सामसङले आफ्नो फ्ल्यागसीप स्मार्टफोन ग्यालेक्सी एस२५ लाई नयाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सुविधाहरूसहित सार्वजनिक गरेको छ।
सामसङले एस२५ को मूल्य ८ सय डलर, २५प्लसको एक हजार डलर र एस२५ अल्ट्राको १३ सय डलर मूल्य तोकेको छ। यो फोन ६.२, ६.७ र ६.९ इन्च गरी तीन भिन्न स्क्रिन साइजमा उपलब्ध छ। यी फ्ल्यागसीप स्मार्टफोन सामसङले नेपालमा पनि छिट्टै भित्र्याउने तयारी गरिरहेको छ। सामसङ नेपालले अहिलेसम्म मूल्य पनि सार्वजनिक गरेको छैन।
सामसङका एक वरिष्ठ अधिकारीका अनुसार, यी एआई सुविधाहरू प्रयोगकर्ताका लागि ‘साथी’ बन्ने उद्देश्यले तयार पारिएको छ। अमेरिकामा भव्य कार्यक्रमका बीच बुधबार सार्वजनिक गरिएको यो नयाँ मोडेल जनवरी २३ बाट अर्डरका लागि उपलब्ध हुनेछ भने यसको डेलिभरी फेब्रुअरीको सुरुवातदेखि हुनेछ।
सामसङ गल्फ इलेक्ट्रोनिक्सको एमएक्स डिभिजनका फादी अबु शमातले भनेका छन्, ‘ग्यालेक्सी एस२५ को एआई सुविधाहरू अब एउटै एपमा मात्रै सीमित हुने छैनन्। यसमा क्रस-एप एआई इन्टिग्रेसन हुनेछ, जसले प्रयोगकर्तालाई दैनिक साथीको रूपमा स्मार्ट डिभाइसको फाइदा प्रदान गर्नेछ।’
उदाहरणका लागि, यदि एस२५ प्रयोगकर्ताले स्पोटिफाइमा कुनै गीत सुने भने, एआईले उक्त गीत पहिचान गर्न सहयोग पुर्याउँछ र पछि स्टोरबाट खरिद गर्न सम्झाउँछ। यी सबै कुरा सहज रुपमा हुन्छ।
यसमा नयाँ ‘नाउ बार’ सुविधा पनि प्रस्तुत गरिएको छ, जसले प्रयोगकर्ताको दैनिक गतिविधि र आगामी अपोइन्टमेन्ट तथा कामहरूको जानकारी बिहानै संक्षेपमा प्रस्तुत गर्दछ।
‘यसले तपाईंसँग ४ बजे डाक्टरको अपोइन्टमेन्ट छ भन्ने जानकारी दिन सक्छ। साथै, कुनै निश्चित समयमा हुने मिटिङहरू र हिजो प्राप्त गरेको इमेलको जवाफ दिन बिर्सनु भए पनि याद गराउँछ,’ शमातले थपे।
ग्यालेक्सी एस२५ मा पहिलोपटक ‘एआई-एकीकृत अपरेटिङ सिस्टम’ उपलब्ध गराइएको छ, जसलाई सामसङको आफ्नै ‘वन यूआई ७’ एआई प्लेटफर्ममा निर्माण गरिएको छ। यसलाई गत नोभेम्बरमा एस२४ श्रृंखलामा परीक्षण गरिएको थियो।
सामसङ इलेक्ट्रोनिक्सका मोबाइल एक्सपेरियन्स बिजनेस प्रमुख टीएम रोह भन्छन्, ‘ग्यालेक्सी एस२५ श्रृंखलाले प्रविधिको उपयोग र हाम्रो जीवनशैली परिवर्तन गर्ने एआई-एकीकृत अपरेटिङ सिस्टमको ढोका खोलेको छ।’
यस फोनमा स्न्यापड्रागन ८ एलिट फोर ग्यालेक्सी प्रोसेसरद्वारा छ, जुन सामसङ र क्वालकम टेक्नोलोजीले मिलेर विकास गरेका हुन्। यो ग्यालेक्सी एस सिरिजमा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली प्रोसेसर हो।
साथै, एस२५ मा नयाँ ५० मेगापिक्सेलको अल्ट्रा-वाइड क्यामेरा सेन्सर छ, जुन अघिल्लो १२ मेगापिक्सेलको तुलनामा अपग्रेड गरिएको हो। १०-बिट एचडीआर रेकर्डिङ अब डिफल्ट रूपमा उपलब्ध छ, जसले ८-बिटको तुलनामा चार गुणा बढी कलर कम्प्रेसन प्रदान गर्दछ।