काठमाडौं। चालु आर्थिक वर्ष ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरुले २३ अर्ब ६८ करोड ३५ लाख रुपैयाँ सेयर धितो कर्जा लगानी गरेका छन्।
बैंकहरुले गत असारको तुलनामा सेयर धितोमा लगानी गरेको रकम २६.३ प्रतिशतले धेरै हो। असार मसान्तसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ सेयर धितोमा ऋण लगानी गरेका बैंकहरुले पुससम्म १ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुर्याएका हुन्।
बैंकबाट ऋण लिएर सेयर किन्ने ठूला लगानीकर्ताको संख्या बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार ६ महिनामा १ करोडभन्दा बढीको कर्जा ३४.९ प्रतिशतले वृद्धि भएको छ। यस वर्ष १ करोडमाथिको सेयर धितो कर्जा १९ अर्ब ५१ करोड २२ लाख रुपैयाँ प्रवाह भएको छ।
असार मसान्तसम्म १ करोडभन्दा बढीको सेयर धितो कर्जा ५५ अर्ब ९३ करोड रुपैयाँ प्रवाह भएकामा पुसमा आइपुग्दा ७५ अर्ब ४४ करोड २४ लाख रुपैयाँ पुगेको छ।
५० लाखदेखि १ करोडसम्मको सेयर धितो कर्जा ६ महिनामा १४.९ प्रतिशतले वृद्धि भएको छ। यस्तो सेयर धितो कर्जा १ अर्ब ८५ करोडले बढेको हो। २५ लाखदेखि ५० करोड रुपैयाँसम्को ऋण लगानी ११.९ प्रतिशतले बढेर १६ अर्ब १४ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, २५ लाख रुपैयाँसम्मको सेयर धितो कर्जा ८.१ प्रतिशतले बढेर ७ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।
गत असारमा सेयर बजार बढ्दा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने ऋण ह्वात्तै बढेको थियो। भदौपछि नेप्से सुस्ताउँदा ऋण प्रवाह घटेकामा पछिल्लो समय फेरि बजार बढ्न थालेसँगै ऋण लगानी बढ्दै गएको छ।