काठमाडौं। तीन/चार वर्षअघिसम्म सुपरस्टोर पसेर भान्साका लागि मरमसला खरिद गर्नेहरुलाई सम्झना हुनुपर्छ- मसला, अचार, सिन्के चाउचाउ लगायत वस्तुहरु विदेशी नै विदेशी उत्पादन र्याक र्याकमा हुन्थे। जुन प्याकेट उठायो त्यो आयातित नै पर्थ्यो। त्यो ठाउँ हिजोआज स्वदेशी उत्पादनले लिएको छ। गेडागुडी, मसला, नुडल्स, चिप्स, चिजबल्स, भुजिया, पापड, दुग्धजन्य परिकार धेरैजसो स्वदेशी उत्पादन छन्।
सुपरस्टोरमा विदेशी उत्पादन हुँदै नभएका होइनन् तर, भान्साका लागि चाहिने मरमसलाका र्याकहरुमा हेर्दै गए स्वदेशी घरेलु उद्योगका उत्पादनको संख्या दिनदिनै बढेका छन्। सिन्की, गुन्द्रुक, फापर, कोदोको पिठो, कागुनो, मार्सी चामल, विभिन्न प्रकारका मस्यौरासँगै मकैको च्याँख्लाले सुपरस्टोरमा ग्राहक रिझाइरहेका छन्।
चाउचाउ, बिस्कुट, ससेज, जाम, चिया, कफी आदि स्वदेशी उत्पादन नै उल्लेख्य परिमाणमा बजारमा छन्।
स्वदेशी उद्योगहरुले लेबलिङ त आकर्षक बनाएकै छन्, गुणस्तरमा पनि ध्यान दिन थालेकाले बजार सहज भएको छ। घरेलु उद्योगहरुले आफ्ना लेबलमा बजारमा उत्पादन ल्याएकै छन् साथमा सुपरस्टोरहरुले पनि आफ्नै प्याकिङमा खाद्यवस्तु बिक्रीमा राखेका छन्। साना घरेलु उद्योगहरुले सुपरस्टोरहरुलाई अचार, जाम, चिप्स, विभिन्न प्रकारका मसला आपूर्ति गरिरहँदा रैथाने उत्पादन छेलोखेलो देखिएको हो।
किराना र खुद्रा पसल-बजारसँगै भाटभटेनी, सेल्सबेरी र बिगमार्ट लगायतका ठुला सुपरमार्केटमा स्वदेशमा उत्पादित कृषि वस्तु र खाद्यान्न मनग्ये देखिएको छ। मसलाका ठुला उद्योग सेन्चुरी र करेन्टका उत्पादनले राम्रै बजार लिएको छ।
घरेलु उद्योगका उत्पादनमा विविधीकरणले पनि स्वदेशी खाद्यवस्तुको बजारीकरणलाई सघाएको छ। जिल्ला जिल्लामा सञ्चालित साना उद्योगहरुले उत्पादन गर्दै आएका मसला र अचार बजारमा आएका छन्। आँप, मुला, लप्सी, अकबरे खुर्सानी, निबुवा, कागती, गाजर, गोलभेंडा र अदुवाका अचारहरु आकर्षक प्याकिङ तथा लेबलमा सुपरस्टोरसम्म आइपुगेका छन्।
टिम्मुर, टिम्मुरको धुलो, मरिचको धुलो, गरम मसला, जिरा धनियाँ,अदुवाको धुलो, सुकेको खुर्सानी, धुलो खुर्सानी, भेजिटेबल मसला, चिकेन, मटन मसलाहरु स्थानीय तहका घरेलु उद्योगसँगै ठूला उद्योगले उत्पादन गरिरहेका छन्।
व्यवसायीहरुका अनुसार हाल बजारमा करिब ७० प्रतिशत अचार र मसलाहरु स्वदेशी उत्पादन छन्। यस्ता खाद्यवस्तु स्थानीयस्तरको बजारमा त छँदैछ विदेश निर्यात पनि बढेको छ।
किसान र बजारबाट खरिद गरी कम्पनीको नाममा ब्राण्डिङ गरी अचार, मसला, डेरी आइटम, चिप्स, दाल गेडागुडी र अन्य खाद्यान्नहरु सुपरस्टोरहरुले बिक्री गरिरहेका छन्।
‘हामी त सकेसम्म स्वदेशी उत्पादन बेच्न पाउँदा नै खुसी हुन्छौं। हिजोआज स्वदेशी उत्पादन पर्याप्त पाइएकाले पनि बजारमा देखिएको हो,’ भाटभटेनी सुपर मार्केटका सीइओ पानु दत्त पौडेल भन्छन्, ‘ग्राहकले सकभर स्वदेशी उत्पादन नै प्रयोग गर्ने बानी गरिदिए त्यसको प्रभाव दुरगामी छ। किसानसम्मलाई फाइदा पुग्छ।’ स्वदेशी उत्पादन बजारले बजार पार त्यसले रोजगारी पनि बढाउने उनले बताए।
‘मसला, अचार र डेरी आइटमहरु ३/४ वर्ष अघिसम्म आयात गर्नु बाध्यता थियो, विकल्प थिएन,’ उनले भने, ‘अहिले ९० प्रतिशत अचार र ७० प्रतिशत मसलाहरु यहीँका छन्। स्वदेशी उत्पादन बढेकाले हामीले पनि धेरै राखेका हौं।’ आफ्नो सुपरस्टोरले अहिले पनि अचार र मसला आयात गरिरहेको उनले बताए। तर, आयातितको परिमाण भने बर्सेनि घटेको छ।
