BIZMANDU
www.bizmandu.com

सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश, ५ वर्ष भित्र ५८ वटा आउटलेट संचालन गर्ने योजना

२०८१ माघ २३

सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश, ५ वर्ष भित्र ५८ वटा आउटलेट संचालन गर्ने योजना
सिद्धार्थ हस्पिटालिटी २७औं वर्षमा प्रवेश, ५ वर्ष भित्र ५८ वटा आउटलेट संचालन गर्ने योजना


काठमाडौं । नेपाली हस्पिटालिटी समूह सिद्धार्थ हस्पिटालिटी आजबाट २७औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा समूहले सन् २०३० सम्म मुलुकको पर्यटन क्षेत्र प्रवर्धन लक्षित व्यावसायिक रणनीति अनुसार काम अगाडि बढाएको जनाएको छ।  

Tata
GBIME
NLIC

कम्पनीका सिइओ कृष्ण न्यौपानेले सन् २०३० सम्म स्वदेश तथा विदेशमा समेत गरि कम्तीमा ५८ वटा साना तथा ठूला आउटलेट संचालन गर्ने योजना बनाएको जानकारी दिए।

‘हाल हामी नेपालका विभिन्न स्थानका साथै भारतमा समेत होटल संचालनको तयारी गरिरहेका छौं,’ उनले भने,’त्यसपछि अन्य देशमा पनि सेवा विस्तार गर्ने योजना छ। अहिले हामी धमाधम गृहकार्यमा छौं।’

सो समूहले धनगढीमा पाँचतारे होटलको योजना पनि अगाडि बढाइसकेको छ। न्यौपानेका अनुसार कम्पनीले धनगढीमै रेस्टुरेन्ट र वाटर पार्क सहितको सिद्धार्थ कटेज निर्माण गरिरहेको हो।

बुटवलको योगीकुटीमा सिद्धार्थ कटेज संचालन गरेको समूहले आउँदो असारसम्म वाटर पार्क र यस क्षेत्रकै उत्कृष्ट सभा हल समेत संचालनमा ल्याउने तयारी गरेको छ।

पर्यटकीय गन्तव्य इलाममा पनि कम्पनीको लग्जरी रिसोर्ट निर्माणको योजना बनाएको छ। रिसोर्टमा चिया बगानको दृश्य हेर्न पाइने भिल्ला, अर्ग्यानिक फार्म-टु-टेबल भोजन, वेलनेस र संस्कृतिक अनुभव समावेश गरिएको उनले जानकारी दिए।

हाल सिद्धार्थ हस्पिटालिटीअन्तर्गतका विभिन्न आउटलेटमा दुई हजार ५०० भन्दा बढी कर्मचारी कार्यरत छन्।

कम्पनीले हाल पाँच तारे होटल स्तरमा सिद्धार्थ भिलासा, चार तारे स्तरमा सिद्धार्थ वैभव, तीन तारे स्तरमा सिद्धार्थ बाटिका ब्राण्डमा होटल संचालन गरिरहेको छ। त्यसबाहेक सिद्धार्थ कटेज, सिद्धार्थ क्याफेका साथै पछिल्लो समय कम्पनीअन्तर्गत एस होटल संचालनको तयारी भइरहेको उनले बताए।

कम्पनीका अनुसार पूर्वमा बिर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म सेवा प्रवाह गरिरहेको कम्पनीले आफ्नै होटल संचालनका साथै अन्य होटल व्यवस्थापन गरिरहेको छ।

सिद्धार्थले लुम्बिनी विश्वविद्यालयसँगको सहकार्यमा ब्याचलर इन हस्पिटालिटीमा अध्ययनरत विद्यार्थीलाई सीप सिक्दै पढ्दै अभियान पनि सुरु गरेको छ। साथै सिद्धार्थले सुर्खेतको होटलबाट कर्णालीमा उत्पादन हुने अर्ग्यानिक खाद्यान्न पनि प्रवधर्नमा जोड दिँदै आएको न्यौपानेले बताए।

कम्पनीले २७औं वार्षिकोत्सवका अवसरमा समुदायको संलग्नतामा विभिन्न कार्यक्रम आयोजना गरेको जनाएको छ। संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत  क्याफे देखि पाँच तारेसम्म सबै आउटलेटले स्वास्थ्य, सरसफाइ, वातावरण र सामाजिक सहयोगसम्बन्धी क्षेत्रमा देशव्यापी कार्यक्रम सम्पन्न गरेको जनाइएको छ।

सन् १९९८ मा कैलालीको टीकापुरमा सामान्य होटलबाट सुरु भएको कम्पनीले मुलुकको विभिन्न गन्तव्यमा आफ्नो सेवा संचालन गर्दै आएको छ।