BIZMANDU
www.bizmandu.com

दुई महिनापछि खुम्बु क्षेत्रमा व्यावसायिक उडान, ३ वटा हेलिकप्टरले गरे माउन्टेन फ्लाइट

२०८१ माघ २९

दुई महिनापछि खुम्बु क्षेत्रमा व्यावसायिक उडान, ३ वटा हेलिकप्टरले गरे माउन्टेन फ्लाइट
दुई महिनापछि खुम्बु क्षेत्रमा व्यावसायिक उडान, ३ वटा हेलिकप्टरले गरे माउन्टेन फ्लाइट


काठमाडौं। दुई महिनापछि खुम्बु क्षेत्रमा हेलिकप्टर कम्पनीले व्यावसायिक उडान सुरु गरेका छन्। मंगलबार श्री, अल्टिच्युड र हेलि एभरेष्टले खुम्बु क्षेत्रमा माउन्टेन फ्लाइट गरेका हुन्।

Tata
GBIME
NLIC

नागरिक उड्डयन प्राधिकरणका सुचना अधिकारी ज्ञानेन्द्र भुलले जिल्ला प्रशासन कार्यालयसँगको समन्वय अनुसार उडान गरिएको जानकारी दिए।

‘प्राधिकरणले मनसुन सिजनमा १३ जुन देखि अक्टोबर १ सम्म उडान रोकेको थियो। खुम्बु क्षेत्रमा व्यावसायिक उडानमा अवरोध थियो,’ उनले भने, ‘आजबाट माउन्टेन फ्लाइट सुरु भएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको समन्वय अनुसार उडान भएको हो।’

उनका अनुसार अन्नपूर्ण क्षेत्रमा भने हेलिकप्‍टरको माउन्टेन फ्लाइटका लागि कुनै अवरोध छैन।

अल्टिच्युड एयरका संचालक निमा नुरु शेर्पाले खुम्बुबाट फेरिचेतर्फ माउन्टेन फ्लाइट गरेको बताए। पर्यटकलाई ब्रेकफास्ट सहितको प्याकेज दिइएको उनले जानकारी दिए।

‘माउन्टेन फ्लाइट पनि कमर्सियल फ्लाइट अन्तर्गत नै हो। तर उहाँहरुले पर्यटकलाई विभिन्न गन्तव्यमा ल्याउने पुर्‍याउनका लागि खुला गरिदिन बाँकी नै छ,’ उनले भने,’अब बाँकी उडानहरुपनि छलफल गर्दै अगाडि बढ्नेछौं।’

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज कुमार घिमिरेले स्थानीयससँगको छलफल अनुसार माउन्टेन फ्लाइट सुरु भएको जानकारी दिए।

पाङबोचे भन्दा माथि होभरिङ फ्लाइट नगर्ने, वन टच माउन्टेन फ्लाइट, ४२ सय मिटर माथी माउन्टेनज फ्लाइट नगर्ने सर्तमा हेलिकप्टर उडान गर्ने सहमति भएको उनले जानकारी दिए।

‘मुख्य समस्या भनेको अरु व्यावसायिक उडानका लागि वायुसेवा कम्पनी अडिग हुनुहुन्छ। यता स्थानीय पनि उत्तिकै अडिग हुनुहुन्छ,’ उनले भने, ‘सिजन सुरु भएसँगै यो उडान खुला हुने आशा लिएका छौं।’   

खुम्बु क्षेत्रको मानव वस्तीमा ध्वनी प्रदूषण भएको, आपराधिक क्रियाकलाप हुनसक्ने सम्भावना रहेको र खुम्बु क्षेत्रको व्यापार व्यवसायमा नकारात्मक असर परेको कारण देखाउँदै केही स्थानीयको अगुवाइमा पुस २३ देखि हेलिकप्टर उडानमा अवरोध गरिएको थियो।