BIZMANDU
www.bizmandu.com

के पैसा साँच्चै बोल्छ? सेयर र बैंकिङ स्क्यामको खेलोफड्को फिल्म ‘लक्की भास्कर’

२०८१ फागुन ३

के पैसा साँच्चै बोल्छ? सेयर र बैंकिङ स्क्यामको खेलोफड्को फिल्म ‘लक्की भास्कर’
के पैसा साँच्चै बोल्छ? सेयर र बैंकिङ स्क्यामको खेलोफड्को फिल्म ‘लक्की भास्कर’


बैंक सधैं सुरक्षित हुन्छ? भल्टका पैसा तलमाथि हुन्छ हुँदैन? यो आम चासोको विषय मात्रै होइन स्वयम् बैंक सञ्चालक, व्यवस्थापकलाई पनि सतर्क गराइरहने विषय हो। एक जना कर्मचारीको नियत फरक पर्‍यो भने बैंकको पैसामाथि के केसम्म हुन सक्छ भन्ने कथा फिल्म ‘लक्की भास्कर’ले देखाउँछ।

Tata
GBIME
NLIC

हिन्दीमा चर्चित भनाइ छ – ‘पैसा बोलता है ।’ फिल्म ‘लक्की भास्कर’को एउटा प्लटले यही उक्तिलाई पुष्टि गर्छ – टन्न पैसा भए पनि सस्तो गाडीमा गहना किन्न पुग्नेलाई कसैले भाउ दिँदैन। जब तिनै व्यक्ति ‘हाइ-इन्ड’ एसयुभीमा त्यही पसलमा पुग्छन्- अदबका साथ उभिन्छन् कर्मचारी। विशिष्ट कक्ष उपलब्ध गराउन तयार हुन्छन् ज्वेलरी संचालक। आखिर पैसाले बोल्ने भाषा यही नै त हो।

कथा सन् १९८९ को बम्बे अर्थात् मुम्बईबाट सुरु हुन्छ, जहाँ फिल्मका शीर्ष पात्र भास्कर कुमार समुद्र किनारमा मर्निङवाक गर्दै भन्छन्, ‘यो जीवन जति सहज देखिन्छ त्यति सहज हुँदैन। समस्या आइरहन्छन्।’ यत्तिकैमा अनि दर्शक देख्छन् भास्कर कुमारलाई सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सीबीआइ)को एउटा टोलीले नियन्त्रणमा लिन्छ र त्यो बैंकमा लैजान्छ, जहाँ कुनै समय उनी क्यासियर पदमा नोकरी गर्थे। त्यहाँ धेरै रेकर्डहरु निकालेपछि छक्क लाग्ने तथ्य बाहिर आउँछ।

एउटा सामान्य कर्मचारीको खातामा सय करोडको ठूलो राशि ! कहाँबाट आयो? उनको संदेहपूर्ण कारोबार र फैलिएको आर्थिक साम्राज्यमाथि सीबीआइले अनुसन्धान थाल्छ। त्यसपछि एक-एक गरी ‘फ्ल्यास ब्याक’मार्फत् बैंकिङ स्क्याम, सेयर मेनुपुलेसन र मनी लन्ड्रिङका किस्साहरु सतहमा आउँछन्।

दुलकर सलमान स्टारर दक्षिण भारतीय फिल्म ‘लक्की भास्कर’ बैंकिङ र सेयर मार्केटको आधारभूत जानकारी भएका जोसुकैलाई पनि रोमाञ्चित बनाउन सफल छ। निम्नमध्यम वर्गीय युवक वित्तीय घोटालाकै आधारमा कसरी पैसावाल बन्छ भन्नेमा फिल्म घुमेको छ। चर्को ऋण र त्यसबापत चुकाउनपर्ने मूल्यको सेरोफेरोमा भास्कर कुमारको कथा अगाडि बढ्छ। ‘कमाएर मात्र हुँदैन, कमाएको देखाउनु पनि पर्छ – नत्र समाजले वास्ता गर्दैन’ भन्ने भाष्य पटकपटक फिल्ममा स्थापित गरिएको छ।

मगधा बैंकका क्यासियर भास्कर कुमार दरिद्रताबाट उन्मुक्ति चाहिरहेका हुन्छन्। निजी बैंकहरु राष्ट्रियकरण भएको सन्दर्भमा उनको लक्ष्य बन्छ – पर्याप्त धन कमाउनु।

