BIZMANDU
www.bizmandu.com

महाकुम्भ मेलामा कांग्रेस नेताहरुको लर्को, गगन आफैं गए देउवालाई निम्ता, कम्युनिस्टहरु कता?

२०८१ फागुन ७

महाकुम्भ मेलामा कांग्रेस नेताहरुको लर्को, गगन आफैं गए देउवालाई निम्ता, कम्युनिस्टहरु कता?
महाकुम्भ मेलामा कांग्रेस नेताहरुको लर्को, गगन आफैं गए देउवालाई निम्ता, कम्युनिस्टहरु कता?


काठमाडौं। भारतको उत्तर प्रदेशस्थित प्रयागराजमा जारी महाकुम्भ मेला सकिन अब एक सातामात्र बाँकी छ। मेला सकिने दिन जति नजिकिँदैछ त्यहाँ पुग्नेहरुको संख्या पनि बढ्दो छ। महाकुम्भ मेलामा नेपालीको पनि लर्को लागेको छ।

Tata
GBIME
NLIC

भारतले यो मेलालाई आफ्नो ‘सफ्ट पावर’ प्रदर्शन गर्ने अवसर बनाएको छ। धार्मिक कूटनीति प्रयोग गर्न भारतले कुनै कसर बाँकी छाडेको छैन। यही मौकामा सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरु धमाधम प्रयागराज पुगिरहेका छन्। त्रिवेणीमा पुगेर स्नान गरिरहेको तस्विर र भिडियो उनीहरुले सामाजिक संजालमार्फत सार्वजनिक गरेका छन्।

महाकुम्भ मेलामा का‌ंग्रेस महामन्त्री गगन थापा र उनकी पत्नी डा अन्जना केसी।

कांग्रेस महामन्त्री गगन थापा पत्नी अन्जना केसीसँगै सोमबार महाकुम्भ मेला पुगेका थिए। थापाले महाकुम्भ मेलामा पुगेको फोटो सामाजिक संजालमा सेयर गरेका छन्। थापासँग उनका ससुरा एवं कांग्रेस नेता अर्जुननरसिंह केसी पनि गएका थिए।

यस्तै, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत पनि महाकुम्भ मेला पुगेर फर्केका छन्। ‘कुम्भमेलामा पहिलोचोटी पुगेको हुँ। असाध्यै राम्रो लाग्यो। अझै बस्न मन थियो तर समय पुगेन,’ कांग्रेस प्रवक्ता महतले भने।

प्रयागराजमा ४५ दिन चल्ने महाकुम्भ मेलामा अब कांग्रेस सभापति शेरबहादुर देउवा पुग्दैछन्। नेपालबाट प्रयागराजमा पुग्ने सम्भवत: देउवा सबैभन्दा वरिष्ठ तहका नेता हुनेछन्।

महाकुम्भ मेलामा कांग्रेस प्रवक्ता डा प्रकाशशरत महत

इन्डिया फाउन्डेसनले शुक्रबार र शनिबार ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एन्ड सस्टेनिबिलिटी’ कार्यक्रम तय गरेको छ। उक्त कार्यक्रममा देउवाले वक्ताका रुपमा सहभागिता जनाउने आयोजकले जनाएको छ।

कार्यक्रममा भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि सहभागी हुने तालिका छ।

प्रयागराजमा अन्य कांग्रेस नेता र कार्यकर्ताको उपस्थिति बढ्दो छ।

‘हामी हाम्रो धर्म संस्कारमा विश्वास गर्छौ। कांग्रेसका जिल्लादेखि केन्द्रबाट पनि सहभागी भएको देखेको छु। सबै आआफ्नो हिसाबमा जानुभएको हो,’ प्रवक्ता महतले भने।

दुई देशका नागरिकले एकअर्काको तीर्थमा जाने चलन पहिलेदेखि भएकोले यसलाई राजनीतिक रंग दिन नहुने उनी बताउँछन्।

