काठमाडौं । गत साउनमा धादिङबाट हराएको तीन किलो सुन प्रकरणमा पाँच जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ।राजस्व अनुसन्धान विभागको टोलीले उच्च अदातल पाटनमा पाँचजनालाई प्रतिवादी बनाएर मुद्दा बुझाएको हो।
प्रतिवादीहरुमा रसुवा घर भएका रामकृष्ण वाइवा, बुद्धि कुमार तामाङ, सुनिल तामाङ, निमा डिण्डुप तामाङ र कमल घले रहेका छन्। उनीहरु विरुद्ध १९ करोड ४ लाख ५५ हजार रुपैयाँ बिगो माग दाबी सहित मुद्दा दायर भएको हो।
रामकृष्ण वाइबा रसुवाबाट काठमाडौंमा चल्ने गाडीका चालक हुन्। साउन २४ गते रसुवाबाट काठमाडौं आउने क्रममा ना ६ ख ३५९७ नम्बरको मालबहाक गाडीमा ‘फल्सबटम’ बनाएर तीन किलो सुन उनले ल्याएका थिए। तर, उनले चलाएको गाडीमा भएको सुन लुटियो। केही रकम दिने आश्वासनमा उनको गाडीमा चीनबाट तस्करी गरिएको सुन राखिएको थियो।
रामकृष्ण भने बालाजुबाट पक्राउ परेका थिए। सशस्त्र प्रहरी र राजस्व अनुसन्धान विभागको टोलीले उनलाई नियन्त्रणमा लिएको थियो।
प्रहरीले घटनापछि गाडीमा तलासी गर्दा सुन भेटिएन। विभागलाई आएको सूचनाका आधारमा उनलाई एक महिनासम्म हिरासतमा राखेर अनुसन्धान गरियो।
रामकृष्णले सुन धादिङको खानी खोलामा नै लुटिएको कथा सुनाए। उनले मोटरसाइकलमा आएका युवाले सुन लुटेर फरार भएको बयान दिए। त्यसपछि अनुसन्धान अगाडि बढ्न सकेन। सुन तस्कर समूह भने रामकृष्णको रिहाइ कुरिरहेको थियो।
रामकृष्ण रिहा हुने बित्तिकै अपहरणमा परे। उनलाई असोज ४ गते बालाजु माछापोखरीबाट अपहरण गरेर बुढानीलकण्ठमा रहेको शैलजा रिसोर्ट पुर्याइयो।
अपहरणमा संलग्न भएको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कात्तिक ३० गते चार जनालाई पक्राउ गर्यो। जसमा रसुवाका बुद्धिबहादुर तामाङ, नुर्पु तामाङ, ठेम्पा नुर्पु तामाङ र गोपाल तामाङ छन्। प्रहरीले अपहरण तथा शरीर बन्धकको मुद्दामा उनीहरुविरुद्ध अनुसन्धान गरेको थियो।
यस घटनामा नेपाल प्रहरीका एक असई समेत तानिएका छन्। रसुवाबाट काठमाडौं हिँडेको गाडीमा सुन रहेको सूचना उनैले दिएका थिए। तर, उनको भूमिका शंकास्पद देखिएको थियो।