थोरै बचेका निजी बैंकमध्येको एक हो मगधा। अतिरिक्त आम्दानीका लागि भास्कर लेखपढ गर्न नसक्नेको फाराम भरिदिन्छन्, चेक तयार पारिदिन्छन्। आफ्ना सहकर्मीहरुलाई काममा सघाउँछन्। सम्पन्न घरानाकी सुमती (मिनाक्षी चौधरी)सँग बिहे गरेका भास्करको करिब ७/८ वर्षको एउटा छोरा छ, एकाउन्टेन्टको जागिरबाट रिटायर्ड पिता छन्। सामान्य प्रकारको घर छ। जीवन ऋणमा डुबेको छ।

सालाको छोराको जन्मदिन मनाउने पारिवारिक भेला हुन्छ, जहाँ भास्कर सपरिवार पुगेका हुन्छन्। सुमतीलाई आमाले विपन्न ज्वाइँसँग जीवन बिताउन गाह्रो हुने भन्दै छाड्न सल्लाह दिँदै भन्छिन् – ‘तँ किन यो भास्करको पछि लागेकी छस्? यो गरिब छ। अझै पनि केही बिग्रेको छैन तेरो दोस्रो बिहे गराइदिन्छौं।’ सुमती आमासँग रिसाउँछिन्-‘तपाइँ यो सोच्न पनि कसरी सक्नुहुन्छ?’

त्यो भेला छाडेर भास्कर, सुमती र छोरा बाहिरिन्छन्। बाटोमा खाजा खान रोकिन्छन्। तीन जनामा उनीसँग दुई मात्र बडापावलाई पुग्ने पैसा हुन्छ, अतः दुइटा मात्रै लिएको देखेर पसले भन्छ ‘एउटा मेरो तर्फबाट सितैं भो लिनुस्।’ इमानदार भास्करसँग पर्याप्त पैसा नहुनुको ठूलो सकस यहाँ देखिन्छ।

भास्करलाई ठूलो आस हुन्छ जागिरमा बढुवाको। किनभने उनी इमानदार मात्रै नभइ बैंकको सबै विभागको काममा जानकार थिए। सबैलाई सघाउँथे। आफ्नो काम इमानदारीपूर्वक गर्थे। तर, उनी बढुवामा पर्दैनन्। रीसको झोंकमा जनरल मेनेजरसँग बहस गर्छन्। कुरा बिग्रिन्छ, जीएम रिसाएर उनलाई जागिरबाटै निकालिदिने धम्की दिँदा बैंका अन्य कर्मचारीले सम्हाल्छन्।

‘यो काममा इमानदार छ। प्रमोसनका लागि ठूलो आस लगाएर बसेको थियो, नहुँदा आवेशमा आएको हो। यो धेरै ऋणमा डुबेको छ। समस्यामा छ। एक पटकलाई माफ गर्दिनुस्,’ भनेर मेनेजरलाई अन्य कर्मचारीले भन्छन्। स्थिति साम्य हुन्छ। त्यसपछिको दृश्यमा भास्कर अस्वाभाविक रूपमा शान्त देखिन्छन्। क्यासियरको आफ्नो कुर्सीमा गएर बस्छन्, पुरा समय ड्युटी गर्छन्। लाग्छ उनलाई बढुवा नहुँदाको फिक्री छैन, जीएमसँग परेको झगडाको पनि असर छैन। अनि पर्दामा देखिन्छ उनको पैसा कमाउने योजनाको तानाबाना।

दुई लाख रुपैयाँ ऋण मागिरहेका एन्थोनी नामका व्यक्तिलाई उनले मेनेजरसँगको भनाभनको घटना अघिको दृश्यसम्म ‘हुँदैन, तपाइँलाई दिन सकिँदैन’ भनिरहेका थिए। एक मनले उनी एन्थोनीलाई ऋण दिएर सहयोग गर्न पनि चाहन्थे, तर यसो गर्दा आफ्नो करिअर जोखिममा पर्ने डर थियो। कारण, ढुवानीको व्यवसाय गर्छु भनिरहेका एन्थनी ब्रान्डेड टेलिभिजन तस्करीमा जोडिएका थिए। भास्कर अब भने फरक मूडमा देखिन्छन्।

बैंकमा जम्मा भएको पैसाबाट झिकेर २ लाख एन्थोनीलाई दिन्छन्। र, बैंकले लिने ब्याज बराबरको रकम जोडेर ब्याजको स्याज आफ्ना लागि छुट्याउँछन्। पहिलो पटकको अनियमित बाटोबाट उनलाई राम्रै लाभ हुन्छ। यसले तरिका बेठिक भए पनि पैसा कमाउन यस्तो सकिन्छ भन्ने लाग्छ।

उनले फेरि फेरि त्यसै गर्छन्। तस्करलाई पैसा दिन्छन्, आफू कमिसन लिन्छन्, बैंकको भल्टबाट झिकेको पैसा फेरि त्यहीँ पुर्‍याउँछन्। अतिरिक्त आम्दानी हुँदै जाँदा विस्तारै उनको जीवनशैली फेरिन्छ। छोराको जन्मदिनमा राम्रै खर्चेर पार्टी आयोजना गर्छन्।

