BIZMANDU
www.bizmandu.com

बुक बिल्डिङमा उलटफेर गर्दै सेबोन, ६०% आइपीओ संस्थागत लगानीकर्तालाई सुरक्षित गरिने

२०८१ माघ २८

बुक बिल्डिङमा उलटफेर गर्दै सेबोन, ६०% आइपीओ संस्थागत लगानीकर्तालाई सुरक्षित गरिने
बुक बिल्डिङमा उलटफेर गर्दै सेबोन, ६०% आइपीओ संस्थागत लगानीकर्तालाई सुरक्षित गरिने


काठमाडौं। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले बुक बिल्डिङमार्फत आइपीओ निष्कासनमा सेयरको हिस्सामा उलटफेर गर्ने तयारी गरेको छ। सेबोनले संस्थागत र सर्वसाधारण लगानीकर्ताको सेयर हिस्सामा उलटफेरसहित धितोपत्र दर्ता तथा निष्कासन नियमावली संशोधन गर्न लागेको छ।

Tata
GBIME
NLIC

नियमावली संशोधनका लागि गठित अध्ययन समितिले संस्थागत लगानीकर्तालाई सेयर हिस्सा बढाउने गरी छलफल चलाएको छ।

बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्ने कम्पनीले संस्थागत लगानीकर्तालाई ४० प्रतिशत सेयर बिक्री गर्नुपर्ने सीमालाई ६० प्रतिशत पुर्‍याउन लागिएको छ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीले बुक बिल्डिङको आइपीओमा योग्य संस्थागत लगानीकर्ताबाट खरिद आशय मूल्य निर्धारण गरेर कम्पनीले ४० प्रतिशत उनीहरुलाई नै बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ। कम्पनीहरुले अहिले बाँकी ६० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्दै आएका छन्।

यो व्यवस्था नियमावली संशोधनमार्फत हेरफेर गर्न लागिएको हो। अध्ययन समितिले सर्वसाधारणमा निष्कासन गर्नुपर्ने ६० प्रतिशत सेयरलाई ४० प्रतिशतमा झार्ने गरी छलफल चलाएको छ।

‘बुक बिल्डिङको आइपीओमा संस्थागत र सर्वसाधारण लगानीकर्तालाई बिक्री गर्नुपर्ने निष्कासन सीमा हेरफेर गरिने भएको छ,’ नियमावली संशोधन अध्ययन समितिका एक अधिकृतले भने, ‘हामीले संस्थागत लगानीकर्तालाई ६० प्रतिशत र सर्वसाधारणलाई ४० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने व्यवस्था गर्न सुझाव दिन लागेका छौं। बुक बिल्डिङको आइपीओ संस्थागत लगानीकर्ताबाट मूल्य तय भएर सर्वसाधारणमाझ बिक्री हुने भएका कारण उनीहरुलाई जिम्मेवार बनाउन खोजिएको हो।’

बुक बिल्डिङमा आइपीओको मूल्य संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत तय गर्छन्। कम्पनीले त्यसपछि सर्वसाधारणमाझ बिक्री गर्छन्।

बुक बिल्डिङ सम्बन्धी निर्देशिका २०७७ ले कम्पनीले संस्थागत लगानीकर्ताले बोलकबोलमार्फत पहिलो चरणमा मूल्य निर्धारण गर्ने र त्यसबाट कायम हुने कटअफ मूल्यमा १० प्रतिशत घटाएर सर्वसाधारणमा सेयर बिक्री गर्नुपर्ने व्यवस्था गरेको छ।

बुक बिल्डिङबाट आइपीओ निष्कासन गर्ने प्रक्रियामा रहेका कम्पनीमा कैफियत देखिएपछि सेबोनले स्वार्थको द्धन्द्धलाई समेट्ने गरी नियमावली फेर्न लागेको छ।

‘बुक बिल्डिङमार्फत आइपीओ जारी गर्दा स्वार्थको द्धन्द्ध देखियो। कम्पनीलाई अहिले संस्थागत लगानीकर्ताका रुपमा आफ्नै सहायक कम्पनीमार्फत मूल्य बढाउन चलखेल गर्ने ठाउँ छ,’ सेबोनका एक अधिकारीले भने, ‘त्यसैलाई रोक्न स्वार्थको द्धन्द्धलाई स्पष्ट पार्नेगरी नियमावलीमा समेट्ने तयारी छ।’

सेबोनले सेयर बजारमा उत्पादन तथा प्रशोधन क्षेत्रका कम्पनी भित्र्याउन २०७६ मै बुक बिल्डिङको व्यवस्था गरे पनि कम्पनीले चासो देखाएका छैनन्। अहिलेसम्म एउटा मात्रै कम्पनी सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत आइपीओ ल्याएको छ।

रिलायन्स स्पिनिङ मिल्सले गत वर्ष नै बुक बिल्डिङमार्फत आइपीओ जारी गर्न चाहेकामा वित्तीय विवरण म्यानुपुलेनका कारण विवाद हुँदा प्रक्रिया अड्किन पुगेको छ। उसले संस्थागत लगानीकर्तालाई बिक्री गरेर मूल्य निर्धारण गरे पनि सर्वसाधारणमा आइपीओ बेच्न पाएको छैन।

धितोपत्र दर्ता तथा निष्कासन नियमावलीमा बुक बिल्डिङको आइपीओका लागि कम्पनीको प्रति सेयर नेटवर्थ १५० रुपैयाँ तथा कम्पनी लगातार तीन वर्ष खुद नाफामा गएको हुनुपर्ने व्यवस्था रहेकामा नेटवर्थको सीमा पनि हेरफेर गर्न खोजिएको छ।