‘पहिले पहिले नेपालमा मसला उत्पादन गर्न आधुनिक मेसिनहरु थिएनन्, उद्योगहरुले थोरै उत्पादन गर्थे, आयात बाध्यता थियो,’ उनले भने,’अहिले स्वदेशी कच्चा पदार्थले नपुगेर बाहिरबाट ल्याएर पनि मसला प्रशोधन र प्याकेजिङ गर्ने उद्योगका प्रोडक्ट निकै स्तरीय भइसकेको छ।’ बजारमा मागअनुसार आपूर्ति भइरहेकाले आयातित मसला र अचारलाई स्वदेशी उत्पादनले पछि पार्दै लगेको उनको भनाइ छ।
स्वदेशी उत्पादनले बजार पाउनुमा धेरै वटा कारण रहेको उनी प्रष्ट्याउँछन्। ‘उपभोक्ताको मागअनुसार हामी विदेशी पनि राख्ने गर्छौ। बीएमसी जस्ता विदेशी मसला पहिले जस्तो परिमाणमा आयात हुँदैन। भन्सार र लोजिस्टिक्स् नपर्ने भएपछि स्वदेशीमा लागत सस्तो पर्छ। यसले गर्दा आयात गरेको भन्दा नेपालमा उत्पादित मसला २० देखि ३५ प्रतिशतसम्म उपभोक्तालाई सस्तो पर्छ,’ उनले भने। स्वदेशी उत्पादनहरु उपभोक्ताको रोजाइमा पर्दै जाँदा बजार स्वाभाविकरूपमा बढेको उनले बताए।
‘हिजोआज स्वदेशी अचार र मसलाहरुको माग उच्च छ। हामीलाई बाहिरको प्रोडक्ट आयात गरेको लागतभन्दा ३५ देखि ४० प्रतिशत सस्तो पर्छ,’ सीइओ पौडेलले भने, ‘हाम्रो खरिद लागत धेरै नपरेका प्रोडक्टको उपभोक्ता मूल्य पनि सस्तो छ। सस्तोमा क्वालिटी प्रोडक्ट पाइन थालेकाले स्वदेशी उत्पादन धेरै देखिन थालेको हो।’
अर्को सुपरस्टोर सेल्सबेरीका सीइओ सुशील प्रधानाङ्गले कोरोनाकालपछि रैथाने उत्पादनको बजार बढेको बताउँछन्। ‘कोभिडपछि ग्राहकरुले अर्गानिक र स्वदेशी उत्पादन बढी खोज्न थाले,’ उनी भन्छन्, ‘सस्तोमा गुणस्तरीय प्रोडक्ट पाइयो भने उपभोक्ताको छनोटमा महँगो पर्दैन।’
मसलाजन्य वस्तुसँगै स्वदेशी उद्योगहरुले अचारको उत्पादन निकै बढाएको उनी बताउँछन्। ‘१० वर्ष पहिले स्वदेशी अचारहरु मार्केटमा थिएनन्, सबै भारतीय पाइने गरेको थियो। अहिले स्वदेशी ब्राण्डका अचारहरु धेरै बजारमा छन्,’ उनले भने, ‘अहिलेका स्वदेशी उद्योगका उत्पादनको क्वालिटी र लेबलिङ पनि ग्राहकले मन पराउने भइसकेको छ।’ ग्राहकको रोजाइमा पर्ने वस्तु नै सुपरस्टोरको प्राथमिकतामा हुने उनले बताए।
‘सबै थरिका प्रोडक्ट राख्नु हाम्रो बाध्यता हो, किनभने ग्राहकहरुको च्वाइस फरक फरक हुन्छ। तर, सकेसम्म स्वदेशी प्रोडक्टलाई प्राथमिकता दिएका छौं,’ उनले भने, ‘अचार मात्र होइन स्वदेशी मसला र अन्य उत्पादनहरु अहिले ग्राहकको प्राथमिकतामा परेका छन्। हामीले जे बढी बिक्री हुन्छ त्यही प्रोडक्ट नै धेरै राख्नै पर्छ।’
कतिपयको कच्चा पदार्थ आयात हुने भएकाले स्वदेशी उत्पादन पनि महँगो नै भएको उनको भनाइ छ। स्थानीयस्तरमा उपलब्ध कच्चा पदार्थबाट उत्पादित खाद्यवस्तु भने गुणस्तरीयसँगै सस्तो रहेको उनले बताए। ‘नेपालमै उत्पादन हुने प्रोडक्टले बाहिरबाट आउनेसँग प्रतिष्पर्धामा टिकिरहन गुणस्तर र प्याकेजिङमा अझै धेरै ध्यान दिनुपर्ने उनले बताए।
‘केही मेड इन नेपाल प्रोडक्टहरुको उत्पादन लागत नै धेरै हुने रहेछ। त्यसैले चाहेर पनि सस्तो हुँदैन,’ उनले भने, ‘सरकारले त्यस्ता प्रोडक्टका विषयमा किसान र उत्पादकलाई सहजीकरण गर्नुपर्छ। त्यस्तै बाहिरको प्रोडक्ट आयातलाई निरुत्साहित गर्नुपर्छ।’
मसला, अचार र डेरीजन्य उत्पादनहरुको बजार निकै ठूलो छ। यही बजारमागलाई ध्यानमा राखेर उद्योग, सहकारी र घरेलु उद्योगसँगै असंगठित व्यक्तिगत उद्यमको प्रयासमा रैथाने उत्पादन बजारमा बढेको छ। अधिक कारोबार हुने खाद्यवस्तु उत्पादनमा गुणस्तर कायम गरेर राम्रो प्याकेजिङ र मितव्ययी मूल्यमा बजारमा ल्याउँदा ग्राहकको रोजाइमा पर्ने व्यवसायीको भनाइ छ।