काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टेलिकमले फाइभजी सेवा तत्काल सुरु गर्न निर्देशन दिएका छन्। नेपाल टेलिकमको २१औं वार्षिकोत्सव समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा रहेकाले टेलिकमले ठूला सहरमा तत्कालै फाइभजी सेवा सुरु गर्नुपर्ने बताएका हुन्।
‘विकसित विश्व सिक्सजी इन्टरनेटको अभ्यास गर्ने तर्खरमा छ। हामीलाई भने फाइभ जी सेवा नेपालमा मुख्य सहरहरुमा सुरु गरिहाल्नुपर्ने आवश्यकता छ। यसमा नेपाल दूरसञ्चार कम्पनीकै महत्त्वपूर्ण भूमिका हुन्छ,’ उनले भने।
मन्त्री गुरुङले प्रविधिको क्षेत्रमा हुने विकासलाई आत्मसात नगरे टेलिकम पछि पर्ने बताए। ‘संसारमा जति पनि परिवर्तन र नयाँनयाँ प्रविधिको विकास, विस्तार र आविष्कार भइरहेको छ, त्यो क्षेत्र पनि सञ्चारकै क्षेत्र हो, सूचना प्रविधिकै क्षेत्र हो। त्यसैअनुसार समयको गति नसमात्ने हो भने हामी पछि परिहाल्छौं। छिनको छिनमै पुरानो र असान्दर्भिक हुन्छौं,’ उनले भने।
उनले देशलाई डिजिटल युगमा खरो उतार्दै कृषि, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा उच्चतम् फड्को मार्नुपर्नेमा जोड दिए।
आम्दानीको स्रोत परिवर्तन भएकाले टेलिकमले डेटा सर्भिसमा आफूलाई अब्बल बनाउनुपर्नेमा उनले जोड दिए।
‘टेलिकम कम्पनीहरुको राजस्व आम्दानी भ्वाइस सर्भिसभन्दा डेटा सर्भिसमा निर्भर हुनुपरेको कुरा कसैबाट छिपेको छैन। दूरसञ्चार कम्पनीले त्यसमा आफूलाई अग्रसर गराइहाल्नुपर्छ,’ उनले भने, ‘खुला बजार र प्रतिस्पर्धात्मक जमानामा टेलिकमले आफूलाई समयानुकूल बनाउँदै लैजानुपर्छ भन्ने कुरा स्मरण गराइरहनुपर्ने विषय होइन।’
मन्त्री गुरुङले फोरजी सेवा देशव्यापी बनाउन पनि आग्रह गरे। उनले ब्रोडब्यान्ड कनेक्सन वडातहसम्म पुर्याउन तथा मर्मत सम्भारको सुविधा चौबिसै घण्टा उपलब्ध गराउन टेलिकम व्यवस्थापनलाई निर्देशन दिए।
‘सेवा विस्तारका सन्दर्भमा हरेक घरमा फोरजी कभरेज पुर्याउने लक्ष्यमा नेपाल टेलिकमलाई सफलता छिटै प्राप्त हुने विश्वास गरेको छु। सँगसँगै स्थानीय तह र वडासम्म ब्रोडब्यान्ड कनेक्सन पुर्याउने कार्यलाई टेलिकमले प्राथमिकतासाथ पूरा गर्नुपर्ने छ,’ उनले भने, ‘ग्राहकहरुको सेवाका लागि २४ सै घन्टा मर्मत सम्भारको सुविधा पनि नेपाल टेलिकमले दिने विश्वास गरेको छु।’