काठमाडौं। भटमास र सूर्यमूखी तेलको निर्यात उलेख्यरुपमा बढेको छ। भटमासको तेलको निर्यात ४४.५५ गुणा र सूर्यमुखी तेलको निर्यात ३४.५७ गुणाले बढेको हो।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष ६ महिनामा भटमासको तेल १८ अर्ब ९१ करोड रुपैयाँ र सूर्यमूखी तेल ४ अर्ब ९८ करोड रुपैयाँको निर्यात गरिएको छ।
६ महिनामा भटमासको तेल ९ करोड ९ लाख ८३ हजार केजी र सूर्यमुखी तेल २ करोड १२ लाख ६८ हजार लिटर निर्यात भएको छ।
पोहोर ६ महिनामा भटमासको तेल ४१ करोड ५१ लाख र सूर्यमुखी तेल १४ करोड रुपैयाँको निर्यात भएको थियो। भटमास र सूर्यमूखी तेलको कच्चा पदार्थ भने विदेशबाट आयात गरिएको हो।
भन्सार विभागका अनुसार भटमासको तेलको कच्चा पदार्थ अर्जेन्टिना र सूर्यमुखी तेलको कच्चा पदार्थ युक्रेनबाट भित्र्याइएको हो।
भटमास र सूर्यमूखी तेलको निर्यात पुसमा ह्वात्तै बढेको देखिन्छ। चालु आर्थिक वर्ष ५ महिनामा भटमासको तेल ८ अर्ब ३६ करोड र सूर्यमुखी तेल २ अर्ब ९७ करोड रुपैयाँको निर्यात भएकामा पुसमा उल्लेख्यरुपमा बढेको विभागको तथ्यांक छ।
भारतले कच्चा तेलको आयात महसुल २० प्रतिशत बनाएपछि नेपालबाट भटमास र सूर्यमुखी तेलको निर्यात भारतीय बजारमा बढेको हो।