BIZMANDU
www.bizmandu.com

अर्थतन्त्र सुधारको ठोस कार्यक्रम नल्याए संकट निम्तिने पूर्वका उद्योगीको चेतावनी

२०८१ माघ २१

अर्थतन्त्र सुधारको ठोस कार्यक्रम नल्याए संकट निम्तिने पूर्वका उद्योगीको चेतावनी
अर्थतन्त्र सुधारको ठोस कार्यक्रम नल्याए संकट निम्तिने पूर्वका उद्योगीको चेतावनी


विराटनगर। कोशी प्रदेशका उद्योगीले अहिले आर्थिक संकुचन अन्त्यका लागि सरकारले ठोस कार्यक्रम नल्याए देश ठूलो संकटमा पर्ने चेतावनी दिएका छन्।

Tata
GBIME
NLIC

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको सातौं प्रदेश सभाको उदघाटन समारोहमा उद्योगीले आर्थिक शिथिलता अन्त्यका लागि सरकारलाई ठोस कार्यक्रम अघि बढाउन आग्रह गरे।

महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउतले चालु आर्थिक वर्षको ६ महिनामा नेपालले कुल ८ खर्ब २१ अर्ब १६ करोडको वैदेशिक व्यापार गर्दा निर्यात ९८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँमा सीमित हुनुले अर्थतन्त्र संकटोन्मुख रहेको पुष्टि भएको बताए।

उनले हालै जारी अध्यादेशले आशा जगाएको भन्दै कार्यान्वयनमा जोड दिए। ‘अहिले धेरै कानुन परिमार्जन गरेर अध्अयादेश ल्याइएको छ। यसलाई हामीले सकारात्मक रुपमा लिएका छौं। नतिजाका लागि संस्थागत संरचना र परिणाममुखी कार्यान्वयन आवश्यक छ’, राउतले भने।

समारोहमा महासंघका केन्द्रीय उपाध्यक्ष हेमराज ढकालले सरकारले पुँजीगत खर्च नबढाए आर्थिक वृद्धि हुन नसक्ने भन्दै अध्यादेश कार्यान्वयनमा ढिलाइ नगर्न आग्रह गरे।

महासंघ कोशी प्रदेशका पूर्वअध्यक्ष नरेन्द्र खड्काले तीन तहकै सरकारले कृषिमा आधारित उद्योग खोल्न प्रोत्साहित नगरे देश आर्थिकरूपमा अघि बढ्न नसक्ने बताए।

महासंघको कोशी प्रदेशले सातौं प्रदेश सभाका अवसरमा आफ्नो भवन शिलान्यास गरेको छ। मोरङको बुढीगंगा गाउँपालिका-२ मा २ कट्ठा जमिनमा निर्माण गर्न लागिएको अढाई तले भवनको शिलान्यास गरिएको हो। भवनमा २०० र ५० जना अटाउने सभा हल पनि हुनेछन्।