BIZMANDU
www.bizmandu.com

राजस्व चुहावट कसुरमा बुटवलको अलिम इन्टरप्राइजेजका संचालकविरुद्ध मुद्दा दायर

२०८१ माघ १६

राजस्व चुहावट कसुरमा बुटवलको अलिम इन्टरप्राइजेजका संचालकविरुद्ध मुद्दा दायर
राजस्व चुहावट कसुरमा बुटवलको अलिम इन्टरप्राइजेजका संचालकविरुद्ध मुद्दा दायर


बुटवल। राजस्व अनुसन्धान विभागले राजस्व अनुसन्धान कार्यालय बुटवलमार्फत बुटवल उपमहानगरपालिका-५ नेपालगञ्जरोडस्थित अलिम इन्टरप्राइजेजका संचालक अलिम मियाँविरुद्ध राजस्व चुहावट कसुरमा मुद्दा दायर गरेको छ।

Tata
GBIME
NLIC

विभागले अलिम इन्टरप्राइजेजका संचालक मियाँले बिनास्रोतका भन्सार चोरीपैठारी गरिएका मालवस्तुको कारोबार गरी भन्सार महसुल, मूल्य अभिवृद्धि कर बिलविजक जारी नगरीकनै मूल्य अभिवृद्धि कर तथा आयकर छलेर राजस्व चुहावट गरेकाले उच्च अदालत तुलसीपुर बुटवलमा मुद्दा दायर गरेको हो।

प्रतिवादीले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन (संशोधनसहित) २०५२ को दफा ३ द्वारा निषेधित कार्य गरेका विषयमा अनुसन्धान गर्दा सोही ऐनको दफा ४ को कसुर गरेको पुष्टि हुन आएकाले प्रतिवादी मियाँबाट सोही ऐनको दफा २ (छ, १) बमोजिम बिगो ३ करोड ४३ लाख ३९ हजार ४ सय ३३ रुपैयाँ बिगो र सोही ऐनको दफा २३ को उपदफा (१) बमोजिम बिगोको सतप्रतिशत जरिबाना मागदाबी गरिएको छ। साथै सोही ऐनको दफा २३ को उपदफा (१) (ख) बमोजिम निज प्रतिवादीलाई हदैसम्मको कैद सजाय मागदाबी गरिएको अदालतमा दायर अभियोग पत्रमा उल्लेख छ।

राजस्व अनुसन्धान विभागका अनुसार प्रतिवादी मियाँले आर्थिक वर्ष २०७८/८९ मा भन्सार चोरी पैठारी गरी मालवस्तु कारोबार गर्ने गरेको सूचनाका आधारमा निजको व्यावसायिक फर्ममा राजस्व अनुसन्धान कार्यालय बुटवलको टोलीले २०७९ असार २४ र २५ गते खानतलासी गर्दा मौज्दात घटीबढी देखिएको र निजको बैंक स्टेटमेन्टमा आर्थिक वर्ष २०७८/७९ मा फर्ममा देखाइएको कारोबारभन्दा बढी देखिएको आधारमा निजले राजस्व छली गरेको प्रमाणित भएको बताइएको राजस्व अनुसन्धान कार्यालल बुटवलले जनाएको छ।

प्रतिवादी मियाँको राजस्व कार्यालय बुटवलले अनुसन्धानका क्रममा कारोबारका सम्बन्धमा आवश्यक सोधपुछका लागि पटक-पटक सम्पर्क गर्दा पनि उपस्थित नभई फरार रहेको र इलाका प्रहरी कार्यालय बुटवलले खोजतलास गर्दा समेत फेला नपरेकाले मुद्दामा अदालतबाट म्याद जारी भई पक्राउ गर्न माग गरिएको छ। रासस