काठमाडौं । बुटवलमा बरामद भएको भेपको अनुसन्धान अन्तिम चरणमा पुगेको छ। राजस्व अनुसन्धान कार्यालय बुटवलले अनुसन्धान सकेर मुद्दा दर्ताको तयारी गरिरहेको हो।
लामो समयसम्म अनुसन्धान गर्दा पनि चीनबाट काठमाडौंसम्म सो भेप कसले ल्यायो भन्ने खुल्न सकेको छैन। कार्यालयले बरामद भएको भेप बुटवलसम्म पुर्याउने कम्पनीका संचालकलाई मुख्य आरोपी बनाएर मुद्दा बुझाउने तयारी गरेको छ।
प्रहरीले भेरी ट्रान्सपोर्टको लु प ३००१ ख ०११४ नम्बरको गाडीमा २ हजार ६०० पिस भेप बरामद गरेको थियो। त्यसपछि प्रहरीले डायमन्ड नेपाल इन्टरनेशनलका रोजन न्यौपाने र सनाउल्लाह अन्सारीलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो।
उनीहरुको बयानको आधारमा प्रहरीले थप भेपहरु भेट्याएको थियो। ललितपुरको इमाडोल र मुस्ताङमा क्रमश: ८६ हजार ४०० र १९ हजार थान भेप बरामद गरिएको थियो। यी दुई केसमा राजस्व अनुसन्धान विभागले ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ।
३ जनालाई प्रतिवादी बनाएर मुद्दा ल्यौजाने तयारी गरिएको छ। जसमा डायमन्ड नेपाल इन्टरनेशनलका संचालक सुमन शर्मा, पक्राउ परेकाहरु न्यौपाने, सनाउल्लदाह अन्सारी रहेका छन्। भेरी ट्रान्सपोर्टलाई समेत प्रतिवादी बनाइने भएको छ।
बरामद भेप जफतसँगै ६३ लाख रुपैयाँ बिगो दाबी गरिन लागिएको छ। तर, काठमाडौंसम्म चीनबाट भेप कसले ल्याएको भन्ने खुल्न सकेको छैन। नियन्त्रणमा रहेका व्यक्तिहरु दोस्रो लेयरका भएको खुल्छ।
‘चीनबाट काठमाडौं भेप आएको देखिन्छ। तर अहिलेसम्म कसले ल्याएको भन्ने देखिएन। त्यसैले अहिले खुलेको कुरा उल्लेख गरेर मुद्दा बुझाउने तयारीमा छौं,’ एक अनुसन्धान अधिकृतले भने।
चीनबाट आएको भेप खरिद गर्ने अन्सारीको श्रीमतीको नाममा तसनीय जनरल स्टोरको फर्म छ। त्यही फर्मले भेप खरिद गरेको देखिएको हो। उनीहरुको कनेक्सन मुस्ताङ र इमाडोलको भेपमा पनि देखिन्छ। तर, त्यसभन्दा माथिका मानिस खुल्न सकेका छैनन्।
‘अहिले अनुसन्धानको चरणमा नै छ। त्यसैले को को छन् भन्ने भन्न सकिने अवस्था छैन,’ राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्ढीराज घिमिरेले भने।
बुटवलमा बरामद भएको भेप पनि काठमाडौंबाट बुटवल हुँदै नेपालगंज पुर्याएर त्यहाँबाट भारत लग्ने तयारी गरिएको थियो। नेपालमा भन्दा भारतमा भेपको खपत र बिक्री मूल्य बढी भएकाले पनि काठमाडौंलाई ट्रान्जिट बनाएर भारतमा भेप तस्करी भएको देखिएको छ।
चीनबाट रसुवा र तातोपानी नाका हुँदै काठमाडौं भेप ल्याउने गरिएको छ। तर, पछिल्लो पटक मुस्ताङमा बरामद भएको भेप भने कोरला नाकाबाट ल्याएको देखिन्छ।
राजस्वले बरामद गरेको भेपको मूल्य प्रति गोटा ८ डलर भएको खुलेको छ।