काठमाडौं। डलर बिक्री गरेर भारतीय रुपैयाँ (भारु) किन्ने क्रम बढ्न थालेको छ। चालु आर्थिक वर्ष ५ महिनामा १ अर्ब ६४ करोड २० लाख रुपैयाँ डलर सटही बापत १ खर्ब ३७ अर्ब भारु खरिद गरिएको छ।
डलर बिक्री गरी भारु सटही २७ अर्ब रुपैयाँले बढेको छ।
पोहोर पाँच महिनामा १ अर्ब ३८ करोड रुपैयाँ डलर बिक्री गरी १ अर्ब ३८ करोड रुपैयाँ भारु खरिद गरिएको थियो। चालु आर्थिक वर्ष साउनमा २८ अर्ब ५८ करोड भारु खरिद गरिएको थियो।
त्यसैगरी, भदौमा १८ अर्ब ५५ करोड, असोजमा २५ अर्ब १६ करोड, कात्तिकमा २८ अर्ब ६३ करोड र मंसिरमा ३७ अर्ब २१ करोड रुपैयाँ भारु खरिद गरिएको तथ्यांकमा उल्लेख छ।
डलर बिक्री गरी भारु खरिद गर्नु भनेको भारतबाट वस्तु आयात बढ्नु हो। वस्तु आयात बढ्दै जाँदा डलर बिक्री गरी भारतीय रुपैयाँ खरिद गर्ने क्रम बढ्ने राष्ट्र बैंकका अधिकारीहरु बताउँछन्।
दुई वर्षदेखि आयात अपेक्षितरुपमा बढ्न नसक्दा अर्थतन्त्रले गति लिन सकिरहेको छैन। आयातमा कमीले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम थुप्रिएको छ भने बैंक ब्याजदर न्युनतम विन्दुमा आएको छ। यस्तै विदेशी मुद्रा सञ्चिति राष्ट्र बैंकमा थुप्रिएकाले अर्थतन्त्र चलायमान हुन सकेको छैन।
अर्थतन्त्रले गति लिन नसक्दा राजस्व लक्ष्यअनुरुप संकलन हुन नसकेको अवस्था छ। लक्ष्यअनुसार राजस्व नउठ्दा विकास निर्माणको काममा असर परेको छ। पूर्वाधार निर्माणले तीव्रता लिन नसक्दा त्यसको असर अर्थतन्त्रमा देखिएको छ।
डलर बिक्री गरेर भारु साट्ने क्रम बढेसँगै आयातमा सुधार देखिन थालेको छ। पुस महिनामा यो वर्षकै धेरै आयात भएको छ। भन्सार विभागका अनुसार पुसमा १ खर्ब ६१ अर्ब रुपैयाँको वस्तु आयात भएको हो।
अर्थविद् केशव आचार्य भारु खरिद बढ्दा यसले भारतबाट हुने आयात बढ्न थालेको भनेर बुझ्नुपर्ने बताउँछन्।
‘नेपालमा आयात हुने अधिकांश वस्तु भारतबाट आउँछ। हाम्रो निर्यातको तुलनामा आयात धेरै छ,’ उनले भने, ‘भारतसँग स्थिर विनिमय दर प्रणाली अवलम्बन गरेका कारण आयातित वस्तुको भुक्त्तानी भारुमा दिनुपर्ने हुन्छ।’
अहिले विदेशी विनिमय सञ्चिति पर्याप्त छ। डलर बेचेर साटेको भारुबाट वस्तु आयात गर्दा मुद्रा सञ्चितिमा खासै फरक नपर्ने उनको भनाइ छ।
‘बीओपी भारतसँग घाटामा भए पनि समग्रमा घाटामा छैन। त्यसकारण तत्काल केही फरक पर्दैन,’ उनले भने, ‘भविष्यमा सञ्चिति केही घट्छ। विदेशी विनिमय सञ्चिति घट्दै गयो भने ब्याजदर बढ्दै जाने सम्भावना हुन्छ। तर, ७ महिनालाई पुग्ने सञ्चिति भए पुग्नेमा अहिले १५ महिनाका लागि पुग्ने रहेकाले डलर बिक्री गरी भारु खरिदले फरक पर्दैन।’
चालु आर्थिक वर्ष छ महिनामा ८ खर्ब २२ अर्बको वस्तु आयात भएको छ। पोहोर यसै अवधिमा ७ खर्ब ६८ अर्बको वस्तु आयात भएको थियो।
नेपालमा अधिकांश वस्तु भारतबाट आयात गर्ने गरिएको छ। अधिकांश वस्तु आयात गर्दा भारुमा नै भुक्त्तानी गर्ने गरिएको छ। त्यसकारण राष्ट्र बैंकले डलर बिक्री गरेर भारुको आपूर्ति गर्नुको विकल्प छैन।
चालु आर्थिक वर्ष भारतबाट मात्रै ५ खर्ब २ अर्ब ८५ करोड रुपैयाँको वस्तु आयात गरिएको भन्सार विभागको तथ्यांक छ। यो कुल आयातको ६१ प्रतिशत हो।
भारतबाट साउनमा ७७ अर्ब ६८ करोड, भदौमा ८२ अर्ब ९७ करोड, असोजमा ८० अर्ब, कात्तिकमा ७६ अर्ब, मंसिरमा ९४ अर्ब र पुसमा ९२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट डलर बिक्री गरेर भारु खरिद गर्नु भनेको भारतबाट वस्तुको आयात बढ्न थालेको रुपमा लिनुपर्ने बताउँछन्।
‘भारु साट्ने रेसियो बढ्नुले भारतबाट आयात बढ्न थालेको भन्ने देखाउँछ। आयातको भोलुम बढेन भने हामीले आयात गर्ने वस्तुको मूल्य बढ्न थालेको भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘आयात बढ्नु भनेको आर्थिक गतिविधि बढ्ने संकेत हो।’
वस्तुगत आधारमा यातायात उपकरण, सवारी साधन तथा सवारी साधनका स्पेयर पार्ट्स, भटमास तेलको कच्चा पदार्थ, स्पन्ज आइरन, लसुन लगायतको आयात बढेको छ। कच्चा पर्दाथको आयात बढ्नुले अर्थतन्त्र चलायमान हुने संकेत देखिएको जानकारहरु बताउँछन्।