BIZMANDU
www.bizmandu.com

बैंकहरुले संस्थागत निक्षेप लिनै छाडे, ब्याजदर सस्तो हुँदा पनि किन मानिरहेका छैनन्?

२०८१ माघ १५

बैंकहरुले संस्थागत निक्षेप लिनै छाडे, ब्याजदर सस्तो हुँदा पनि किन मानिरहेका छैनन्?
बैंकहरुले संस्थागत निक्षेप लिनै छाडे, ब्याजदर सस्तो हुँदा पनि किन मानिरहेका छैनन्?


काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अक्षय कोषको रकम वाणिज्य बैंकमा मुद्दती खातामा राख्न सूचना निकाल्यो। सेबोनले पैसा राख्न इच्छुक बैंकलाई ब्याजदर खुलाएर पुस २३ गतेसम्म प्रस्ताव पेस गर्न भनेको थियो।

Tata
GBIME
NLIC

तर सेबोनको पैसामा कुनै बैंकले पनि आँखा लगाएनन्। एउटा पनि प्रस्ताव नपरेपछि सेबोनले माघ २ गते पुन: सूचना निकाल्यो। त्यतिखेर १ वर्षे ब्याजदर खुलाएर प्रस्ताव पेस गर्न तीन दिनको समय दिइयो। यसपालि पनि कुनै पनि बैंकले सेबोनको पैसा राख्न रुचि देखाएनन्।

सेबोनले माघ ८ गते फेरि मुद्दती खातामा लगानी गर्न भनेर सूचना निकादल्दा पनि एउटै आवेदन परेन।

बैंकहरुले पैसा लिन नचाहेको सेबोनको मात्र होइन, अरु संस्थागत लगानीकर्ताले पनि अहिले यस्तै नियति भोगिरहेका छन्।

सामाजिक सुरक्षा कोषले पुस २५ गते ९ अर्ब ३४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्न सूचना जारी गर्‍यो। तर प्रस्ताव परेन। कोषले महिनैपिच्छे ९ अर्ब रुपैयाँ मुद्दतीमा लगानी गर्नका लागि प्रस्ताव माग्दै आएको छ।

कोषका प्रवक्त्ता कृष्ण अधिकारीले मुद्दतीमा लगानी गर्न खोजेको रकम बैंकहरुले पूरै नलिएको बताए। ‘लगानी गर्न खोजेको रकम भन्दा थोरै रकमका लागि मात्र दरखास्त परिरहेको छ। बैंकले नलिएका कारण हामीले अहिले ट्रेजरी बिल्स र ऋणपत्रमा लगानी गरिरहेका छौं,’ अधिकारीले भने।

चालु आर्थिक वर्षको पाँच महिनामा बैंकहरुको मुद्दती निक्षेपमा कर्मचारी सञ्चय कोषको लगानी खुम्चिन पुगेको छ। मुद्दतीमा सञ्चय कोषको लगानी ८ अर्ब २४ करोड रुपैयाँले खुम्चिएको हो।

कोषले वार्षिक ५० अर्ब रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने गरेकामा यसपालि खुम्चिन पुगेको हो। कोषका प्रवक्ता दामोदर सुवेदीले मुद्दतीमा लगानीका लागि बोलपत्र आह्वान गर्दा प्रस्ताव नै पर्न छोडेको बताए।

‘हामीले मुद्दतीमा पैसा राख्नका लागि बोलपत्र आह्वान गरिरहेका छौं। तर बैंकहरुले प्रस्ताव पेस गरेकै छैनन्। जसले गर्दा यसपालि निक्षेपमा हाम्रो लगानी खुम्चिन पुगेको छ,’ सुवेदीले भने, ‘बैंकहरुले पैसा लिन नमानेपछि हामीले ट्रेजरी बिल्स र सरकारी ऋणपत्रमा लगानी बढाउन थालेका छौं।’

सञ्चय कोषले पोहोर पाँच महिनामा मुद्दती निक्षेपमा लगानी १९.४ प्रतिशतले बढाएको थियो। गत आर्थिक वर्ष पहिलो पाँच महिनामा कोषले मुद्दती निक्षेपमा २५ अर्ब ८९ करोड रुपैयाँ लगानी गरेको थियो।

बैंकहरुको मुद्दतीमा अन्य संस्थागत निक्षेपकर्ताको लगानी ०.८ प्रतिशत अर्थात २ अर्ब ३१ करोड रुपैयाँले खुम्चिएको छ। सरकारी संस्था र निगमहरूको लगानी ०.१ प्रतिशत अर्थात २० करोड ९ लाख रुपैयाँले खुम्चिएको छ।

ब्याजदर निक्कै तल आउँदा पनि बैंकहरुले कर्जाको माग बढ्न नसकेर तरलता फालाफाल भएका कारण संस्थागत लगानीकर्ताको पैसा लिन नमानेका हुन्।

छोटो अवधिको लागि मुद्दती निक्षेपमा लगानी गर्न खोजेकाले आफूहरुले संस्थागत लगानीकर्ताको पैसा लिन रुची नदेखाएको एक बैंकका सीइओले बताए।

‘अपेक्षाजनकरुपमा कर्जा लगानी बढ्न सकेको छैन। बैंकहरुको सीडी रेसियो ६०/६१ प्रतिशतसम्म झरेको अवस्था छ,’ ती सीइओले बिजमाण्डूसँग भने,’तरलता फालाफालका कारण अहिले ३ प्रतिशतमा राष्ट्र बैंकमा लगानी गर्नुपरिरहेको छऽ यस्तो बेला संस्थागत लगानीककर्ताको पैसामा आँखा लगाएर के गर्नु? हामीलाई पनि लगानी गर्ने ठाउँ त चाहियो नि।’

लामो अवधिका लागि मुद्दतीमा पैसा राख्न चाहने संस्थागत लगानीकर्ताको रकम भने लिइरहेको उनको भनाइ छ।

मुद्दतीमा बीमा कम्पनीहरुले भने लगानी बढाइरहेका छन्। पछिल्लो पाँच महिनामा बीमा कम्पनीहरुले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दतीमा २२ अर्ब ३२ करोड रुपैयाँ लगानी गरेका छन्।

‘बीमा कम्पनीहरुले एक वर्षभन्दा बढी समयमा लागि राख्न प्रस्ताव माग्ने गरेकाले हामीले लिइरहेका छौं। अरु धेरै संस्थाले भने ब्याजदर कम छ भनेर ३ महिना र ६ महिनाका लागि मात्र राख्न खोज्छन्। तरलता धेरै भएको बेला छोटो अवधिको निक्षेपले हाम्रो लागत मात्र बढ्छ। त्यही कारण हामीले नलिएका हौं,’ ती सीइओले भने, ”बीमा कम्पनीले विगतमा तरलता टाइट भएको बेलामा पैसा राखिदिएर सहयोग गरेका थिए। त्यो सहयोग त हामीले बिर्सिनु भएन। त्यसकारण लगानी गर्न नसके पनि बीमा कम्पनीको पैसा लिइरहेका हौं।’