काठमाडौं। लामिनार टायल्सको उत्पादक लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणको लागि प्राथमिक सेयर निष्कासन गर्ने घोषणा गरेको छ।
कम्पनीले विद्यमान धितोपत्र दर्ता तथा निष्कासनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँटसम्बन्धी निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरेको जनाएको छ। कम्पनीले ६ महिनाभित्र आइपीओ जारी गर्ने लक्ष्य राखेको छ।
सेयर निष्कासन कार्यका लागि सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको पनि कम्पनीले जनाएको छ।
गत साता भएको सो सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेको थिए।
कम्पनीका अध्यक्ष सुब्रत धितालले भने, ‘हामीलाई विश्वास छ कि यो आइपीओले हाम्रो व्यवसाय विस्तारलाई थप गति दिनेछ। गुणस्तर र नवीनतामा निरन्तर सुधार गर्दै, औद्योगिक व्यवस्थापनलाई सुदृढ बनाउने हाम्रो यात्रामा यो एउटा महत्वपूर्ण कोसे ढुंगा साबित हुनेछ।’
उत्पादनमार्फत नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरको मापदण्ड पूरा गर्ने, विविध विकल्पहरु प्रदान गर्ने र उच्च गुणस्तरको टायल्सहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ कम्पनीले गत वर्षदेखि संचालन थालेको हो।
बर्दियाको गुलरियास्थित साँढे १२ बिगाह जमिनमा फैलिएको यूरोपेली गुणस्तरको अत्याधुनिक प्रविधियुक्त उत्पादन केन्द्रबाट लेमिनार टायल्स्को उत्पादन भइरहेको छ।
करिब ९९.९२ प्रतिशतसम्मको वाटर प्रुफ लेमिनार टायल्स् उच्चस्तरीय उत्पादनको प्रक्रिया र कच्चा पदार्थको प्रयोगको कारण सेरामिक लगायत अन्य टायलको तुलनामा तीन गुणासम्म बढी टिकाउ क्षमताका छन्।