्यटक आउनुको कारण मिनी ग्रेटवाल पनि हो। यसले यहाँ थप सम्भावना उजागर गरेको छ,’ ती व्यवसायीले भने।
अन्य स्थानमा बनेका यस्ता पूर्वाधारको दाँजोमा यहाँको ग्रेटवालले स्थानीय अर्थतन्त्र उकास्न सहयोग पुग्ने देखिएको छ। काठमाडौंबाट नजिक र सानै भए पनि सुन्दर देखिने ग्रेटवालसम्मको सहजता यसको मुख्य कारण हो। यति भनिरहँदा ग्रेटवालकै कारण शैलुङको वास्वतिक सुन्दरता र ऐतिहासिकता मेटिन दिन भने हुँदैन। र, कुनै अध्ययन र सम्भावना अध्ययनबिना ‘ग्रेटवाल’ बनाउने चलनमा पनि ब्रेक लाग्नुपर्ने बेला भने भइसकेको छ।
थुम्को नै थुम्कोमाथि उक्लिँदै गर्दा हिमालहरु छर्लंगै देखिन्छ शैलुङबाट। महाभारत पर्वत शृंखलाको उच्च भागमध्येमा मानिने शैलुङ डाँडाबाट गौरीशंकर, धौलागिरी, अन्नपूर्ण, मनास्लु, गणेश लगायतका हिमाल छर्लंगै देख्न सकिन्छ। मौसमले साथ दिए सगरमाथा पनि देखिने। तर, यसपटक भने हिमालहरु हिउँविहीन बनेको देखियो।
चार वर्षअघि शैलुङ डाँडा पुग्दा चित्त नबुझेको कुरा भनेको डाँडामै बनाइएको भ्युटावर थियो। अहिले भने भ्युटावरसँगै फेरि फलामे भर्याङ थपिएको रहेछ। कसलाई के भन्ने?
शैलुङको विशेषता भनेको मौसमअनुसार यहाँका थुम्काहरुमा आउने परिवर्तन हुन्। यो समयमा थुम्काहरु सुक्खा देखिएका छन्। मौसमी प्रणालीले साथ दिए अब केही समयमा नै थुम्काहरु हिउँले सेताम्मे हुनेछन्। हिउँ खेल्न पनि यहाँ मानिसहरु धेरै पुग्ने गर्छन्।
चैत-वैशाख महिनामा भने यहाँका डाँडाभरी गुराँस र चिमलहरू फूल्छन्। भदौ-असोज महिनामा विभिन्न प्रजातिका भुइँमा फूलहरू फुल्छन्। सबै थुम्कामा फूलहरू ढकमक हुने त्यो बेला चौरी, भेडा, बाख्राहरू यहाँ चर्न आउने स्थानीय बताउँछन्। यसरी हरेक सिजनमा रुप र शैली फेरिरहन्छ शैलुङले। त्यसैले यहाँको यात्रा एकपटकमा कहिल्यै पूरा हुन नसक्ने रहेछ। मेरो यात्रा भने दुवै पटक एकै मौसममा रह्यो।
प्रकृतिको अनौठो र आश्चर्य पार्ने खालको बनोट र धार्मिक सांस्कृतिक इतिहास बोकेको हिन्दु र बौद्ध धर्मावलम्बीहरूका लागि पवित्र क्षेत्र समेत हो। पाँचौं बुद्ध पद्मसम्भव लामो समय शैलुङमा बसेर तपस्या गरेको भन्ने पनि कथा रहेछ। यस्तै, शाक्यमुनि गौतम बुद्ध नमोबुद्ध हुँदै शैलुङ आएको र हलेसी हुँदै भारत गएको कथन पनि रहेछ।
हिन्दु धर्मावलम्बीहरूका अनुसार शैलुङ पर्वतमा ऋषिमुनीहरू तपस्या गर्थे। कलियुग सुरु हुन लागेपछि तपस्या गरेर बसेका ऋषिहरू विलीन भए। ऋषि विलीन भएको प्रत्येक ठाउँमा थुम्काहरू निर्माण भएको किम्बदन्ती समेत रहेछ।
यससँगै शैलुङ पर्वतलाई महादेवको वासस्थानका रुपमा समेत लिने गरिन्छ। १२ वर्षमा गोदावरी फुल्ने गुफा, शैलुङ्गेश्वरी देवी भगवती, डाँफे ढुंगा, पृथ्वीको नाइटो, बुद्धको पाइला। यस्ता विभिन्न धार्मिक सांस्कृति पवित्र स्थानहरू छन् यहीँ छन्।
गुप्तेश्वर महादेव रहेको गुफादेखि धर्मद्वारसम्मको आफ्नै धार्मिक महत्त्व सुनाउँदा प्रकृतिसँगै साँस्कृतिक हैसियत पनि निकै अग्लो अनुभूति हुन्छ।
शैलुङ आफैंमा पुरानो पर्यटकीय गन्तव्य हो। कुन्ती मोक्तानको ‘माथि माथि शैलुङेमा चौरी डुलाउनेलाई’ भन्ने गीत त अधिकांशले सुनैकै होलान्। यहाँका ऐतिहासिक र धार्मिक स्थलहरुको प्रचारप्रसार गर्न सकिए यो ठाउँमा पर्यटकको बसाइँ लम्ब्याउन सकिने आधारहरु छन्।
अहिले यो ठाउँमा आन्तरिक पर्यटकको आउजाउ बढी देखिन्छ। यहाँ बाह्य पर्यटक तान्ने आधारहरु पनि थुप्रै छन्। त्यसका लागि पनि काम गर्न सके आउने केही वर्षमा यहाँको विकासले थप फड्को मार्नेछ। यति भनिरहँदा पर्यटकको ओइरो लाग्दै गर्दा थुम्कैपिच्छे फोहोर पनि बढ्दो छ। जताततै प्लास्टिकका प्याकेट, बोटल फ्यालिएका छन्।
सहरबाट घुम्न निस्किने अनि यस्ता स्थानमा फोहोर गर्न हुन्न भनेर त त्यहाँ पुग्ने पर्यटकहरुले नै सोच्नु पर्ने हो नि !