BIZMANDU
www.bizmandu.com

पाथीभरा क्षेत्रमा वार्ताबाट समाधान खोजेर केबलकार निर्माण गर्न कोशीका व्यवसायीहरुको आग्रह

२०८१ माघ २३

पाथीभरा क्षेत्रमा वार्ताबाट समाधान खोजेर केबलकार निर्माण गर्न कोशीका व्यवसायीहरुको आग्रह
तस्बिर : रासस।


विराटनगर । कोशी प्रदेशका दुई मुख्य व्यावसायिक संगठनले पाथीभरा (मुक्मुलुङ) क्षेत्रमा केबुलकार निर्माणको विवादित विषयलाई तत्काल संवाद र वार्ताबाट समाधान गरेर निर्माणकार्य अघि बढाउन आग्रह गरेका छन्।

Tata
GBIME
NLIC

नेउवा महासंघ र नेपाल उद्योग परिसंघका कोशी प्रदेश समितिले विज्ञप्ति जारी गरेर तीन तहकै सरकार र आन्दोलनरत पक्षसँग यस्तो अनुरोध गरेका हुन्।

महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले प्रस्तावित आयोजनाले विकासका प्रतिफलमा स्थानीयबासीको महत्वपूर्ण हिस्सा हुनुपर्ने मान्यतालाई स्वीकार गरेको बताएका छन्।

अध्यक्ष राउतले स्थानीय, भाषा, कला, संस्कृति र सम्पदाको उचित संरक्षण र प्रवर्धन तथा स्थानीय आर्थिक विकासमा योगदान हुने विषयमा अस्पष्टता रहेको भए वार्ता र संवादका माध्यमबाट समाधान गरिनुपर्ने धारणा राखेका छन्।

‘सरकार, निजी क्षेत्र र समुदायको सामूहिक प्रयासबाट मात्र दिगो आर्थिक विकास सम्भव हुन्छ भन्नेमा हामी स्पष्ट हुनैपर्छ। त्यसैले पूर्वाधार निर्माण लागयतका विकासमूलक कार्यमा स्थानीयको सहभागिताको विधि अवलम्बन गर्ने गरिएको छ,’ राउतको भनाइ छ।

उनले धार्मिक सांस्कृतिक विविधताले नै पर्यटनको महत्त्वपूर्ण आधारशिला खडा गर्ने चर्चा गर्दै हरेक धर्म, संस्कृति र रीतिरिवाजको प्रवर्धन र संरक्षणप्रति निजीक्षेत्र संवेदनशील रहेको बताए। उनले सम्पूर्ण सरोकारवाला संयमताका साथ समस्या समाधानका लागि सक्रिय हुनुपर्ने उल्लेख गरेका छन्।

राउतले भने, ‘लगानीका लागि बाह्य लगानीकर्तालाई अपिल गरिरहेका बेला स्वदेशकै निजी क्षेत्रलाई निरुत्साहित गर्नु उचित हुँदैन। प्रत्यक्ष वैदेशिक लगानीका लागि सर्वप्रथम स्वदेशमा नै लगानीको वातावरण निर्माण गर्नुपर्दछ। यसका लागि निजी क्षेत्रको मनोबल बढाउनु जरुरी छ। कोशी प्रदेश सरकारले प्रदेश लगानी सम्मेलन, पर्यटन वर्ष २०८२ र चिया सम्मेलनको आयोजना गर्ने घोषणा गरिसकेका पृष्ठभूमिमा यस्ता अवरोधका क्रियाकलाप हुँदा लगानीकर्तामा गलत सन्देश जाने र लगानीकर्ता निरुत्साहित हुने निश्चित छ।’

उनले पाथीभरा मन्दिरको दर्शनका लागि आन्तरिकबाहेक वार्षिक लाखौं भारतीय पर्यटकलाई यस प्रदेशमा भित्र्याउन कोशेढुंगा साबित हुनसक्ने यस पूर्वाधारको निर्माणमा भएको अवरोधले ताप्लेजुङ र समग्र प्रदेशवासीको हित नगर्ने दाबी गरे।

परिसंघ कोशीका अध्यक्ष पवनकुमार शारडाले पाथीभरा मन्दिरको यात्रा सुलभ हुने लक्ष्यका साथ सुरु भएको केबुलकार परियोजनाको विरोधमा भइरहेको बन्द र हड्तालले व्यवसायमा नराम्रो असर परिरहेको र सर्वसाधारणको दैनिक जनजीवन अस्तव्यस्त भएको बताए।

अध्यक्ष शारडाले त्यस क्षेत्रमा केबुलकारको निर्माण भएमा दैनिक हजारौंका संख्यामा पर्यटक आउने तथा झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरि चार जिल्लाको विकासले छोटो समयमै तीव्रता पाउने विचार व्यक्त गरे।

शारडाले पाथीभराको यात्रा सहज र सुविधाजनक नहुँदा यस क्षेत्रले आर्थिक विकास गर्न नसकेको चर्चा गर्दै केबुलकारको निर्माणले यसको ठोस समाधान दिने जिकिर गरे।

‘स्थानीयले उठान गरिरहेका र अहिले उत्पन्न भएका विषयमा आपसी सहमति र सद्भाव सहित केबुलकारको निर्माणमा सबैको अपनत्व कायम गरिनु पर्छ। कसैको पनि आस्था र मर्यादामा आँच नआउने वातावरण बनाउन सबै सचेत हुनुपर्छ। यसपछि केबुलकारको निर्माण गरिएमा यस क्षेत्रको कायापलट हुने कुरामा द्विविधा छैन’, उनले भने।

अध्यक्ष शारडाले यो परियोजना सम्पन्न भएर संचालन हुन लागेपछि स्थानीय उत्पादनले आकर्षक बजार पाउने, रोजगारीको सिर्जना हुने, कोशी प्रदेशक पर्यटकीय गतिविधि उचाइमा पुग्ने र लगानीको वातावरणको शुभसन्देश फैलने दाबी गरे।