BIZMANDU
www.bizmandu.com

झट्ट हेर्दा आकर्षक घरका ‘इन्टेरियर डिजाइन’मा कमसल सामग्री, चर्को दामले भड्किँदै ग्राहक

२०८१ माघ २२

झट्ट हेर्दा आकर्षक घरका ‘इन्टेरियर डिजाइन’मा कमसल  सामग्री, चर्को दामले भड्किँदै ग्राहक
झट्ट हेर्दा आकर्षक घरका ‘इन्टेरियर डिजाइन’मा कमसल सामग्री, चर्को दामले भड्किँदै ग्राहक


काठमाडौं । १३ फिटको सडक अगाडि साढे तीन तल्लाको चिटिक्कको घर। मूल ढोकाबाट झ्याल, बेडरुम, किचेनसम्मै गजबको डेकोरेसन। फलसिलिङ, लाइटिङको झकिझकाउले हेर्न पुग्ने जोसुकैले ‘वाउ’ भन्छन् ललितपुरको इमाडोलस्थित ओचु हाइटमा चार आना दुई दाममा बनेको घरलाई।

Tata
GBIME
NLIC

तर घर हेर्न पुग्ने जोसुकै दाममा पुगेर अड्किन्छन्। ४ करोड ५० लाख मूल्य राखिएको यो घर बिक्रीमा राखिएको वर्ष दिन भयो। तर, बिक्री हुन सकेको छैन। रियल स्टेट एजेन्टकहाँ पुग्ने ग्राहकहरु घरको मूल्य बढी भएको भन्दै फर्कने गरेका छन्।

काठमाडौंको बुढानीलकण्ठस्थित भंगाल नजिकै तीन आनामा बनेको साढे तीन तलाकै घर देखाउन रियल स्टेट एजेन्ट प्रितम गुरुङले ५ जना लगिसके। तर, घरको मूल्य बढी भएको भन्दै ग्राहकले फोन उठाउनै छाडेका छन्।

‘घर १३ फिटको सडक अगाडि छ। घर राम्रै छ। २ करोड ७५ लाख मूल्य हो। तर अलि महँगो भयो भन्दै ग्राहक सम्पर्कमै आउँदैनन्,’ गुरुङ भन्छन्, ‘पहिले घर देखाउनसाथ बैना गर्ने भेटिन्थे। अहिले हेर्न आउने मान्छे फलोअप गर्दा पनि फोन उठाउँदैनन्।’

हिजोआज काठमाडौं उपत्यकामा यस्तै खालका घर बिक्रीमा रहेको विज्ञापन सामाजिक सञ्जालमा पनि छ्याप्छ्याप्ती छन्। तर, छुटको अफर राख्दा पनि घर बिक्न मुश्किल भइरहेको रियल स्टेट एजेन्टहरु बताउँछन्।

ग्राहक बिच्कनुको कारण के ?

इन्टेरिएर डिजाइनमा सस्ता तर फेन्सी देखिने सामग्री राखेर झकिझकाउ बनाएका घरको दाम चार गुणा राखेकै कारण बिक्री हुन नसकेको एक व्यवसायीले बताए।

‘घरभित्र बत्तीदेखि बाथरुमसम्मको इन्टेरियर डिजाइनमा सस्ता सामान प्रयोग गर्ने तर दाम भने चार गुणा महँगो राख्ने गर्छन्, अनि कसरी बिक्छ घर?,’ ती व्यवसायीले प्रश्न गरे।

घर पूर्णरुपमा तयार हुन बत्ती, बाथरुम, भित्ता र सिलिङमा कलरिङ, वालपेपर, भुँइमा टायल, भर्‍याङ वा सिँढी, भान्सा आदि सजावट गर्नपर्छ। ती सामग्रीलाई इन्टेरियर डिजाइन भनिन्छ।

इन्टेरियर डिजाइनका सामग्रीलाई इन्टेरियर डिजाइनरहरुले चार तहमा वर्गीकरण गरेका छन्- प्रिमियम, ए ग्रेड, बी ग्रेड र सी ग्रेड। बाथरुममा राखिने कमोड बजारमा १५ हजारदेखि एक लाखसम्मका पाइन्छन्। एक लाखको कमोड प्रिमियममा र १५ हजारकोलाई सी ग्रेडमा राखिने इन्टेरियर डिजाइनर एसोसिएनसन अफ नेपालकी सचिव अमृता श्रेष्ठ बताउँछिन्।

आफू बस्न बनाएका घरमा प्रिमियम ग्रेडका सामग्री राख्ने गरेको इन्टेरियर डिजाइनरहरु बताउँछन्। उनीहरुका अनुसार कमर्सियल हाउजिङ र बिक्रीका लागि तयार पारिएका घरमा ठेकेदारहरुले धेरैजसो बी ग्रेडका इन्टेरियर सामग्री राख्ने गरेका छन्। यद्यपि, उनीहरुले घर बिक्रीमा राख्दा भने प्रिमियम लेभलकै मूल्य तोक्छन्। यही कारण घरको मूल्य स्वाभाविकभन्दा निक्कै महँगो भएको हो।

अझ कतिपय सामग्री मापदण्डभन्दा बाहिरका हुन्छन्। न आईएसओ स्ट्यान्टर्डका हुन्छन्, न त कुनै ग्यारेन्टीवाला। कमसल सामग्री राखेर नाफा उच्च राख्नाले घर किन्नेहरु भड्किरहेको व्यवसायीहरु बताउँछन्।

नेपाल जग्गा तथा आवास विकास महासंघका पूर्व अध्यक्ष भेषराज लोहनी भने कम्पनी खोलेर काम गरिरहेका व्यवसायीले यस्तो खालको बदमासी नगर्ने दाबी गर्छन्।

‘कम्पनीले सर्ट टर्मभन्दा लङ टर्ममा ध्यान दिएर घरहरु बनाउँछन्। त्यसैले इन्टेरियरमा सस्ता सामग्री प्रयोग गर्ने भन्ने हुँदैन। यस्तो काम इन्डिभिजुअलबाट भएको होला,’ लोहनीले भने।

हाउजिङ कम्पनीले बनाएका घरमा कुनै पनि समस्या नरहेको उनको दाबी छ।

‘२५ वर्ष भयो हाउजिङ कम्पनी सुरु भएको। कमसल खालका सामग्री राखेको भए समस्या आइहाल्थ्यो नि,’ लोहनीले भने।

इन्टेरियर डिजाइनका सामग्री वर्षैपिच्छे नयाँ नयाँ आउने र पछि म्याच नहुने समस्या भने देखिएको उनको भनाई छ।

अस्वाभाविक मूल्य राखेका कारण घर हेरेर छोड्ने गरेको ग्राहकहरुको भनाइ छ नि? घर किन्ने र बेच्नेबीच केमा म्याच भएन? प्रश्नमा लोहनीले भने, ‘राष्ट्र बैंकको कठोर नीतिले यस्तो भएको हो। तीन वर्षयता अर्थतन्त्र सुस्त छ। यसले पनि घरजग्गा बजार भाइब्रेन्ट हुन नसकेको हो।’