काठमाडौं। नेपालस्थित चिनियाँ दूतावासले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा गण्डकी प्रदेशमा स्मार्ट कक्षाको सुरुवात गरेको छ। हुवावेको आधुनिक शैक्षिक प्रविधि जडित कक्षा कोठा लमजुङको क्ह्लोसोथार गाउँपालिकामा रहेको बुद्धोदय माध्यमिक विद्यालयमा सुरु गरिएको हो।
कक्षा कोठामा हुवावे आइडिया हब (इन्टरएक्टिव ह्वाइटबोर्ड), ल्यापटप, डेस्कटप, वाइफाइ, पूर्वाधार र समग्र अनलाइन सिकाइका प्ल्याटफर्म समावेश गरिएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका ग्रामीण भेगमा कायम शैक्षिक चुनौतीलाई समाधान गर्न यसले सहयोग पुर्याउने बताए।
‘यो पहलले डिजिटल डिभाइडलाई कम गर्न र शैक्षिक अवसर बढाउन मद्दत पुग्छ। यसले विद्यार्थीहरूलाई डिजिटल युगमा सफल हुन आवश्यक सीप प्रदान गर्नेछ। हामी नेपालको भविष्यलाई आकार दिन प्रविधिले प्रमुख भूमिका खेल्छ भन्ने कुरा सुनिश्चित गर्न प्रतिबद्ध छौं र यो स्मार्ट कक्षाकोठा त्यो यात्रामा एक महत्त्वपूर्ण कोसेढुङ्गा हो,’ मन्त्रीले भने।