‘साँस्कृतिक र धार्मिक विश्वास हो। एकअर्काको तीर्थमा आउजाउ चलिरहेकै छ। यसलाई राजनीतिक रुपमै लिनपर्छ भन्ने छैन,’ महतले भने।

कांग्रेस नेताहरुको कुम्भ मेलामा लर्कोकै कारण प्रतिनिधि सभाको बैठक फागुन ११ गते बस्ने गरी स्थगित गरिएको छ। कांग्रेसले आफ्ना सांसदहरु कुम्भ मेलामा गएको र फर्किन समय लाग्ने बताएकाले अध्यादेश स्वीकृतिका लागि संसद्‍मा प्रस्तुत गरिएको छैन।

के छ कम्युनिस्ट नेताहरुको तयारी ?

कांग्रेस नेताहरु प्रयागराज पुगिरहँदा कम्युनिष्ट नेताहरुको चर्चा भने देखिँदैन।

सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेका नेताहरु महाकुम्भ मेलामा सहभागी हुने कुनै तयारी नरहेको प्रमुख सचेतक महेश बर्तौलाले बताए। ‘मसँग कुनै सांसदले पनि कुम्भमेला जाने भनेर भन्नु भएको छैन,’ प्रमुख सचेतक बर्तौलाले भने।

सरकारबाट कोही सहभागी हुँदैछन् भन्ने विषयमा पनि आफूलाई कुनै जानकारी नभएको बर्तौलाले सुनाए। ‘कांग्रेस नेताहरु धमाधम पुगेको हामीले पनि सुनेका हौं। हाम्रोमा कुम्भमेला जाने भन्ने कुनै तयारी नै छैन,’ उनले भने।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने केन्द्रीयस्तरबाट सहभागीको विषयमा कुनै जानकारी नभएको तर स्थानीय तहका नेताहरु कुम्भमेला पुगिरहेको बताए।

‘तराई क्षेत्रका स्थानीय नेताहरु महाकुम्भ मेलामा पुगिरहनुभएको छ। केन्द्रीयस्तरका नेताहरु सहभागी हुने कुनै तयारी छैन,’ ज्ञवालीले भने।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री रहेका बेला २०८० जेड तेस्रो साता गरेको भारत भ्रमणमा मध्यप्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए।

त्यतिखेर गेरुवस्त्र धारण गरेर धार्मिक अवतारमा उत्रिएका प्रचण्ड पनि महाकुम्भ मेलामा पुग्दैछन् कि?

‘कुम्भमेलामा हाम्रो अध्यक्ष? कोही जाँदैनन्। कोही नेता गएका पनि छैनन्,’ माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने।

एकपटक मन्दिर पुगेको भन्दैमा सधैं जाने भन्ने कुरा नहुने पाण्डेले बताए। ‘पहिले प्रधानमन्त्री भएको बेला एकचोटी पूजा गर्‍यो भन्दैमा सधैं जानुहुन्छ भन्ने होइन,’ पाण्डेले भने, ‘कुम्भ मेला जाने भनेको उही भैंसी पूजामा गयो भनेजस्तो हो।’

कम्युनिस्ट पार्टीमा धर्म मान्नुहुन्न भन्ने स्कुलिङ छ।

भुटानका राजा जिग्मे खेसर नामग्याल वाङचुकले माघ २१ गते कुम्भमेला पुगेर डुबुल्की मारेका थिए। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्दै गंगासम्मै लगेर गंगा पूजा र आरती गराएका थिए।

पुस २९ गते सुरु भएको महाकुम्भ फागुन १४ गतेसम्म चल्नेछ। गंगा, यमुना र अदृश्य सरस्वती नदीको त्रिवेणी संगममा यस अवधिभर १५ लाख विदेशीसहित ४५ करोड मानिस पुग्ने अनुमान भारत सरकारको छ।