काठमाडौं। सरकारले भन्सार महसुल घटाएपछि सुनको आयात बढ्न थालेको छ। पुस महिनामा ४०१ किलो सुन आयात भएको छ।
सरकारले मंसिर पहिलो साता सुनको भन्सार दर २० प्रतिशतबाट १० प्रतिशतमा झारेको थियो।
चालु आर्थिक वर्ष ६ महिनामा ६ अर्ब ७१ करोड रुपैयाँ बराबर ५८६ केजी सुन आयात भएको भन्सार विभागको तथ्यांक छ। वाणिज्य बैंकहरुले मंसिरसम्म १८५ केजीमात्र सुन आयात गरेकामा पुसमा ह्वात्तै बढाएका हुन्।
माघ महिनामा बिबाहको लगन भएकोले अहिले सुनको माग धेरै छ। जसले गर्दा बैंकले धमाधम सुन आयात गरिरहेका हुन्।
सरकारले बजेटमार्फत भन्सार महसुल १५ बाट २० प्रतिशत पुर्याएपछि बजारमा भारतबाट अवैधरुपमा सुन भित्रिरहेको थियो। जसका कारण वैध आयात ठप्पजस्तै हुन पुगेको थियो।
व्यवसायीको माग अनुसार अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर सुनको भन्सार घटाउन लगाएका थिए।