काठमाडौं । थ्रीजी प्रयोगकर्ता ९२ प्रतिशतले घट्दा फोरजी प्रयोगकर्ताको संख्या भने चुलिएको छ।
देशभर नेपाल टेलिकम र एनसेलका थ्रीजी प्रयोगकर्ताको संख्या ५ वर्षअघि २०७७ पुसमा १ करोड १२ लाख रहेकामा २०८१ पुसमा आइपुग्दा ९ लाख २३ हजारमा खुम्चिएको छ। २०७७ पुसमा थ्रीजी ग्राहक टेलिकमसँग ८६ लाख ३४ हजार र एनसेलसँग २५ लाख ६६ हजार थिए।
फोरजी ग्राहक ५ वर्षअघि टेलिकमसँग २३ लाख ८३ हजार र एनसेलसँग ४० लाख ८६ हजार थियो। तर, ५ वर्षको अवधिमा फोरजी ग्राहक संख्या टेलिकमले ४५२ प्रतिशत र एनसेलले १९२ प्रतिशतले बढाएका छन्।
अहिले टेलिकमसँग १ करोड ३१ लाख र एनसेलसँग १ करोड १९ लाख फोरजी ग्राहक रहेको नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले देखाउँछ।
प्राधिकरणका अनुसार फोरजीको पेनिट्रेसन ८६ प्रतिशत पुगेको छ। जबकि थ्रीजीको ३.१७ प्रतिशत र टुजीको अझै पनि ११.५३ प्रतिशत छ। देशभर टुजी प्रयोगकर्ताको संख्या ३३ लाख ६२ हजार रहेको प्राधिकरणको तथ्यांक छ।
टेलिकमले पहिलोपटक २०७३ पुस १७ गतेबाट फोरजी सेवा सञ्चालनमा ल्याएको थियो। काठमाडौं र पोखरामा चल्ने गरी टेलिकमले फोरजी सेवा सुरु गरेको थियो। एनसेलले २०७४ जेठमा काठमाडौं उपत्यकाबाट फोरजी सेवा सुरुवात गरेको थियो। अहिले अस्तित्वमा नरहेको स्मार्ट टेलिकमले सोही वर्ष कात्तिकबाट फोरजी सेवा सुरु गरेको थियो। अपरेटरहरुले फोरजी विस्तारको काम पूर्णरुपमा सम्पन्न गरिसकेका भने छैनन्।
फोरजी प्रयोगकर्ता बढ्नुमा स्मार्टफोनको पहुँच र अपरेटरहरुको आक्रामक लगानी मुख्य कारण रहेको दूरसञ्चार विज्ञ आनन्दराज खनाल बताउँछन्। नेपालमा सामाजिक सञ्जालको प्रयोग अत्यधिक बढेकाले पनि फोरजीको पेनिट्रेसन बढ्दै गएको उनको बुझाइ छ।
‘फेसबुक, युट्युब, इन्स्टाग्राम, ह्वाट्सएप, टिकटक नचलाउने कोही भएन। भनेको स्मार्टफोन पनि हुने, फोरजी नेटवर्कको कभरेज पनि हुने भनेपछि पेनिट्रेसन त बढ्ने भयो। कन्टेन्ट इन्टरनेटमा प्रशस्त छन्, त्यसलाई प्रयोग गर्न नेटवर्क छ, कनेक्ट गर्न डिभाइस पनि छ,’ खनालले भने।
टेलिकम अपरेटरहरुले डेटाको पहुँच बढाउँदै लगेका कारण पनि फोरजी प्रयोगकर्ता बढेका हुन्। सस्तो मूल्यमा टेलिकम कम्पनीहरुले डेटा प्याकेज उपलब्ध गराएकाले पनि फोरजी पेनिट्रेसन बढ्दै गएको खनालले बताए।
अनलिमिटेड डेटा, नाइट टाइम अफर, सस्तो दैनिक/साप्ताहिक प्याकेज जस्ता अनेकन स्किममार्फत अपरेटरहरुले फोरजीतर्फ प्रयोगकर्तालाई आकर्षित गरिरहेका छन्।
‘५-७ सय खर्च गर्दा एक महिनाभरि चलाउन मिल्ने गरी फोरजी इन्टरनेटसहितको प्याकेज आएको छ। आफ्नो क्षमता अनुसारका प्याकेज छन्। यसले फोरजीको पेनिट्रेसन बढ्नु स्वाभाविक हो,’ उनले भने।
यसका साथै कम मूल्यकै स्मार्टफोनहरुले फोरजी सर्पोट गर्ने भएपछि यसको प्रयोग बढ्दै गएको देखिन्छ। मुख्यगरी कम मूल्य पर्ने चिनियाँ स्मार्टफोनले नेपालको फोरजी प्रयोगमा योगदान पुर्याइरहेका छन्।
सरकारी कम्पनी नेपाल टेलिकम र एनसेलले अर्बौं रुपैयाँ खर्चिएर फोरजीको पूर्वाधार विस्तार गरिरहेका छन्। यसले पनि सेवालाई देशव्यापी बनाउन सघाएको खनालले बताए। सहरीसँगै ग्रामीण भेगमा पनि अपरेटरहरुले फोरजी विस्तार गरिरहेका छन्।
थ्रीजीको तुलनामा गुणस्तरीय इन्टरनेट र भ्वाइस सेवा (भीओएलटीई) हुने भएकाले फोरजीतर्फ प्रयोगकर्ता सिफ्ट हुँदै गएका छन्।
ग्रामीण क्षेत्रमा अझै पनि थ्रीजी वा फोरजी पूर्वाधार नपुगेको साथै फिचर फोन प्रयोगकर्ता धेरै भएकाले टुजी प्रयोगकर्ताको संख्या साढे ३३ लाखभन्दा बढी रहेको प्राधिकरणले जनाएको छ। पछिल्लो समय भ्वाइसबाट हुने आम्दानी निरन्तर घटेर टेलिकम र एनसेलको आम्दानी डेटातर्फ सिफ्ट हुँदा नाफासमेत खुम्चिंदै गइरहेको छ।