काठमाडौं। बारा प्रहरीले स्रोत नखुलेको रकमसहित ३ जनालाई पक्राउ गरेको छ। जीतपुरसिमरा उपमहानगरपालिका-१ पथलैया चोकबाट शनिबार साँझ उनीहरू पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा भारत घर भएका ५० वर्षीय उजिर मियासहित ३ जना रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको साथबाट १० लाख १७ हजार ५ सय नेपाली रूपैयाँ र १ लाख ४७ हजार ५ सय भारतीय रूपैयाँ बरामद भएको छ।
प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरीले नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना ५ ख ६५४४ नम्बरको बसमा रहेका उनीहरूको साथबाट उक्त रकम फेला परेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।