सन् २०२४ मा थाइल्यान्डमा ७० हजार १३७ वटा पूर्ण विद्युतीय सवारी दर्ता भएका थिए, जुन गत वर्षको तुलनामा ८.१ प्रतिशत कम हो। यद्यपि, यसले १४ प्रतिशत बजार हिस्सालाई ओगटेको छ।
सबैभन्दा धेरै बिक्री हुने शीर्ष १० ब्रान्डहरूमध्ये सातवटा चिनियाँ ब्रान्ड थिए, जसमा बीवाइडी एक्लैले एकतिहाइभन्दा बढी बजार हिस्सा ओगट्दै पहिलो स्थानमा रहन सफल भएको छ।
बीवाइडीले थाइल्यान्डमा अक्टोबर २०२२ मा एट्टो थ्री मोडल सार्वजनिक गरेर नोभेम्बरदेखि बिक्री सुरु गरेको थियो। सन् २०२३ को जनवरीदेखि बीवाइडीले थाइल्यान्डमा लगातार १८ महिनासम्म पूर्ण विद्युतीय सवारी बिक्रीको शीर्ष स्थान कायम गरेको छ। हाल थाइल्यान्डमा बिक्री हुने हरेक तीनमध्ये एक विद्युतीय गाडी बीवाइडीको हुने गरेको छ।
श्रेणी | ब्रान्ड | बिक्री | बजार हिस्सा (%) |
---|---|---|---|
१ | बीवाइडी | २७,००५ | ३८.५ |
२ | एमजी | ९,०८१ | १२.९ |
३ | नेटा | ७,९६९ | ११.४ |
४ | चाङ्गन | ५,९१२ | ८.४ |
५ | जीएसी आयन | ५,१८५ | ७.४ |
६ | टेस्ला | ४,१२१ | ५.९ |
७ | जीडब्लुएम ओरा | ३,२३१ | ४.६ |
८ | भोल्भो | २,५६३ | ३.७ |
९ | बीएमडब्लु | १,४८३ | २.१ |
१० | एसजीएमडब्लु वुलिङ | ७११ | १.० |
थाइल्यान्डको अटो बजारमा होन्डा, टोयोटा, निसान र आइसुजु लगायत जापानी ब्रान्डहरूले यसअघि ९० प्रतिशतभन्दा बढी हिस्सामा ओगटेका थिए। बीवाइडीले थाइल्यान्डलाई आधार बनाएर दक्षिणपूर्वी एशियाली बजारमा आफ्नो पकड विस्तार गर्ने रणनीति अपनाएको छ।
सिंगापुरमा पनि बीवाइडीले सन् २०२४ मा पहिलो पटक समग्र बिक्रीमा शीर्ष स्थान हासिल गरेको छ। सिंगापुरको भूमि यातायात प्राधिकरण अन्तर्गतका अधिकृत डिलरहरूले सार्वजनिक गरेको नयाँ गाडी दर्ता तथ्यांकअनुसार बीवाइडीको बिक्री सन् २०२३ मा १ हजार ४१६ युनिटबाट बढेर सन् २०२४ मा ६ हजार १९१ युनिट पुगेको छ। सिंगापुरमा बीवाइडीले १४.४ प्रतिशत बजार हिस्सा ओगटेको छ।
टोयोटा ५ हजार ७३६ युनिट वार्षिक बिक्रीसहित दोस्रो स्थानमा छ। त्यस्तै, बीएमडब्लुले ५ हजार ४२ युनिट बिक्री गरेर तेस्रो बन्दा मर्सिडिज-बेन्जले ४ हजार ८८७ युनिट बिक्री गर्दै चौथो स्थानमा छ। साथै, टेस्लाको बिक्री सन् २०२३ को ९४० बाट बढेर सन् २०२४ मा २ हजार ३८४ पुगेको छ।
सिंगापुर मात्र होइन जापानी बजारमा पनि सन् २०२४ मा बीवाइडीले पहिलो पटक टोयोटालाई उछिनेर २ हजार २२३ विद्युतीय गाडी बिक्री गरेको छ। जुन वार्षिक हिसाबले ५४ प्रतिशतको वृद्धि हो। टोयोटाको विद्युतीय गाडी बिक्री ३० प्रतिशतले घटेर २ हजार ३८ युनिटमा सीमित रह्यो।