काठमाडौं। नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ। इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो।
सेयरधनीले अंकित मूल्य १०० रुपैयाँमा फागुन २८ गतेसम्म हकप्रदमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ। इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज गरिसेकाले माघ १५ गतेसम्म कायम सेयरधनीले आवेदन दिन पाउनेछन्।
कम्पनीले हकप्रद प्रयोजनका लागि माघ १८ गते बुक क्लोज गरेको थियो। इन्स्योरेन्सको हाल २ अर्ब १ करोड २३ लाख रुपैयाँ चुक्ता पुँजी छ। कम्पनीले चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न लागेको हो। हकप्रद बिक्रीपछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ।
नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको २.५ अर्ब रुपैयाँ चुक्ता पुँजी तोकेको छ। प्राधिकरणले तोकेको चुक्ता पुँजी कायम गर्न इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
इन्स्योरेन्सको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। सेयरधनीले हकप्रद खरिदका लागि बिक्री प्रबन्धक तथा इन्स्योरेन्सको कार्यालहयहरुबाट आवेदन दिन सक्नेछन्। त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरुबाट सी-आस्वा तथा मेरो सेयरमार्फत समेत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।