BIZMANDU
www.bizmandu.com

साइबर अपराधका होसै उडाउने घटना ! अनुसन्धानमा सामाजिक सञ्जाल कति सहयोगी ?

२०८१ फागुन १

साइबर अपराधका होसै उडाउने घटना ! अनुसन्धानमा सामाजिक सञ्जाल कति सहयोगी ?
साइबर अपराधका होसै उडाउने घटना ! अनुसन्धानमा सामाजिक सञ्जाल कति सहयोगी ?


काठमाडौं। वैदेशिक रोजगारीमा रहेकी आफ्नी पत्नीसँग पतिले ह्वाट्स एपमा कुरा गर्थे। कुराकानीबाहेक उनीहरुबीच गोप्य अंग देखिने तस्वीर/भिडियो ह्‍वाट्स एपबाटै आदानप्रदान हुन्थ्यो।

Tata
GBIME
NLIC

यसैबीच पतिपत्नीको सम्बन्ध बिग्रियो। बदलाको भावस्वरुप आफ्नै पतिले पत्नीको ‘न्यूड कन्टेन्ट’लाई नक्कली एकाउन्ट बनाएर फेसबुकको वाल र स्टोरीमा पोस्ट गरे। ‘रिभेन्ज पोर्न’को यो घटना पीडितकी दिदीले प्रहरीसम्म पुर्‍याइन्।

त्यस्तै, एक शिक्षकले नाबालिका विद्यार्थीले अनलाइन अध्ययन प्रयोजनका लागि खोलेको फेसबुकमा अपलोड गरेका तस्वीर डाउनलोड गर्थे। उनले नक्कली फेसबुक आइडी बनाएर नाबालिकाको अनुहार अश्लील तस्वीरमा जोडेर अश्लील गतिविधियुक्त कन्टेन्ट लेखेर पोस्ट गरे। यो देखेपछि विद्यार्थीका अभिभावकले प्रहरी गुहारे। यी दुवै घटनाका आरोपीमाथि प्रहरीले कानुनी कारबाही अगाडि बढाएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरोमा कार्यरत अधिकांश अधिकृत यस्ता अनेकन घटनापछि ‘जो मान्छे देखे पनि शंका’ गर्ने स्थितिमा पुगेका छन्। पछिल्लो समय बढ्दै गएको स्मार्टफोन र इन्टरनेटको पेनिट्रेसनकै कारण साइबर अपराधको ग्राफ पनि बढ्दै गइरहेको छ। सँगै साइबर अपराधको ट्रेन्डमा पनि परिवर्तन आइरहेको ब्यूरोको निचोड छ।

प्रतिनिधिमूलक यी दुवै घटनामा मेटाका दुई कम्पनी ह्वाट्स एप र फेसबुक जोडिएका छन्। यसबाहेक अरु विभिन्न सामाजिक सञ्जाल दुरुपयोग गरेर साइबर अपराधका घटना बढ्दै गएका छन्।

साइबर अपराध अनुसन्धानमा फेसबुक सबैभन्दा बढी सहयोगी देखिएको छ। माउ कम्पनी मेटाले नेपाल प्रहरीलाई अरु सामाजिक सञ्जालको तुलनामा उपयोगी विवरण उपलब्ध गराउने गरेको छ।

समय बढी लगाए पनि मेटाले आवश्यक अधिकांश विवरण उपलब्ध गराउने गरेको नेपाल प्रहरीको साइबर ब्यूरोकी निरीक्षक दीपा भट्टराईले जानकारी दिइन्।

‘हामीले जुन प्रकारका घटनाहरुको विवरण मेटालाई पठाउँछौं त्यसलाई उसले पनि छानबिन गर्छ। २० देखि ३० दिनको अन्तरालमा मेटाले अनुसन्धानमा उपयोगी हुने आइपीसम्बन्धी विवरण हामीलाई उपलब्ध गराइरहेको छ,’ उनले भनिन्।

पछिल्लो समय नेपालमा सूचीकरण भएर पोइन्ट अफ कन्ट्याक्टसमेत तोकेको टिकटकले पनि साइबर अपराध अनुसन्धानमा सहयोग गर्न थालेको छ।

यसअघि अपराधका घटना अनुसन्धानमा आवश्यक विवरण दिने नगरेको टिकटकले अहिले प्रहरीको अनुरोधमा कन्टेन्ट डिलिटदेखि टेक डाउन गर्न थालेको छ। भट्टराईका अनुसार अदालतको आदेशपछि टिकटकले अपराधमा जोडिएका कन्टेन्टमाथि कारवाही सुरु गरेको छ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ पछिल्लो समय मेटाप्रति त्यति खुसी छैनन्। बारम्बार पत्राचार गर्दासमेत नेपालमा सूचीकरण नगरेको र पोइन्ट अफ कन्ट्याक्ट पनि नतोकेको भन्दै मेटाप्रति सरकार असन्तुष्ट छ। तर, प्रहरीको अनुसन्धानमा भने मेटा नै सहयोगी देखिएको हो।

