BIZMANDU
www.bizmandu.com

मध्यमवर्गको विदेश पलायन : सम्भावनाको ढोका खुल्दा पनि निराशामा छन् उद्योगी व्यापारी

२०८१ फागुन २

मध्यमवर्गको विदेश पलायन : सम्भावनाको ढोका खुल्दा पनि निराशामा छन् उद्योगी व्यापारी
मध्यमवर्गको विदेश पलायन : सम्भावनाको ढोका खुल्दा पनि निराशामा छन् उद्योगी व्यापारी


काठमाडौं। उपभोग गर्ने मध्यमवर्ग विदेश पलायन भएकाले व्यापार सुस्त छ। अब पूरानै अवस्थामा व्यापारको लय फर्किने सम्भावना कम छ।

Tata
GBIME

पछिल्लो दुई वर्षदेखि उद्योगी-व्यवसायीले लगातार यही विषयलाई जोडतोडका साथ उठाइरहेका छन्। समग्र व्यापारको तथ्यांक हेर्दा पनि निम्न मध्यमवर्ग र मध्यमवर्गको विदेश पलायनले उपभोग अत्यन्तै कमजोर देखिन्छ।

यसले ठूलो सम्भावना देखेर लगानी गरेका उद्योगी-व्यवसायी निराश हुनु स्वभाविक हो। तर, उद्योगीले हरेक निराशाबीच पनि आशा र सम्भावना देख्ने गर्छ। केहीले विदेशिएका नेपालीहरूका लागि बजार देख्न थालेका छन्।

उनीहरूलाई लक्षित गर्दै केही उत्पादन पनि सुरु गरेका छन्। तर, त्यो अत्यन्तै नगन्य छ। नेपाल राष्ट्र बैंककै तथ्यांक हेर्ने हो भने शिक्षा, व्यापार, रोजगारीका लागि भारतबाहेकका विभिन्न देशमा गएकाको संख्या ३२ लाखको हाराहारीमा छ।

यो संख्या घट्दो होइन बढ्दो क्रममा छ। अब विदेशिएका नेपालीलाई आवश्यक पर्ने खाद्यान्नदेखि लत्ताकपडासम्मको ठूलो बजार विस्तार भएको छ।

आयातित सामानको व्यापारमा यो पलायनले समस्या पारेपनि आन्तरिक उत्पादनका खाद्यान्न, मासुका परिकार, मौलिक लत्ताकपडा, गलैँचा, हस्तकलाको बजारलाई विदेशमा रहेका नेपाली लक्षित गरेर अगाडि बढाउन सकिन्छ। त्यसले अहिले करोडमा भएको निकासी सजिलै खर्बमा पुग्न समय लाग्दैन।

तस्बिर : नेपाली बजार लण्डन / फेसबुक

नेपालमा उत्पादित दाल, राजमा, बेसार, गेडागुडी, कोदो, फापर, मह, गुन्द्रुक, सुकुटी, अचार, मसलाको माग उच्च छ। हाइलाइफ फूडका अध्यक्ष अम्बिकाप्रसाद पौडेल विदेशमा ठूलो सम्भावना देखेर निकासी थालेको बताउँछन्।

‘विदेश गएका नेपाली हाम्रा लागि ठूलो बजार हो। त्यही देखेर हामीले उच्च गुणस्तरको खाद्यान्न उत्पादन गरेर विदेश निकासी गरिरहेका छौं,’ उनले बिजमाण्डूसँग भने, ‘हामीले स्वदेशमा उपभोग घट्यो भनेर चिन्ता गर्ने होइन विदेशमा गएका नेपाली हाम्रो ठूलो बजार हो भने त्यता ध्यान केन्द्रित गर्ने बेला हो।’

