काठमाडौं। संवैधानिक निकायमा भएको नियुक्तिविरुद्ध परेको रिट निवेदन पेसीमा चढेको छ।
संवैधानिक निकायमा ५२ पदाधिकारीको नियुक्तिविरुद्ध परेको रिट बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पेसीमा चढेको हो। सर्वोच्चले यसअघि पेसी चढ्दा रिटलाई हेर्न नभ्याइनेमा राखेर पन्छाउँदै आएको थियो।
यो रिट बुधबार चौथो नम्बरमा परेको छ। दुईवटा पेसी स्थगित भइसकेका छन्।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेका थिए।
अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईको कामकारवाहीप्रति अदालत पनि असन्तुष्ट बनेको भनिएका बेला मुद्दाको पेसी चढ्नुलाई निक्कै चासोपूर्वक हेरिएको छ।
ओलीले प्रतिनिधि सभा विघटन गरेर संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेपछि २०७७ फागुन १ गते अधिवक्ता ओमप्रकाश अर्यालसहितले सर्वोच्चमा रिट निवेदन हालेका थिए। त्यसपछि पटक पटक पेसी चढे पनि सुनुवाई हुन सकेको थिएन।
यसअघि लगातार ७ पटक हेर्न नभ्याउने सूचीमा राखिएको थियो। पछिल्लोपटक पुस १७ गते पेसीमा चढेको थियो।
रिटमाथि सुनुवाईमा विलम्ब हुँदा ओलीको रोजाइका ५२ पदाधिकारीले चार वर्ष जागिर खाइसकेका छन्। अवधिका आधारमा अब उनीहरुको कार्यकाल २ वर्ष बाँकी छ।