BIZMANDU
www.bizmandu.com

सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित, थाइल्याण्डले जित्यो सिरिज

२०८१ माघ २५

सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित, थाइल्याण्डले जित्यो सिरिज
सिरिजको अन्तिम खेलमा पनि नेपाल पराजित, थाइल्याण्डले जित्यो सिरिज

काठमाडौं। नेपाली महिला क्रिकेट टोली त्रिदेशीय सिरिजको अन्तिम खेलमा पनि पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज सम्पन्न सिरिजको अन्तिम खेलमा थाइल्याण्डसँग ७ विकेटले पराजित भएको हो।

Tata
GBIME
Nepal Life

योसँगै ६ खेल खेल्दा ५ वटामा जित निकालेर १० अंक बनाएको थाइल्याण्डले सिरिज जितेको छ। नेपाल भने घरेलु मैदानमा ६ खेल खेल्दा सबैमा पराजित भएको छ। दोस्रो बनेको नेदरल्याण्ड्सले ४ जित र दुई हारसहित ८ अंक बनायो।

आज सम्पन्न खेलमा नेपालले टस जितेर ब्याटिङमा उत्रिएको थियो। नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ८१ रन बनाएको थियो। नेपालका लागि सम्झना खड्काले सर्वाधिक १७ रन बनाउँदा कविता जोशीले १४, राजमती ऐरीले ११ र इन्दु वर्माले १० रन बनाए।

जवाफी ब्याटिङमा उत्रिएको थाइल्याण्डले ३ विकेट गुमाएर तीन ओभरबाँकी छँदै लक्ष्य भेट्टायो। थाइल्याण्डका लागि नारुइमोल चैवाईले २७ रन बनाउँदा नन्नापत कोन्चारोनकाईले २३ रन बनाए। बलिङतर्फ नेपालका इन्दु वर्माले २ तथा पूजा महतोले १ विकेट लिए पनि टोलीलाई लक्ष्यमा पुग्न रोक्न सकेनन्।