BIZMANDU
www.bizmandu.com

साइबर अपराधमा संस्थागत उजुरी पनि बढ्न थाल्यो, दुई वर्ष यता पुरुषको निवेदन धेरै

२०८१ फागुन ६

साइबर अपराधमा संस्थागत उजुरी पनि बढ्न थाल्यो, दुई वर्ष यता पुरुषको निवेदन धेरै
साइबर अपराधमा संस्थागत उजुरी पनि बढ्न थाल्यो, दुई वर्ष यता पुरुषको निवेदन धेरै


काठमाडौं । प्रविधिको प्रयोग बढेसँगै यसको दुरुपयोग गर्ने क्रम पनि बढ्दै गइरहेको छ। नेपाल प्रहरीको साइबर ब्युरोमा दैनिक ५० वटा भन्दा बढी उजुरीहरू पर्न थालेका छन्।

Tata
GBIME
NLIC

चालु आर्थिक वर्षको माघ महिनासम्म मात्र १० हजार ७७६ वटा उजुरी दर्ता भएका छन्। ब्युरो स्थापनापछि उजुरी दर्ता गर्नेको संख्या थप बढ्दै गएको हो।

गएको आर्थिक वर्षमा १९ हजार ७३० वटा निवेदन दर्ता भएका थिए। त्यस्तै, आर्थिक वर्ष २०७५/७६ मा ३५७ वटा निवेदन दर्ता भएको गृह मन्त्रालयलका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।

आर्थिक वर्ष २०७६/७७ मा २ हजार ३०१ वटा निवेदन परेका थिए। २०७७/७८मा यो संख्या बढेर ३ हजार ८०६ पुगेको थियो। त्यसपछि प्रत्येक आर्थिक वर्षमा उजुरीको संख्या उकालो लाग्दै गएको देखिन्छ।

२०७८/७९ मा ४ हजार ६८६ निवेदन परे। त्यस्तै, २०७९/८० मा दोब्बरले बढेर निवेदनको संख्या ९ हजार १३ वटा पुगेको थियो। आर्थिक वर्ष २०८०/८१मा दोब्बर भन्दा बढीले बढेर १९ हजार ७३० पुगेको हो।

प्रहरीका अनुसार पछिल्लो समय साइबर अपराधको अनुसन्धान प्रहरीको लागि चुनौतीको विषय बनेको छ।

यसरी प्रहरीको तथ्यांक हेर्दा सबैभन्दा धेरै महिला पीडित भएर उजुरी दिएको पाइन्छ। गएको आर्थिक वर्षमा भने उजुरी दिनेको संख्या थोरैले पुरुष बढी रहेको छ।

९ हजार ८३६ जना पुरुषले निवेदन दिँदा ९ हजार १२७ जना महिलाको आवेदन परेको तथ्यांकले देखाउँछ। चालु आर्थिक वर्षमा पनि निवेदन दिनेमा पुरुष नै बढी रहेको देखिन्छ। तर, त्यसभन्दा अघिका आर्थिक वर्षमा महिलाको निवेदन धेरै परेको छ।

पछिल्लो आर्थिक वर्षमा विभिन्न संस्थाले पनि साइबर अपराधमा निवेदन दिएको पाइन्छ। चालु आर्थिक वर्षमा २५९ वटा संस्थाको उजुरी प्रहरी कहाँ परेको छ। अघिल्लो आर्थिक वर्षमा यो संख्या  ७६७ वटा थियो।

साइबर अपराधमा सामाजिक संजालको प्रयोग व्यापक भएको देखिन्छ। सबै भन्दा धेरै फेसबुक र इन्ट्राग्रामको प्रयोग भएको देखिएको छ।

चालु आर्थिक वर्षमा भएका घटनामध्ये ६ हजार १०१ वटा फेसबुक प्रयोगबाट भएका छन्। त्यस्तै इन्ट्रग्रामबाट १ हजार ८८४ वटा रहेको देखिन्छ। ह्वाट्सएपबाट १ हजार २५६ र टिकटकबाट ९ सय ६१ वटा रहेका छन्।