BIZMANDU
www.bizmandu.com

बीमा प्राधिकरणको अध्यक्षमा आवेदन दिनेमध्ये यी ५ जना ‘सर्ट लिस्ट’मा, फागुन १० गते अन्तर्वार्ता

२०८१ फागुन ५

बीमा प्राधिकरणको अध्यक्षमा आवेदन दिनेमध्ये यी ५ जना ‘सर्ट लिस्ट’मा, फागुन १० गते अन्तर्वार्ता
बीमा प्राधिकरणको अध्यक्षमा आवेदन दिनेमध्ये यी ५ जना ‘सर्ट लिस्ट’मा, फागुन १० गते अन्तर्वार्ता

काठमाडौं। नेपाल बीमा प्राधिकरणको रिक्त संचालक समितिको अध्यक्ष पदका लागि आवेदन दिनेमध्ये ‘सर्ट लिस्ट’मा परेका ५ जनाको नाम सार्वजनिक भएको छ।

Tata
GBIME

‘सर्ट लिस्ट’मा पर्नेहरूमा कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाई, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझा रहेका छन्।

सर्टलिस्टमा परेकामध्ये ३ जनाको नाम अध्यक्ष नियुक्तिका लागि मन्त्रिपरिषद्‍मा पठाउनु पर्ने व्यवस्था छ। मन्त्रिपरिषद्ले सिफारिसमा परेका मध्येबाट एक जनालाई अध्यक्ष नियुक्त गर्छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिव अधिकारी संयोजक रहेको सिफारिस समितिले आइतबार निर्णय गर्दै ‘सर्ट लिस्ट’मा परेकाहरूलाई कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ताका लागि बोलाएको छ। समितिले उनीहरूलाई फागुन १० गते दिउँसो २ बजे कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाएको हो।

भ्रष्टाचार मुद्दा दायरपछि निलम्बनमा परेका अध्यक्ष सूर्य सिलवालको कार्यकाल माघ १९ गते सकिएको छ। सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिकता किर्ते गरी भ्रष्टाचार गरेको भन्दै मंसिर २३ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुद्दा दायरपछि निलम्बनमै रहेका बेला उनको कार्यकाल सकिएको थियो।

सरकारले पुस ९ गते आयोगका उपाध्यक्ष अधिकारीको संयोजकत्वमा अर्थसचिव र ज्योतिशचन्द्र ओझा सदस्य रहेको तीन सदस्यीय समिति बनाएको थियो। अहिले अर्थसचिवमा घनश्याम उपाध्याय छन्। समितिले १५ दिनको समय दिएर पुस २६ गते आवेदन आह्वान गरेकामा १२ जनाले आवेदन दिएका थिए।

प्राधिकरण अध्यक्षका लागि प्राधिकरणका कार्यकारी निर्देशक कमलप्रसाद रेग्मी, प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईं, कृषि विकास बैंकका अध्यक्ष रामशरण पुडासैनी, नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक डिमप्रकाश पौडेलले आवेदन दिएका थिए।

यस्तै, स्वास्थ्य बीमा बोर्डका पूर्व कार्यकारी निर्देशक दामोदर बसौला, नागरिक लगानी कोषका पूर्व कार्यकारी निर्देशक रमण नेपाल, डा. देवराज रोका, बुद्धकाजी श्रेष्ठ, विनोदकाजी श्रेष्ठ, विष्णुबाबु मिश्र, विक्रान्त पाण्डे र शरद ओझाको आवेदन परेको थियो।