उनका अनुसार विदेश निकासीका लागि खाद्यान्नको उत्पादन भने बढाउन आवश्यक छ।

‘विदेशमा गएका नेपालीले हाम्रो मौलिक स्वाद खोजिरहेका छन्। त्यही भएर हामीले आयात गरेको खाद्यान्न पठाएर भएन,’ उनले भने, ‘त्यसैले अब हामीले व्यावसायिक कृषिलाई अघि बढाएर आफ्नो ब्राण्डमा निकासीलाई निरन्तरता दिनेतर्फ सबै पक्ष लाग्न जरुरी छ।’

हाइलाइफले आफ्ना उत्पादन १५ देशमा निकासी गरिरहेको छ। जापान, अमेरिका, अष्ट्रेलिया र कोरियाका सुपरमार्केटमा हाइलाइफका उत्पादन राखिएका छन्।

अहिले विदेशमा लोकप्रिय बनिरहेको ब्राण्ड हो, आमाको अचार। आमाको अचारका संचालक प्रकाश पाण्डे विदेशमा रहेका नेपालीलाई टार्गेट गरेर बनाएको अचारले राम्रो बजार लिन सकेको बताउँछन्।

‘हामीले नेपालीलाई लक्षित गरेर अचार बनाएर पठाइरहेका छौं। स्वदेशी उत्पादन निकासी गरेर देशभित्र डलर भित्र्याइरहेका छौं,’ उनले भने, ‘अचार मात्रै होइन अरु स्वदेशी उत्पादनको उच्च माग छ। हाम्रा लागि सम्भावनाका ढोका देशभित्र मात्रै होइन विदेशमा बढी देख्छु।’

उनका अनुसार गुन्द्रुक, मस्यौरा, सिमी, कोदो, फापर, दालमोठ लगायतका वस्तुको माग धेरै आउन थालेको छ।

‘अहिले ४० भन्दा बढी देशमा अचार, गुन्द्रुक, मस्यौरा र चिउरा लगायतका खाद्यान्न निर्यात गरिरहेका छौँ,’ पाण्डेले भने।

उनी एक्लैले वार्षिक २५ करोडको अचार लगायत सामान निकासी गर्दै आएका छन्। उनका अनुसार अचार लगायत खाद्यान्न निकासीका लागि आवश्यक कृषि उपजको भने समस्या छ।

तस्बिर : नेपाली बजार लण्डन / फेसबुक

‘हाम्रै उत्पादन भएमा त्यसले मौलिक स्वाद दिन सकिन्थ्यो। तर हामीलाई आवश्यक केही वस्तुमा भारतसँग भर पर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘कृषि क्षेत्रमा व्यावसायिक क्षेत्रले लगानी गरेमा दीर्घकालीनरुपमा निकासी गर्नसक्ने वातावरण बन्न सक्थ्यो।’

अहिले नेपालमा उत्पादन भएका चाउचाउ वाइवाइ, करेन्ट, रमपमको निकासी पनि उल्लेख्य छ। केएल दुगड समूहले ज्ञान ब्राण्डमा खाद्यान्न सामाग्री विदेश निकासी गरिरहेको छ।

नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्यले विदेशमा बसेका नेपाली हस्तकलाका लागि नयाँ बजार भएको बताए।

‘हामीले विदेशीलाई लक्षित गरेर सामान निकासी गरिरहेका छौं। बिस्तारै नेपालीको संख्या बढ्दो छ। त्यसमा पनि राम्रो कमाइ गरेका नेपाली पनि छन्,’ उनले भने, ‘हामी त्यसतर्फ पनि केन्द्रित भएर काम गर्ने सोचाईमा छौं।’

निर्यात काउन्सिलका उपाध्यक्ष हरि ढकालले विदेशमा रहेका नेपालीलाई लक्षित गरेर निकासी भइरहेपनि सरकारदेखि व्यावसायिक संस्थासम्मले अवसरको रुपमा लिनेगरी काम भने गर्न नसकेको बताउँछन्।

‘स-साना समूहले नेपालीलाई लक्षित गरेर केही सामान पठाइरहेका छन्। तर यसलाई दीर्घकालीनरुपमा हेरेर काम गरेको देखिँदैन,’ उनले भने।