त्यहीँ तस्करबाट उनलाई प्रस्ताव आउँछ, टेलिभिजन जसरी नै ल्याविस कार आउँदैछन्, त्यसका लागि पैसा चाहिन्छ। तर, यसपटक दुई लाखले काम चल्दैन, १० लाख चाहिन्छ। भास्करलाई लाग्छ – ‘यो बेठीक हो, रकम पनि मामुली होइन, मैले गर्नु हुँदैन।’ सुरुवाती संवादमा अस्वीकार गर्छन्।

पार्टी सकिएपछि त्यो रात छोराको कुराले भास्करलाई भावुक बनाउँछ। ‘हामी यसरी पार्टी गर्दैनथ्यौं। साथीहरुको बर्थडे पार्टीमा पुग्दा मलाइ देखेर भन्थे उ आयो फोटकको खाने, मलाइ नरमाइलो लाग्थ्यो। आज मैले तिनीहरुलाई पार्टीमा बोलाएर मुख बन्द गरिदिएँ,’ छोराले यस्तो भनेपछि उनी जसरी पनि त आखिर पैसा नै चाहिने रहेछ भन्नेमा पुग्छन्। त्यसपछि कमाउन ती सबै काम गर्न तयार हुन्छन् जसलाई कानुनले निषेध गरेको छ। आफैं काम गरेको बैंकबाट डिपोजिट भएको रकम तस्करलाई दिन्छन्। तस्करीको सामानबाट नाफा बुक गर्छन् र झिकेको रकम पुन: बैंकको भल्टमा नै पुर्‍याउँछन्।

टेलिभिजन तस्करीपछि ल्याविस कार ल्याउन पनि त्यसरी नै बैंकको रकम चोर्छन्। कार बेचेर फेरि फिर्ता गर्छन्।

हर्षद मेहताको सेयर हेराफेरीबाट प्रभावित भास्कर अब ठूलै खेलाडी बन्न पुग्छन्। सेयरको भाउ तलमाथि पार्ने खेलाडीका रुपमा उनको उदय हुन्छ। कालोधनलाई धुलाउन उनी कहिले चिट्ठातिर लाग्छन् त कहिले श्रीमतीको व्यापार। जब जोखिमको सम्भावना देख्छन् त्यसपछि परिवारसहित लाग्छन् अमेरिकाको बोस्टन। त्यहाँ उनले होटल नै किनिसकेका हुन्छन्।

एउटा निम्नस्तरको आर्थिक हैसियतका युवक एकाएक अमेरिकी बिजनेस पर्सनमा कन्भर्ट हुँदाको कथामा आउने उतारचढावले फिल्मलाई उम्दा बनाएको छ। पैसा कमाएपछि देखिने ‘एट्टिट्युड’ गजबले रिफ्लेक्ट गरिएको छ। तेलुगु फिल्म ‘लक्की भास्कर’ लाई बेंकी एट्लुरीले निर्देशन गरेका हुन्।

फिल्ममा १९९० को दशकलाई झल्काउन सिनेमाटोग्राफर निमिष रविले कुनै कसर छाडेका छैनन्। निर्देशनसँगै एट्लुरीकै स्क्रिप्ट संरचना बलियो छ। त्यसैको असर हो ५६ करोड भारुमा निर्माण भएको फिल्मले ११२ करोडको कलेक्सन गरेको छ। गत अक्टुबर अन्तिम सातादेखि प्रदर्शनमा आएको यो फिल्मले नेट कलेक्सनमा ३३ प्रतिशत मुनाफा निकालेको छ। आफूलाई ओटीटी प्लेटफर्म नेटफ्लिक्समा बलियो दक्षिण भारतीय फिल्मका रुपमा उभ्याएको छ।

फिल्म पैसामा केन्द्रित छ। लिड रोलमा रहेका सलमानभन्दा बाहिर दृश्य जाँदैन। पैसासँगै फेमिली ड्रामा र इमोसनलाई गजबसँग प्रस्तुत गरिएको छ। भारतीय समाजमा आर्थिक रुपमा सम्पन्न र विपन्नप्रति कायम सामाजिक दृष्टिकोणलाई फिल्मले रोचक तरिकाले उतारेको छ। दक्षिण भारतीय फिल्म ‘लक्की भास्कर’ले त्यहाँको मात्र होइन पैसा जोडिएको सन्दर्भमा तपाइँ हाम्रो परिवेशको पनि भाषा बोल्छ, किनकि पैसा त आखिर जहाँ पनि बोल्छ।