BIZMANDU
www.bizmandu.com

गभर्नर कांग्रेसलाई दिएर प्रमुख निर्वाचन आयुक्त एमालेले राख्ने, रणनीति फेरिए को बन्ला गभर्नर?

२०८१ फागुन ९

गभर्नर कांग्रेसलाई दिएर प्रमुख निर्वाचन आयुक्त एमालेले राख्ने, रणनीति फेरिए को बन्ला गभर्नर?
गभर्नर कांग्रेसलाई दिएर प्रमुख निर्वाचन आयुक्त एमालेले राख्ने, रणनीति फेरिए को बन्ला गभर्नर?


काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको पाँच वर्षे कार्यकाल सकिनै लाग्दा सत्तारुढ एमाले र कांग्रेस दुवै दलका इच्छुकहरू बालुवाटारदेखि पार्टी कार्यालयसम्म धाउन थालेका छन्। 

Tata
GBIME
NLIC

विशेषगरी एमाले निकटका व्यक्तिहरू पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीदेखि सभामुख देवराज घिमिरेसम्मलाई भेट्न पुगेका छन्। 

कांग्रेस निकटका व्यक्तिहरूले पार्टी सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणादेखि पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत र महामन्त्री गगन थापासम्मको ढोका ढक्ढकाइरहेका छन्।

तर यो खेल अचानक अप्रत्याशित मोडमा पुगेको छ। गभर्नर अधिकारीको कार्यकाल चैत अन्तिम साता सकिँदैछ। त्यसको केही दिनपछि वैशाख ६ मा निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको पनि बिदाइ हुँदैछ।

एमाले अध्यक्षसमेत रहेका केपी शर्मा ओली प्रधानमन्त्री र उनका उपाध्यक्ष विष्णु पौडेल अर्थमन्त्री छन्। त्यसैले सबैलाई लागिरहेको छ- गभर्नर एमालेकै कोटाबाट नियुक्त हुनेछन्। तर, एमालेले आफ्नो रणनीति फेरेको छ। उसलाई गभर्नर होइन, निर्वाचन आयुक्त चाहिएको छ।

किन? ओली किचन क्याबिनेट स्रोतका अनुसार- कारण सरल छ। २०८४ को आम निर्वाचन कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीका रुपमा गराउने छन्। एमालेलाई थाहा छ- त्यसैले निर्वाचन आयोगको नियन्त्रण उसका लागि रणनीतिकरूपमा बढी महत्वपूर्ण हुनेछ।

त्यसैले एमाले आगामी गभर्नर कांग्रेसलाई छाड्ने मनस्थितिमा पुगेको छ। ‘संयुक्त सरकार भएकाले गिभ एण्ड टेकमै अगाडि बढ्ने हो,’ स्रोतले भन्यो, ‘एमालेले गभर्नर छाडेर प्रमुख आयुक्त लिने मनस्थिति बनाएको छ।’

अहिले गभर्नरका लागि लबिङ गर्न पुगेकाहरुलाई ओलीले बचन दिएका छैनन्। भन्ने गरेका छन्- पक्कै पनि हेरौंला नि समय आएपछि।

तर, कांग्रेस सभापति देउवाले भने घुमाउरो कुरा गरेका छैनन्। देउवा निवास बुढानिलकण्ठ पुगेका इच्छुकहरुलाई उनले ‘यस’ र ‘नो’ मै जवाफ दिने गरेका छन्।

अहिले गभर्नरका लागि राष्ट्र बैंकका बहालवाल क्याडरदेखि पूर्व क्याडरसम्म, बहालवाला बैंकरदेखि अर्थशास्त्रीसम्म लबिङमा छन्। एमालेले फेरेको भनिएको रणनीति र कांग्रेस सभापतिले दिएको भनिएको बचनलाई आधार मान्ने हो भने आगामी गभर्नर राष्ट्र बैंककै पूर्व/बहालवाल क्याडरमध्येबाट हुने देखिएको छ।

‘अरु निकायमा जे जस्तो भएपनि केन्द्रीय बैंकमा अनुभवी चाहिन्छ भन्नेमा कांग्रेस-एमाले दुवैको नेतृत्व सहमत छ,’ स्रोतको दाबी छ, ‘त्यसैले व्यापारीले बोकेको मान्छेभन्दा पनि काम गरेर देखाएको मान्छे मध्येबाटै गभर्नर हुनेछन्।’

नेपाल राष्ट्र बैंक ऐन अनुसार, सरकारले गभर्नर सिफारिस गर्न अर्थमन्त्रीको संयोजकत्वमा तीनजनाको समिति बनाउँछ। समितिले तीनजनाको नाम सिफारिस गर्छ। तीनजनामा राष्ट्र बैंकका दुईमध्ये एक डेपुटी गभर्नरलाई अनिवार्यरुपमा सिफारिस गर्नुपर्छ।

तीन जनामध्येबाट एक जनालाई मन्त्रिपरिषद्ले आगामी पाँच वर्षका लागि गभर्नर नियुक्त गर्छ। 

अहिले डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र छन्। दुबै जनाले आफ्नो लबिङ तीव्र पारिरहेका छन्। बमबहादुरले सभामुख घिमिरेको बलमा लबिङ गरिरहेका छन्। ढुंगाना भने पूर्वराष्ट्रपति भण्डारीको आडमा लबिङमा छिन्।

राष्ट्र बैंकबाट गभर्नरमा अरु दुई जनाको नाम पनि चर्चामा छ। राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठलाई गभर्नरको उम्मेदवारका रुपमा हेरिएको छ। उनीहरु दुवैजना राष्ट्र बैंकभित्र र बाहिर काबिल अधिकृतका रुपमा परिचित छन्।

राष्ट्र बैंकको सञ्चालक समितिमा रहेकाका साथै केही पूर्वकार्यकारी निर्देशकले आफू पनि गभर्नरको उम्मेदवार रहेको हल्ला फिँजाइरहेका छन्।

राष्ट्र बैंक बाहिरबाट केही बैंकरको चर्चा छ। वाणिज्य बैंकमा लामो समय काम गरेका ती बैंकरहरु राजनीतिक लबिङमा छन्। यसबाहेक पूर्वअर्थसचिवहरुको नाम पनि चर्चामा छ।

एमालेको रोजाइमा प्रमुख निर्वाचन आयुक्त परेकाले गभर्नर कांग्रेसले पाउने छ। कांग्रेसले प्रमुख आयुक्तमा दाबी गरेमा गभर्नर नियुक्ति केही पेचिलो बन्ने स्रोतको भनाइ छ।