काठमाडौं । शनिबार ललितपुरमा मेयर्स कप अन्तरविद्यालय रोबोटिक्स प्रतियोगिता सम्पन्न भएको छ। ललितपुर महानगरपालिकासँगको सहकार्यमा साझा शिक्षा ई-पाटी नेपालले यो प्रतियोगिता आयोजना गरेको हो।
सो प्रतियोगितामा महानगरभित्रका विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगिता दुईवटा विधामा खेलाइएको थियो।
पहिलो विधामा १० वटा विद्यालयका विद्यार्थीहरूले आफैँले बनाएर ल्याएका रोबोटिक्स प्रोग्रामिङका विभिन्न मोडलहरूको प्रदर्शनी गरेका थिए। रोबोटिक्स प्रर्दशनीमा श्री श्रमिक बालविज्ञान आधारभुत माध्यमिक विद्यालय, हिन्दु विद्यापिठ नेपाल विद्यालय र बालबिनोद माध्यमिक विद्यालय क्रमश: प्रथम, द्वितीय र तृतीय भए।
दोस्रो विधामा ९ वटा विद्यालयका विद्यार्थीहरू सहभागी भएका थिए। प्रतियोगिता स्थलमा नै दिइएको चुनौतीलाई कोडिङ् गरेर स्वचालित मोडलमा उनीहरुबीच प्रतिष्पर्धा भएको थियो। दिइएको चुनौती प्रतियोगिताका लागि हरेक विद्यालयलाई अलग्गै स्थान, रोबोटिक्स किट र समय उपलव्ध गराइएको थियो। रोबोटिक्स प्रतियोगितामा ललित कल्याण आधारभुत विद्यालय, हरिसिद्धि माध्यमिक विद्यालय र हिन्दु विद्यापिठ नेपाल विद्यालय क्रमश: प्रथम, द्वितीय र तृतीय भए।
तोकिएको समयावधि भित्र तयार पारिएका मोडल, कोडिङ, समूह कार्य, प्रस्तुति आदिका आधारमा रोबोटिक्सका क्षेत्रमा कार्यरत विज्ञ रहेको निर्णायकहरूको टोलीले दुवै प्रतियोगितामा उत्कृष्ट ठहरिएका विद्यालय तथा विद्यार्थीहरूलाई पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो।
साझा शिक्षा ई-पाटी नेपालले विगत १७ वर्षदेखि शिक्षण सिकाइमा प्रविधि प्रयोगको क्षेत्रमा काम गरिरहेको छ। नेपालका शिक्षा प्रणालीमा केन्द्रित निकायहरूसँग साझेदारी गरेर सो संस्थाले विभिन्न विद्यालयमा प्रविधि शिक्षामा आधारित सिकाइ प्रदान गर्दै आएको छ।
संस्थाले ललितपुर महानगरपालिका भित्रका १२ वटा विद्यालयहरूमा ४५ वटा रोवोटिक्स किट उपलब्ध गराइ सकेको छ। शिक्षकहरूलाई तालिम र विद्यार्थीहरूलाई निरन्तर सहयोग पनि गर्दै आएको संस्थाले जनाएको छ। विद्यालयहरुमा रोबोटिक्स प्रोग्रामिङ र यसको सिकाइमा प्रतिस्पर्धा गराएर विद्यार्थीहरूमा थप उर्जा प्रदान गर्ने कार्यमा संस्थाको प्राविधिक सहयोग छ। यस्तै, ललितपुर महानगरपालिका र सिटीनेट प्लस आर्ट्स जापानको सहयोग र केडीडीआई फाउन्डेसन जापानको आर्थिक सहयोग रहेको छ।
यस्तै, १२ वटा विद्यालयका ३ जना शिक्षकलाई रोबोटिक्स प्रोग्रामिङको महत्त्व र प्रयोग सम्बन्धी तालिम उपलब्ध गराएको संस्थानले जनाएको छ। विद्यालयहरूमा आवश्यक रोबोटिक्स किट उपलब्ध गराउनुका साथै तालिम प्राप्त शिक्षकहरूले कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरूलाई यसको प्रयोग, डिजाइन तथा कोडिङ विधि सिकाउने काम गरिँदैछ।