काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा उत्तरप्रदेशको प्रयागराजमा जाने कार्यक्रम रद्द भएको छ।
उनका स्वकीय सचिव भानु देउवाले महाकुम्भमा जाने कार्यक्रम रद्द भएको पुष्टि गरे। ‘धेरै भिड हुने भएकोले जाने कार्यक्रम स्थगित भएको छ,’ उनले भने।
प्रयागराजको त्रिवेणी संगममा अब एक साता मात्रै महाकुम्भ चल्नेछ। देउवा नेपालबाट कुम्भमा सहभागी हुने सबैभन्दा हाइप्रोफाइल व्यक्ति हुने भनिएको थियो।
स्रोतका अनुसार देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्न चाहेका थिए। तर, मोदीले भेट्नका लागि समय नदिएपछि भ्रमण रद्द गरिएको हो। ‘दिल्लीहुँदै जाने भएपछि भारतीय प्रधानमन्त्री मोदीसँग भेट्न समय मिलाउन देउवाले खोजेका थिए,’ स्रोतले भन्यो, ‘उताबाट समय नआएपछि भ्रमण रद्द गरिएको हो।’
स्रोतका अनुसार परराष्ट्रमन्त्री आरजु राणा दोस्रो पटक भारत भ्रमणमा जाँदा भारतको संस्थापन पक्षले भेट्न अस्वीकार गरेको थियो।
उनकोजस्तै भेट नभएर अनावश्यक रुपमा हल्लाखल्ला हुने भन्दै देउवाले भ्रमण रोकेको स्रोतले बतायो। मोदी सरकारले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भएको सत्ता समीकरण रुचाएको छैन। त्यसैले अहिलेसम्म पनि ओलीलाई औपचारिक भ्रमणको निम्ता पनि दिएको छैन।
महाकुम्भमा भिड हुनु कुनै नौलो कुरा होइन। दैनिक करिब एक करोड मानिस एक महिनादेखि हरेक दिन प्रयागराज पुगिरहेका छन्। यसबीच देउवाले महाकुम्भमा आउने र त्यहाँ आयोजना हुने कार्यक्रममा सम्बोधन गर्ने वाचा गरेका थिए। तर, भारत जाने अन्तिम घडीमा देउवा आफ्नो ‘कमिटमेन्ट’बाट ब्याक भएका हुन्।
उता भारतमा भने देउवा आउने भनेर प्रचारप्रचार तिब्र रुपमा गरिएको छ। इन्डिया फाउन्डेसनले देउवाको पोस्टर बनाएर सामाजिक संजालमा प्रचारप्रसार थालिसकेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँगै कार्यक्रममा सहभागी हुने भनेर पोस्टर नै सार्वजनिक गरिएको थियो।
देउवासँगै अन्य देशका मन्त्री र नेताहरु ‘कुम्भ ग्लोबल समिट’मा सहभागी हुने कार्यक्रम नै तय भएको थियो।
अन्तिम समयमा स्वभाविक हुने ‘भिड’को कारण देखाएर उत्तर प्रदेन जाने कार्यक्रम रोकिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ। महाकुम्भमा भिभिआइपीका लागि भिडले कुनै पनि प्रभाव पार्दैन। उनीहरुका लागि छुट्टै व्यवस्था गरिएको छ।