अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा, मेक्सिको र चीनबाट आयात हुने सामानमा कर घोषणा गरेसँगै त्यसको असर विश्व विनिमय बजारमा देखिएको छ। विश्वभर अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ। इन्धनको मूल्यमा पनि अत्याधिक वृद्धि देखिएको छ।
ट्रम्पले घोषणा गरेको कर आजदेखि लागू हुने भनिएको थियो। ट्रम्पलाई जवाफमा क्यानडा र मेक्सिकोले पनि कर लगाउने बताएका थिए। तर, ट्रम्पले कर लगाउने निर्णय हाललाई स्थगित गरेका छन्।
यही ‘ट्रयारिफ वार’का कारण मुद्रस्फीति बढ्ने अनुमान गरिएको छ जसकारण अहिले डलरको मूल्य उच्च भएको विश्लेषक बताउँछन्।
पढ्नुस : ट्रम्पको ‘ट्यारिफ वार’ले विश्वभर असर, अटो र प्रविधि क्षेत्र बढी प्रभावित, भारत किन सशंकित?
यसको असर नेपालमा पनि देखिएको छ। आज अमेरिकी डलरको विनिमय दर ह्वात्तै बढेको छ।
आज एक अमेरिकी डलरको बिक्री दर १३९.८० रुपैयाँ र खरिद दर १३९.२० रुपैयाँ छ। यो हालसम्मकै सर्वाधिक मूल्य हो। ट्रम्प ह्वाइट हाउस फर्किने सुनिश्चित हुँदा पनि डलरको मूल्य सर्वाधिक उचाइमा पुगेको थियो।
यस अघि जनवरी १५ मा डलरको मूल्य १३८.९२ रुपैयाँको सर्वाधिक उचाइमा पुगेको थियो। त्यसपछि डलरमा घटबढ जारी थियो। केही दिन यता डलरको बिक्री दर १३८.८८ रुपैयाँ थियो। हिजो पनि यही दरमा डलरको मूल्य स्थिर थियो। आज एक्कासी बिक्री दर बढेर १३९.८० रुपैयाँको ऐतिहासिक विन्दुमा पुगेको हो।
डलर बढ्दा के हुन्छ?
डलरको मूल्य बढ्दा विदेशमा काम गर्ने नेपालीले पठाउने पैसा रेमिट्यान्स आयमा वृद्धि हुन्छ। डलरको वृद्धिले निर्यात व्यापारलाई राहत मिल्ने छ। तर वस्तुको निर्यात सीमित भएकाले नेपालले विनिमय दरबाट हुने लाभ भने उठाउन गाह्रो छ।
वस्तु तथा सेवा बिक्रीबाट हुने आम्दानीका साथै पर्यटन क्षेत्रको आयमा समेत सुधार हुने छ। हस्तकला लगायत नेपाली समानका निकासीकर्ताको आम्दानी बढ्छ।
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्न पर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।
बढ्दो पेट्रोलियम र डलरको मूल्यका कारण नेपाल थप महँगिने छ। अहिले पनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाउन सुरु गरिसकेको छ।
डलरको मूल्य वृद्धिले जति नेपाललाई फाइदा छ त्योभन्दा बढी नोक्सान छ। आयातमा निर्भर अर्थतन्त्र भएका कारण डलरको मूल्यवृद्धिले नेपाली बजार प्रभावित हुन्छ। डलर तिरेर विदेशबाट आउने सामानको मूल्य बढी पर्ने छ।
भारत तथा तेस्रो मुलुकबाट आउने मोटर, मोबाइल फोन, इलेक्ट्रोनिक्सका सामान, लत्ताकपडा लगायत सामान महँगो पर्ने छन्। चीनबाट आउने सस्ता सामानको भाउमा समेत असर पर्नेछ। डलर मूल्यमा हुने थपघटका आधारमा युआनको भाउ निर्धारण हुन्छ।
विदेशबाट कच्चा पदार्थ ल्याएर उत्पादन गर्ने उद्योगको लागतमा वृद्धि हुने छ। उत्पादित वस्तुको लागत वृद्धि भएपछि यसको असर केही दिनमै उपभोक्य वस्तुको मूल्यमा देखिन थाल्छ।
डलर बढ्दा सरकारलाई विदेशी ऋण र साँवा भुक्तानीमा अतिरिक्त भार पर्छ। सरकारले डलरमा ऊर्जा खरिद गरेको जलविद्युत् आयोजनाहरुलाई समेत बढी पैसा तिर्नुपर्ने हुन्छ। विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।