ब्यूरोको आँकडाले साइबर अपराधमा फेसबुक नै सबैभन्दा बढी दुरुपयोग हुने गरेको देखाउँछ। अहिलेसम्मको विवरणअनुसार यो आर्थिक वर्ष फेसबुक दुरुपयोग गरेर घटेका ५ हजार ५७० घटनाको उजुरी ब्यूरोमा प्राप्त भएको छ।

त्यसपछि ह्वाट्स एप दुरुपयोग गरेर भएका १ हजार ४८४, टिकटकबाट भएका १ हजार ६१, टेलिग्रामबाट भएका ९२४ र इन्स्टाग्रामबाट भएका ८८१ घटनामा उजुरी परेको छ।

ब्यूरोले साइबर अपराधमा साउनयता ५२ वटा मुद्दा दर्ता गरेको छ। साइबर अपराधका ती घटनामा ५ हजार ८३० पुरुष र ४ हजार ६१४ महिला पीडित बनेको तथ्यांक छ। उजुरी संख्याका आधारमा गत आर्थिक वर्ष दर्ता भएका साइबर अपराधका घटनामध्ये ८१ प्रतिशत फेसबुकसँग सम्बन्धित रहेको देखिन्छ।

ब्यूरोको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८०/८१ मा सामाजिक सञ्जाल प्रयोग गरेर कुल १९ हजार ७३० साइबर अपराधका घटना भएका थिए। तीमध्ये १६ हजार ९६ घटना फेसबुकसँग जोडिएका छन्।

त्यसपछि इन्स्टाग्राममार्फत घटेका १ हजार ११४, ह्वाट्स एपबाट गरिएका ९८१, टिकटकबाट गरिएका ६९० र मोबाइल वालेटका ३७ घटना ब्यूरोमा दर्ता भएका थिए। प्रहरीका अनुसार सरकारले झण्डै १० महिना टिकटकमाथि प्रतिबन्ध लगाएकाले त्यसमार्फत हुने घटनाको संख्या कम देखिएको हो।

साइबर अपराधका घटना बढेको ब्युरोको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७७/७८ मा ३ हजार ४५१ उजुरी परेकामा २०७८/७९ मा ३ हजार ९५६, २०७९/८० मा ६ हजार ७८२ हुँदै २०८०/८१ मा १९ हजार ७३० पुग्यो।

प्रहरीकै तथ्यांकअनुसार चालु आर्थिक वर्ष आपराधिक घटनामध्ये वित्तीय ठगी र स्क्याम शीर्ष स्थानमा छ। यो वर्ष वित्तीय ठगी र स्क्याम सम्बन्धी ४ हजार ७२० घटना प्रहरीको राडारमा आइसकेका छन्। अकाउन्ट ह्याकसम्बन्धी २ हजार ६१४ घटना छन्।

नेपाल प्रहरीले साढे ६ वर्षअघि २०७५ जेठ २७ मा साइबर ब्यूरो गठन गरेको थियो।

प्रहरी निरीक्षक भट्टराईका अनुसार पछिल्लो समय बाल यौन शोषण सामग्री, अनलाइन वित्तीय ठगी, रिभेन्ज पोर्न, ह्याक एण्ड फेक अकाउन्ट, व्यक्तित्व नक्कल, नक्कली पहिचान/मानहानी, साइबर बुलिङ/दुर्व्यवहारका घटना बढ्दै गएका छन्।

प्रहरीलाई वित्तीय ठगीका मुद्दाले हायलकायल बनाइरहेको छ। पछिल्लो पुस्ता पैसा छिटो कमाइहालौं भन्ने मानसिकताबाट ग्रसित हुनु नै साइबर अपराध बढ्नुको मुख्य कारण रहेको निष्कर्ष ब्यूरोको छ।

‘१६/१७ वर्ष उमेरका युवाहरुले पैसाको प्रलोभनमा परेर ठूलो धनराशि गुमाइरहेका छन्। पैसाको प्रलोभनमा बैंकिङलगायत अरु महत्त्वपूर्ण जानकारी अनधिकृत व्यक्तिलाई पठाउने गरेका छन्। क्विक मनीको जुन प्यासन छ त्यसले हानि पुर्‍याइरहेको छ। पैसा नआएपछि अनि मात्रै हामीकहाँ आउने गरेका छन्,’ प्रहरी निरीक्षक भट्टराईले भनिन्।

वित्तीय ठगीका विभिन्न घटनाबाट प्रहरीले चालु आर्थिक वर्ष साढे ४ करोड रुपैयाँ हाराहारी रिकभरी गरेर पीडितलाई फिर्ता दिलाएको छ।