BIZMANDU
www.bizmandu.com

टीआईएको ट्याक्सी वे विस्तारमा बल्ल आधा काम, ह्याङ्गर बनाउनका लागि बन्द अवधि लम्बिने

२०८१ फागुन २

टीआईएको ट्याक्सी वे विस्तारमा बल्ल आधा काम, ह्याङ्गर बनाउनका लागि बन्द अवधि लम्बिने
टीआईएको ट्याक्सी वे विस्तारमा बल्ल आधा काम, ह्याङ्गर बनाउनका लागि बन्द अवधि लम्बिने


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ट्याक्सी वे विस्तारको काम बल्ल आधा सकिएको छ।

Tata
GBIME
NLIC

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले ट्याक्सी वे विस्तारका लागि कात्तिक अन्तिम सातादेखि विमानस्थल रातिको समय बन्द गर्दै आएकामा बल्ल ५० प्रतिशत काम सकिएको हो।

क्यानका हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाका निर्देशक दीपेन्द्र श्रेष्ठले ट्याक्सी वे विस्तारको बाँकी काम चैत १८ गतेसम्म सक्ने बताए।

‘सब बेस कोर्स, ड्रेनेज, ट्याक्सी वे कलभर्ट निर्माण, एयरफिल्ड ग्राउण्ड लाइटको डक्ट जडान लगायत ५० प्रतिशत काम सकिएको छ। अब असफाल्ट ट्रिटेड, अस्फाल्ट कन्क्रिट सर्फेसको काम बाँकी छ,’ उनले भने, ‘धावनमार्गको मध्य भागबाट ७५ मिटर वरपर हुँदै आएको ट्याक्सी वे विस्तारको काम चैत १८ गतेसम्म सक्छौं।’

अहिले विमानस्थलमा दक्षिण-पश्चिमतर्फ प्यारलल ट्याक्सी वे तथा पूर्वतिर ह्याङ्गर र उत्तर-दक्षिणतर्फ इन्टरनेस्नल एप्रोन र ट्याक्सी वेको काम भइरहेको छ।

७ वटा ट्याक्सी-वेलाई धावन मार्गसँग जोड्न लागिएको छ। ट्याक्सी वे विस्तार सवा सात अर्ब लागतको योजना हो।

क्यानले ट्याक्सी वे विस्तारपछि पनि अरु कामका लागि विमानस्थल बन्द गर्नुपर्ने बताएको छ। क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले चैत १९ गतेबाट विमानस्थल रातिको समयमा दैनिक ६ घण्टा बन्द हुने र यसको जानकारी वायुसेवा प्रदायक कम्पनीलाई गराइसकेको बताए।

‘विमानस्थल परिसरभित्र ट्याक्सी वे विस्तारबाहेक पनि केही काम बाँकी नै छन्। ह्याङ्गर एरिया बनाउनुपर्नेछ,’ उनले भने, ‘हामी उडान प्रभावित नहोस् भन्नका लागि अहिलेजस्तै राति काम गर्नेछौं।’

उनका अनुसार चैत १९ गतेबाट विमानस्थल राति १२ बजेदेखि बिहान ६ बजेसम्म बन्द रहने जानकारी गराइएको छ। ट्याक्सी वे विस्तारका लागि अहिले राति ११ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द गर्ने गरिएको छ।