काठमाडौं। पोखरा भ्रमण वर्ष शनिबार सुरु हुँदैछ। स्वदेशी र विदेशी गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित पोखरा भ्रमण वर्ष औपचारिकरुपमा सुरु गर्न लागिएको हो।
पोखरा महानगरपालिकाले भ्रमण वर्षका लागि निजी क्षेत्रसँगको सहकार्यमा दुई दर्जनभन्दा बढी कार्यक्रम बनाएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यको संयोजकत्वमा रहेको मूल आयोजक समितिले भ्रमण वर्षमा गरिने कार्यक्रमबारे जानकारी दिएको छ।
समितिका अनुसार २० लाख पर्यटक भित्र्याउन विदेशी, गैरआवासीय नेपालीहरुलाई पोखरा भ्रमण गर्न आह्वान गरिनेछ।
देशभित्रका नेपालीलाई पनि परिवारसहित पोखरा घुम्न आग्रह गर्ने समितिले जनाएको छ। विदेशी पर्यटक भित्र्याउनका लागि विकास साझेदार र विदेशी नियोगसँग समन्वय गरी संसारका विभिन्न सहरमा पोखराबारे प्रचारात्मक अभियान चलाइनेछ।
यस्तै देशका ५ र विदेशका ५ सहरसँग भगिनी सम्बन्ध कायम गर्ने योजना छ। राष्ट्रियस्तरका विभिन्न प्रतियोगिता गर्ने भनिएको छ। टुरिजम इन्भेष्टमेन्ट समिट गर्ने आयोजकको योजना छ।
नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले भ्रमण वर्ष सफल पार्न प्रचार अभियानका साथै निरन्तर कार्यक्रम गर्ने बताए।
क्षेत्रीय होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले भ्रमण वर्ष सफल पार्न पर्यटक लक्षित विभिन्न आकर्षक प्याकेज ल्याउने तयारी गरिरहेको जानकारी दिए।
उनका अनुसार संघले पोखराका सबै होटललाईवर्षभरि नै २० प्रतिशत छुट दिने व्यवस्था गर्न पत्राचार गरेको छ। पोखरामा एक हजारभन्दा धेरै होटल सञ्चालनमा छन्। ती होटलसँग दैनिक ४० हजार पर्यटकलाई सेवा दिने क्षमता छ।
भ्रमण वर्ष उद्घाटनको अवसरमा पर्यटनसँग सम्बन्धित विभिन्न१४ वटा संस्थाले तयार पारेको छुट प्याकेज सार्वजनिक गर्ने तयारी छ।