BIZMANDU
www.bizmandu.com

के नेपाल टेलिकमले देशभरबाट यो वर्षभित्रै टुजी सेवा बन्द गर्न लागेको हो ?

२०८१ माघ २३

के नेपाल टेलिकमले देशभरबाट यो वर्षभित्रै टुजी सेवा बन्द गर्न लागेको हो ?
के नेपाल टेलिकमले देशभरबाट यो वर्षभित्रै टुजी सेवा बन्द गर्न लागेको हो ?


काठमाडौं। मंगलबार नेपाल टेलिकमको २१औं वार्षिकोत्सव समारोहमा कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले चालू वर्षभित्रै टुजी सेवा बन्द गर्ने घोषणा गरिन्। निजी टेलिकम अपरेटर एनसेलकोभन्दा १५ प्रतिशत बढी टुजी ग्राहक नेपाल टेलिकमसँगै छ।

Tata
GBIME
NLIC

माघ १८ गतेभन्दा ९० दिनअघिसम्मको तथ्यांकअनुसार एनसेलसँग सक्रिय टुजी ग्राहक संख्या २६ लाख छन् भने टेलिकमसँग लगभग ३० लाख छन्। यत्रो ग्राहक संख्या भएको टुजी नेटवर्क टेलिकमले किन बन्द गर्न लाग्यो भन्ने चर्चा र चासो भइरहेको छ। तर, यथार्थमा टेलिकमले सबै टुजी नेटवर्क बन्द गर्न लागेको भने होइन।

टेलिकमकी प्रबन्ध निर्देशक अर्यालकाअनुसार असारसम्ममा १८०० मेगाहर्जको टुजी नेटवर्क मात्रै बन्द गर्न लागेको जानकारी दिइन्। 

‘यसै आर्थिक वर्ष भित्रमा १८०० मेगाहर्जको टुजी सेवा बन्द गर्ने योजना टेलिकमको छ,’ अर्यालले भनिन्।

भ्वाइस सेवाको माग घट्दै गएको अवस्थामा डेटा प्रयोगलाई थप गुणस्तरीय बनाउन टेलिकमले उक्त योजना अघि सारेको हो। 

प्राविधिकरुपमा बुझ्नुपर्दा नेपालमा टुजी नेटवर्क ९०० र १८०० मेगाहर्ज ब्यान्डमा चलिरहेको छ। टुजी भनेको विशुद्ध भ्वाइस र एसएमएस सेवा दिने प्रविधि हो। यसमा डेटा हुँदैन। सन् १९९० को दशकको सुरुवातमा टुजी लञ्च भएको थियो।  

दूरसञ्चार विज्ञ आनन्दराज खनाल १८०० मेगाहर्ज ब्यान्डमा धेरै बीटीएस टावरहरु आवश्यक पर्ने बताउँछन्। ९०० को तुलनामा झण्डै दोब्बर नै टावरहरु चाहिने उनले बताए।

‘९०० मा १० मेगाहर्ज छ भने १८०० मा २० मेगाहर्ज छ। १८०० मा फोरजी एलटीई चलिरहेको छ। डेटाको माग बढिरहेको अवस्थामा १८०० मा भ्वाइसलाई पनि फ्रिक्वेन्सी प्रयोग गर्न दिँदा त्यसको शतप्रतिशत उपयोग हुन सक्दैन। टुजीलाई ९०० मा सीमित गर्दा १८०० मा उपयोग भइरहेको फोरजी सेवाको मौजुदा स्पीड टेलिकमले बढाउन सक्ने भयो,’ खनालले भने।

फाइल फोटो

हुनत: १८०० मा फोरजीबाटै चल्ने भोल्टे (भ्वाइस सेवा) पनि चल्छ। टुजीको प्रयोग ९०० मा मात्रै राख्दा डेटा प्रयोगकर्ताहरुको ‘युजर एक्पेरियन्स’ राम्रो हुन्छ।

‘टेलिकमले १८०० मेगाहर्जको टुजी नेटवर्क बन्द गर्दा अब ९०० ले नै टुजीको भ्वाइस सेवा धान्ने भयो। १८०० मेगाहर्जले फोरजीयुक्त भोल्टे हुने भयो,’ खनालले बिजमाण्डूसँग भने, ‘१८०० मा फोरजी र टुजी चलाउनुभन्दा फोरजी मात्रै चलाउँदा यसको गुणस्तर बढ्ने हुन्छ।’

१८०० मेगाहर्जबाट टुजी हटाउँदा प्रयोगकर्ताको फोरजी अनुभवमा अझै निखारता ल्याउन सहयोग पुग्ने उनले जानकारी दिए। टुजी प्रयोगकर्ताको ठूलो हिस्सा ग्रामीण क्षेत्रमा छ। कम आय भएका उपभोक्ताहरुको रोजाईमा टुजी चल्ने मोबाइल फोन रहँदै आएको छ।