काठमाडौं। तरलता (लगानीयोग्य रकम) पर्याप्त रहेको अवस्थामा समेत पुँजीकोषको दबाबका कारण थप ऋण लगानी गर्न नसक्ने स्थितिमा रहेका बैंक तथा वित्तीय संस्थाहरु यतिखेर दुविधामा देखिएका छन्।
पुँजीकोषको समस्या समाधानका लागि राष्ट्र बैंकले अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिए पनि बैंकहरु भने रिकभरीपछि समस्या समाधान हुने भन्दै अहिले द्विविधामा देखिएका हुन्।
उनीहरुलाई अहिले परेको मुख्य समस्या हो, अग्राधिकार सेयर जारी नगरौं- थप ऋण लगानी गर्ने अवस्था छैन। अग्राधिकार सेयर जारी गरौं- रिकभरीपछि पुँजी छ्यालब्याल हुन्छ।
त्यही कारण खासगरी अहिले पुँजीकोषको दबाबमा रहेका बैंकहरु ऋणको माग बढ्न नसकेको अवस्थामा अग्राधिकार सेयर जारी गर्ने/नगर्ने दुविधामा देखिएका हुन्।
हाल बैंक तथा वित्तीय संस्थाहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) हेर्दा प्रणालीमा ६ अर्ब रुपैयाँभन्दा बढी तरलता देखिन्छ। माघ मसान्तसम्म औसत सीडी रेसियो ७९.६३ प्रतिशत छ। यसले बैंकहरुमा लगानी योग्य रकम थुप्रिएको प्रष्ट गर्छ।
तरलता थुप्रिए पनि पुँजीकोष दबाबका कारण थप लगानी गर्न नसक्ने अवस्था रहेका बैंकहरु असुली पर्खिने वा राष्ट्र बैंकले दिएको सुविधा प्रयोग गर्ने भन्नेमा अन्योलको अवस्थामा छन्।
आर्थिक गतिविधि सुस्त भएका कारण असुली बिग्रिएर बढेको खराब कर्जाले अहिले अधिकांश बैंकहरुलाई पुँजीकोषको चाप छ। असुली सुधार भएर खराब कर्जा घटेपछि बैंकहरुसँगै फण्ड रिभर्स हुन्छ।
‘धेरै बैंकहरुलाई अहिले पुँजीकोषमा चाप छ। पुँजीकोषले गर्दा थप कर्जा लगानी बढाउन सक्ने स्थिति छैन,’ एक बैंकका सीइओले भने, ‘खराब कर्जा बढेर पुँजीकोषमा चाप परेको हो। त्यसैले कर्जा लगानी बढाउनका लागि हामीसँग अग्राधिकार सेयर जारी गरेर पुँजी जुटाउने अवसर छ। तर यो सुविधा प्रयोग गर्ने कि नगर्ने भन्ने अन्योलमा छौं।’
सीडी रेसियो ७० प्रतिशत हाराहारीमा हुने बैंकहरु समेत अहिले पुँजीकोषका कारण थप लगानी गर्न सक्ने अवस्थामा छैनन्।
‘पुँजी बढाइ हालौं कर्जाको माग बढ्न सकेको छैन। नबढाऔं थप लगानी गर्न पैसा छैन,’ ती सीइओले बिजमाण्डूसँग भने, ‘भोलि खराब कर्जा सुधार भयो भने पुँजी त्यसबाट आइहाल्छ। अहिले असुली बिग्रिएर खराब कर्जा बढेकाले पुँजी रिजर्भबाट घटाउनु परेको अवस्था हो। असुली सुधार हुनासाथ त्यो रिभर्स भएर फेरि नाफामा आउँछ। तर आर्थिक अवस्था सुध्रिएन र असुली प्रभावित भइरह्यो भने लगानी विस्तार गर्न सक्ने अवस्था हुँदैन। त्यसैले हामी अहिले कन्फ्युजनको अवस्थामा छौं।’
चालु आर्थिक वर्ष पुस मसान्तसम्म वाणिज्य बैंकहरुको प्राथमिक पुँजीकोष अनुपात ९.५३ प्रतिशत र विकास बैंकहरुको ९.९० प्रतिशत छ।
क्यापिटल एडुकेसी फेर्मवर्क २०१५ अनुसार वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकहरुले पुँजीकोष साढे ८ प्रतिशत कायम गर्नपर्छ। यतिबेला करिब एक दर्जन वाणिज्य र राष्ट्रियस्तरका विकास बैंकलाई पुँजीकोषमा चाप परेको देखिन्छ।
एभरेष्ट्र बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुदेश खालिङ तरलता पर्याप्त रहेपनि पुँजीकोषको चापका कारण लगानी बढाउने स्थिति नरहेको बताउँछन्।
‘राष्ट्र बैंकले पुँजीकोषको चाप रहेका बैंकलाई अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिएको छ। तर कर्जाको माग नदेखिएका कारण बैंकहरु त्यतातर्फ हतारिएका छैनन्,’ उनले भने, ‘बैंकहरुलाई अहिले मौद्रिक उपकरणभन्दा पनि असुली बाहेकको विकल्प छैन।’
राष्ट्र बैंकले पुँजीकोषको दबाबलाई सम्बोधन गर्न मौद्रिक नीतिमार्फत अग्राधिकार सेयर जारी गर्न पाउने सुविधा दिएको छ। कामना सेवा विकास बैंकले हालै अग्राधिकार सेयर निष्कासनका लागि राष्ट्र बैंकको स्वीकृति लिएको छ।