BIZMANDU
www.bizmandu.com

महासंघ कोशी प्रदेश र उदय परियोजनाबिच साना तथा मझौला उद्योग प्रवर्धनमा समझदारी

२०८१ माघ २३

महासंघ कोशी प्रदेश र उदय परियोजनाबिच साना तथा मझौला उद्योग प्रवर्धनमा समझदारी
महासंघ कोशी प्रदेश र उदय परियोजनाबिच साना तथा मझौला उद्योग प्रवर्धनमा समझदारी


विराटनगर। नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र उदय परियोजनाबिच प्रदेशमा साना तथा मझौला उद्योगको प्रवर्धनका लागि समझदारी–पत्रमा हस्ताक्षर भएको छ।

Tata
GBIME

महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत र उदय परियोजनाका टिम लिडर अरुण राणाले समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन्। हस्ताक्षर समारोहमा अध्यक्ष राउतले लघु घरेलु तथा साना उद्योगले नेपालको कुल गार्हस्थ उत्पादनमा करिब २२ प्रतिशतको योगदान गरेर १७ लाख मानिसलाई रोजगारी प्रदान गरेको बताए।

राउतले अपेक्षित रूपमा साना तथा मझौला उद्योगको प्रवर्धन हुन नसकेको चर्चा गर्दै दुबै संस्थाबिच भएको समझदारीबाट दिगो विकास, विस्तार र व्यवसाय–अनुकूलको वातावरण निर्माण हुने विश्वास व्यक्त गरे।

उनले महासंघ कोशी प्रदेशले उद्योग–व्यवसायमा पुँजीको पहुँच, लगानी तथा नवप्रर्वतक प्रवर्धनलगायतका कार्यक्रम गर्न सबैसित सहकार्य गरिने स्पष्ट पारे।

उदय परियोजनाका टिम लिडर राणाले यस समझदारीले कोशी प्रदेशमा सञ्चालित साना तथा मझौला उद्योगको व्यावसायिक विकासमा परामर्शदाता परिचालन गर्न सहयोग पुग्ने जानकारी दिए।

महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण (साम) भण्डारीले यो कार्यक्रम डाई उदय परियोजना, स्विस सरकार विकास सहयोग र नेपाल सरकार अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा वित्तपोषण गरी कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालय एवम् डाई ग्लोबल, युके लिमिटेडद्वारा कार्यान्वयन गरिएको जानकारी दिए।